काठमाडौँ महानगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरी उद्घाटन

ऐतिहासिक कमलपोखरी उद्घाटन भयो, अब यसलाई पर्यटनसँग जोड्छौँः मेयर शाक्य

नेपालभ्युज

काठमाडौँ महानगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरी उद्घाटन

काठमाडौँ। बुधबार साँझ कमलपोखरी वरिपरि अरू दिनभन्दा अलिक बढी नै चहलपहल थियो भने झिलिमिली पनि अन्य दिन भन्दा बढी। लामो समयदेखि बेवारिस बनेको कमलपोखरी उद्घाटन कार्यक्रमका कारण बुधबार साँझ त्यहाँको चहलपहल बढेको हो।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो “ड्रिम प्रोजेक्ट” का रूपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएकामा निकै खुशी थिए। आफ्नो “ड्रिम प्रोजेक्ट” का रूपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको भन्दै उनले कमलपोखरी उद्घाटन क्रममा पनि खुशी व्यक्त गरे।

बुधबार साँझ झिलिमिली उज्यालोकाबीच कमलपोखरीको उद्घाटन गर्दै उनले अवरोधका बीच पनि सुन्दर पोखरी निर्माण गरी उद्घाटनको चरणमा पुग्दा खुशी लागेको बताए।

“ऐतिहासिक ठाउँलाई राम्रो देखाउनुपर्छ, संरक्षण गर्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ र पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो नीति नै हो,” शाक्यले भने, “सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने उदेश्य अनुसार लामो समयदेखि बेवारिस र फोहोर जमेको पाखेरीलाई पुनर्जीवन दिने काम सम्पन्न गर्दा आज खुशी लागेको छ।”

उनले परम्परागत, सांस्कृतिक र पर्यकटीय रूपमा विकास गर्ने अभियान अन्तर्रगत कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गरेको पनि जानकारी दिए।

काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रूपमा विकास गरेको भन्दै प्रमुख शाक्यले पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रूपमा कमलपोखरी रहने बताए।

उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापासँग समेत पटक-पटक छलफल गरेर कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भए पनि बीचमा पुनर्निर्माणको काममा अवरोध भएको भन्दै दुःख व्यक्त गरे।

“हामीले यो क्षेत्रका जनप्रतिनिधिसँगै माननीय गगनकुमार थापासँग पनि धेरै पटक छलफल गरेर समवन्य गर्दै काम अघि बढाएका थियौँ,” शाक्यले भने, “बीचमा उहाँहरू दिग्भ्रमित हुुनुभयो। केही युवाले यो कमलपोखरी होइन कंक्रिटको पोखरी हो भन्दै भ्रममा पनि पार्ने काम गरे।” पछि महानगरपालिकाले सम्झाएपछि काम अघि बढेको उनले बताए।

“कहिलेकाँही भ्रम फैलाउँदा पनि गलत सन्देश जान सक्छ,” उनले भने, “हामीले मौलिकता नमर्ने गरी अलिकति आधुनिकता पनि झल्किने गरी पोखरी पुनर्निर्माण गरेका छौँ। अहिले यो पोखरी कस्तो बनेको छ। तपाईंहरू आफैँ हेर्नुहोस् र सुझाव दिनुहोस्। यो सबैको साझा पार्क हो।” उनले पोखरी घुम्न आउनेहरूका लागि मनोरञ्जन दिने उद्देश्यले मण्डप, चैत्य र फाउण्टेनसमेत निर्माण गरेको जानकारी दिए।

केही हप्ताअघि सौन्दर्यीकरण योजनाअनुरुप ९ वटा चैत्यको मेयर शाक्यले नै विधिवतरूपमा प्रतिस्थापन गरेका थिए। उनले पहिलो चरणको काम सम्पन्न गरी कमलपोखरीको उद्घाटन भएको र अब दास्रो चरणको काम सँगसँगै शुरुआत गर्ने जानकारी दिए।

एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण अघि बढाएको उनको भनाइ छ।

उनले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपांगमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहीअनुरूप काम अघि बढाउँदै उद्घाटनसम्म आइपुगेको पनि बताए।

नेकपा (एमाले)का युवा नेता डा राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा सुन्दर कमलपोखरी बनेको भन्दै खुशी व्यक्त गरे। यसले यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन समेत मद्दत पुग्ने उनले बताए।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीको उद्घाटन चरणमा आइपुग्दा आफूलाई आनन्द महशुस भएको बताए। “यो ऐतिहासिक कमलपोखरी हो,” उनले भने, “यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ।”

काठमाडौँ महानगरपालिकाका अनुसार कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहेका छन्।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको पोखरी बास्तुशास्त्रमा आधारित भएर निर्माण भएको पनि महानगरपालिकाले जानकारी दिएको छ।

परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुनर्निर्माण गरिएको हो। पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइएको छ भने पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ। पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरिएको छ। त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँच ओटा मकरधार रहेका छन्। धाराको पनि प्रमुख शाक्यले बुधबार साँझ उद्घाटन गरे।

काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौँ महानगरपालिका रहेको यो पोखरी हेर्न, बस्न र केही समय मनोरञ्जनसहित व्यतीत गर्न लायक हुने ढाँचासहित पुनर्निर्माण गरिरहेको जानकारी दिए।

“सबैभन्दा ठूलो कुरा त पोखरीलाई पुनर्जीवित गर्ने काम भएको छ,” उनले भने, “हिलो, ढल र घाँसले भरियो यो पोखरी अहिले अनुपम सौदर्यले भरिपूर्ण देखिएको छ र पोखरीले आफ्नो स्वरुप प्राप्त गरेको छ।”

उनले काठमाडौँको मौलिक संस्कृतिलाई प्राथमिकतामा राखेर घाट निर्माण गर्नेजस्ता कार्य गरेको पनि जानकारी दिए। उनले छठमैत्री पोखरीका रूपका समेत विकास गरेको जानकारी दिए।

वडा-१ का अध्यक्ष भरतलाल श्रेष्ठले प्रमुख शाक्यसँग पोखरी पुनर्निर्माणका लागि ६०-७० लाख रुपैयाँ माग गरेको तर उनले आफूले सोचे भन्दा धेरै गुणा बढी रकम दिएपछि पोखरीले यो स्वरुप प्राप्त गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved