बिम्स्टेक सम्मेलनमा आज परराष्ट्रमन्‍त्रीस्तरीय बैठक, प्रधानमन्‍‍त्री देउवाले भोलि सम्बोधन गर्ने

बिम्स्टेक सम्मेलनमा आज परराष्ट्रमन्‍त्रीस्तरीय बैठक, प्रधानमन्‍‍त्री देउवाले भोलि सम्बोधन गर्ने

काठमाडौं। श्रीलंकामा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) सम्मेलनलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सम्बोधन गर्दैछन्।

भर्चुअल र भौतिक दुवै माध्यमबाट आयोजना हुने यो सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का सोमबार कोलम्बो पुगिसकेका छन्। खड्काले आज यस क्षेत्रको परराष्ट्रमन्त्रीस्तरीय (बीएमएम) बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

त्यसैगरी प्रधानमन्त्री देउवाले भोलि (बुधबार) काठमाडौंबाटै भर्चुअल सम्बोधन गर्नेछन्। यसअघि हिजो (सोमबार) बिम्सटेक देशहरुको उच्च अधिकारीहरूको बैठक आयोजना भएको थियो। उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्रालयका सह–सचिव घनश्याम भण्डारीले गरे।

यस पटकको सम्मेलनमा नेपालले सदस्य देशबीचको आर्थिक सहाकार्यमा जोड दिने तयारी गरेको छ। त्यस्तै न्यूनतम पूर्वाधार संरचना र त्यसलाई सञ्चालन गर्ने संयन्त्र निर्माणका विषयमा पनि यो सम्मेलनमा छलफल गर्ने तयारी गरिएको छ। यसअघि सन् २०१८ मा नेपालमा भएको चौथौ बिम्सटेक सम्मेलनमा सदस्य देशबीच उर्जा आदान प्रदानका लागि विद्युतीय लाइन प्रसाारणको अन्तरदेशीय मार्गका (बिम्सटेक ग्रीड इन्टरकनेक्सन) मा सहमति भएको थियो।

प्रधानमन्त्री देउवा सम्मेलनमा सहभागी हुन श्रीलंका जाने कार्यक्रम तय भए पनि अन्तिम समयमा आएर भारत भ्रमण तय भएसँगै भर्चुअल सम्बोधन गर्ने तयारी भएको हो। प्रधानमन्त्री देउवा १८ चैतमा तीन दिने भ्रमणका क्रममा भारत प्रस्थान गर्दैछन्।

श्रीलंकामा आयोजना हुने बिम्सटेक सम्मेलनले यस क्षेत्रमा शान्तिको प्रवद्र्धन, समृद्धि र दीगो विकासका क्षेत्रमा काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, थाइल्याण्ड र म्यानमार सहभागी बिम्सेटक सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकर भौतिक रुपमा नै सम्मेलनमा सहभागी हुँदैछन्। म्यान्मारका विदेशमन्त्री भर्चुअल रुपमा सम्मेलनमा सहभागी हुने जनाइएको छ।

नेपालका प्रधानमन्त्रीका अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम बनेको छ। भारत र पाकिस्तानबीच राजनीतिक समस्या उत्पन्न हुँदा सन् २०१४ मा नेपालमा आयोजना भएपछि दक्षिण एशिया क्षेत्रीय सहयोग संगठन (सार्क) चलायामान हुन सकेको छैन।

पाकिस्तानमा आयोजना गर्ने तयारी भएको सार्क सम्मेलन भारतको उरीमा पाकिस्तान समर्थित आतंककारीले हमला गरेको बन्दै भारतले आतंकवाद र सहकार्य संयुक्त रुपमा जान नसक्ने बताउँदै सार्क सम्मेलन सहभागी नजनाउने बताएको थियो। अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरू भने भारतले सार्कलाई कम्जोर बनाउन बिम्सटेकलाई गति दिएको आरोप लगाउँछन्।

बिम्सटेकमा सार्कमा रहेका पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान बाहेकका अन्य पाँच देश रहेका छन्। ६ जुन १९९७ मा बिम्सटेक स्थापना भएको हो।

१९९७ मा संस्था स्थापना भए पनि यसको पहिलो सम्मेलन भने सन् २००४ मा थाइल्याण्डले गरेको थियो। यस्तै दोस्रो सम्मेलन २००८ मा भारतमा आयोजना भएको सम्मेलनको तेस्रो संस्करण २०१४ मा म्यानमारमा आयोजना भएको थियो। स्थापनाको लामो समय सक्रिय नभएको यो संस्था सार्क निस्तेज भएसँग सक्रिय हुन थालेको आरोप लगाइन्छ।

थाइल्याण्डमा आयोजना भएको १९९७ को बैठकले बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड सहभागी हुने बिस्टेक स्थापना गरेको थियो। तर, डिसेम्बरमा म्यानमार पनि यो समूहको सदस्यका रुपमा प्रवेश गर्यो, त्यसपछि यो संस्थाको पुरानो नामलाई परिमार्जन गरेर बिम्सटेक राखिएको थियो।

सन् २००४ सम्म आइपुग्दा नेपाल र भुटानलाई पनि यो क्षत्रीय संस्थामा सहभागी गराउँदै सोही वर्ष यो क्षेत्रीय संस्थाको पहिलो सम्मेलन आयोजना गरेको थियो। २०१४ मा आयोजना भएको संस्थाको तेस्रो सम्मेलनसँगै बंगलादेशको ढाकामा यसको स्थायी सचिवालय स्थापना गर्ने निर्णय भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved