“निर्वाचन आयोग सत्ताधारी दललाई फाइदा पुग्ने गतिविधिमा संलग्न भयो”

नेपालभ्युज

“निर्वाचन आयोग सत्ताधारी दललाई फाइदा पुग्ने गतिविधिमा संलग्न भयो”

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

स्थानीय तह निर्वाचनको मत पत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाईदा पुग्ने गरी निर्वाचन आयोगले गरेको भन्दै अध्यक्ष ओलीले त्यसप्रति आपत्तिसमेत जनाए।

आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकमा ओलीले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने निर्वाचन आयोगको गतिविधिप्रति आशंका गर्नुपर्ने अवस्था आएकोमा आफूलाई चिन्ता लागेको पनि बताए।

निर्वाचन आयोगले दलहरूसँग छलफलसमेत नगरी निर्णय गर्दै जाने काम गर्न नहुने पनि पटकपटक अध्यक्ष ओलीले दोहोर्‍याए। भने, “दलहरूसँग परामर्श नगरी चुनाव चिन्हको रङ बदल्ने कुरा सहज, समान्य हुँदै होइन। निर्वाचन आयोेगले समयसयममा विभिन्न दलहरूसँग परामर्श गर्ने गर्दछ। तर महत्वपूर्ण विषयमा परामर्श गर्न नपर्ने, अरू अनावश्यक विषयमा परामर्श गर्नुपर्ने भन्ने होइन। एउटा दल विशेषलाई, सत्ताधारी दललाई फाईदा पुग्ने गरी रङ निर्धारण गर्‍यो, परिवर्तन गर्‍यो, पहिले प्रचलनमा आएको रङ परिवर्तन गर्नका लागि सहमति गर्न अनिवार्य हुन्छ निर्वाचनमा।

उनले थपे, “निर्वाचन आयोगले विगतमा पनि मतपत्र च्याते पनि ठिकै देख्ने, जसो गरेपनि हाम्रो विपक्षमा फैसला दिने खालको विगतमा पनि हामीले त्यो देख्यौं। राष्ट्रियसभाको निर्वाचनको मत परिणामलाई देखाएर निर्वाचन आयोगले सरकार गठन गर्ने काम रोक्यो। यस्ता कुराहरू विगतमा नै हामीले भोग्दै आयौं। देशको सबैभन्दा ठूलो पार्टीसँग परामर्श नै नगरी साँठगाँठयुक्त क्रियाकलाप, सेटिङयुक्त क्रियाकलाप गरिन्छ। यी कुराहरू नहून् भन्ने हाम्रो धारणा हो। निर्वाचन आयोग अटेरी गरेर बेठिक क्रियाकलापमा शुरुशुरु अगाडि बढिरहेको छ। यो अत्यन्तै चिन्ताजनक विषय हो। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगका गतिविधिहरू सकारात्मक हुनुपर्ने, निर्णायक हुनुपर्ने, तर निर्वाचन आयोगकै गतिविधि र भूमिका यस ढंगले अगाडि बढन थालेपछि भोली निर्वाचनको बखत के होला ? भन्ने कुरामा गम्भिर आशंका छ।”

अटेर नगरी दलहरूको परामर्शको आधारमा मात्रै स्थानीय तह निर्वाचनसम्बन्धी निर्णयहरू गरेर बढ्न पनि अध्यक्ष ओलीले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved