प्रदेश गौरवका योजनाका बजेट अब खर्च हुन्छः मुख्यमन्त्री पाण्डे

दुई विधेयक पारित

नेपालभ्युज

प्रदेश गौरवका योजनाका बजेट अब खर्च हुन्छः मुख्यमन्त्री पाण्डे

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश गौरवको योजनामा विनियोजन गरिएको बजेट अब खर्च हुने बताएका छन्। आइतबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश गौरवको योजना कार्यान्वयनका लागि समस्या भएकोले त्यो बजेट कटौती गरी विकास निर्माणको काममा खर्च गरिने बताए।

“अहिलेसम्म अघिल्लो सरकारले घोषणा गरेको प्रदेश गौरवको आयोजनाहरूमा बजेट कटौती गरिएको छैन,” उनले भने,”अब हुन्छ। अब त्यो बजेट खर्च हुने ठाउँमा लगिनेछ। गौरवको आयोजना भनेर पनि खर्च हुन नसक्ने अवस्था देखिएको थियो। पर्याप्त आधारबिना नै बजेट राखिएको छ। तसर्थ मैले त्यो रकम अब अन्य काममा खर्च गर्नेछु।”

उनले अघिल्लो सरकारले पर्याप्त संरचना नबनाउँदा एउटै भवनमा धेरै मन्त्रालय राख्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे। “डोरमणि पौडेल सरकारले साढे तीन वर्ष काम गर्दा पनि प्रदेश संरचनाहरू बनेन,” एउटै भवनमा धेरै मन्त्रालय राखिएको विषयमा भएको आलोचनाको जवाफ दिँदै उनले भने, “त्यतिबेला भवन बनाइदिएको भए मैले यसरी एउटै भवनमा धेरै मन्त्रालय बनाउने थिइन। अहिले हामीले त्यसमा काम गरिरहेका छौं।”

उनले प्रदेशको राजधानी हेटौंडा कायम भएपछि प्रादेशिक संरचनाहरू एकै ठाउँमा बनाउन विभिन्न ८ स्थानमा जग्गा पहिचान गरिएको जानकारी दिए। उक्त जग्गा प्रदेश सरकार मातहत ल्याउन संघीय सरकारलाई आग्रह गरिएको उनले बताए।

काम गर्नैका लागि मन्त्रालय विभाजन गरिएको उनको दाबी रहेको छ। यसअघिको सरकारले बनाएको कार्यदलले नै मन्त्रालयको संख्या बढाउने विषयमा सहमति गरिसकेको भन्दै उनले अहिले विरोध गर्नुको कुनै अर्थ नभएको जवाफ दिए।

“एउटा मन्त्रालयले धेरै क्षेत्रमा हेर्नु पर्ने बाध्यता देखियो,” उनले भने,”भौतिक पूर्वाधार मन्त्रालयले बाटो र पूल भन्दा अन्त ध्यान दिन सकेन। अहिले यसलाई तीन वटामा विभाजन गरिसकेपछि सबै क्षेत्रमा प्रभावकारी काम भइरहेको छ।” उनले बहुवर्षीय योजना छनौटमा पनि लापरबाही भएको भन्दै आफ्नो सरकारले यससम्बन्धी कार्यविधि नै बनाएको बताए। गठबन्धन सरकारले गरेको कामको चर्चा गर्दै उनले सवारी चालक अनुमतिपत्रको वितरणमा देखिएको समस्याको समाधान, सार्वजनिक यातायातमा भाडा भुक्तानी प्रणालीको विकासलगायतका विषयमा प्रगति भइरहेको बताए।

दुई विधेयक पारित

बागमती प्रदेशसभामा लामो समयदेखि अड्किएर बसेको दुई वटा विधेयकहरू पारित भएका छन्। अघिल्लो सरकारले नै पेश गरेको र समितिमा पनि छलफल भइसकेको दुई वटा विधेयकहरू आइतबार पारित भएका हुन्।

प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटनसम्बन्धी विधेयक आइतबार पारित भएको हो। यस्तै, प्रदेश विपद् व्यवस्था ऐन, संशोधन विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, संशोधन विधेयक र प्रदेश अनुसन्धान ब्युरो विधेयक प्रदेशसभामा टेबुल भएको छ।

यस्तै, केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved