विदेशमा नेपाली ठग्नेलाई कारवाही गर्छौं: श्रममन्त्री

उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताए।

नेपालभ्युज

विदेशमा नेपाली ठग्नेलाई कारवाही गर्छौं: श्रममन्त्री

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा नेपाली ठग्नेलाई कारबाही गर्ने बताएका छन्।

मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तर्क्रियामा उनले नक्कली मागपत्र बनाउने, झूटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल झिकाउने तयारी गरिएको बताए।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताउँदै उनले गैरकानूनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि नजोगिने बताए। नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएको थियो।

उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताए। नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका डीएसपीलाई पनि सहभागी गराएको उनले बताए।

कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफूले यूएई सरकारसँग पनि आग्रह गरेको बताए। अलपत्र परेका नेपालीहरुलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्न यूएई सरकारसँग सहयोगको आग्रह गरिएको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved