विद्युतीय पूर्वाधार निर्माणमा आक्रामक बन्दै प्राधिकरण, दिनदिनै सबस्टेशन उद्घाटन

विद्युतीय पूर्वाधार निर्माणमा आक्रामक बन्दै प्राधिकरण, दिनदिनै सबस्टेशन उद्घाटन

काठमाडौं । विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हासिल गरिरहेको छ।

गुणस्तरीय तथा भरपर्दो विद्युत् सर्वसुलभ रूपमा सबैलाई उपलब्ध गराउने योजनालेसमेत अब क्रमशः मूर्तरुप पाउन थालेको छ। देशभित्रै बिजुलीका खपत बढाउने लक्ष्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ। त्यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार आवश्यक पर्दछ। देशभर नै भरपर्दो प्रणालीको विकासका लागि प्राधिकरणले ठूलाठूला प्रसारण लाइन तथा सबस्टेशन निर्माण गरिरहेको छ।

यसैक्रममा पछिल्ला तीन दिनमा मात्रै तीन वटा नयाँ सबस्टेशनको उद्घाटन गरिएको छ। सोही क्रममा कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण सम्पन्न भएको १३२-३३-११ केभी क्षमताको मोतीपुर सबस्टेशनको उद्घाटन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गरेको प्राधिकरणले जनाएको छ।

पूर्वपश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिएको छ। सबस्टेशनमा रहेका ३० र १६ एमभिएका पावर ट्रान्सफर्मर छन्। सबस्टेशनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ। यसमध्ये तीन फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत् प्रयोग गर्न आग्रह गर्नुभएको प्राधिकरणले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सबस्टेशनले मोतीपुर क्षेत्रको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउने र स्थानीयवासीले भरपर्दो बिजुली प्राप्त गर्ने विश्वास व्यक्त गरे।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गरे। उनले सबस्टेशनबाट विद्युत् आपूर्ति शुरु भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको तथा प्राविधिक चुहावटसमेत कम भएको बताए।

मोतीपुर सबस्टेशनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको छ। यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो।

लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायतका समस्या थियो। सालझण्डीमा ३३-११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ। सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ।

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेशन निर्माण गरिएको हो। आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२-३३-११ केभी सबस्टेसन र मोतीपुर–सन्धिखर्क खण्ड प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा छ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो।

आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन्। नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब रु तीन अर्ब छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved