घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

नेपालभ्युज

घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

तनहुँ। बन्दीपुर गाउँपालिका–१ भैँसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ। गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो।

विगत लामो समयदेखि कुवाँको पानी बोकेर ल्याइ खाने गरेका उक्त बस्तीको घरघरमा पानीको धारा पुगेपछि स्थानीयवासी खुसी भएका छन्। कूल रु १९ लाख ६५ हजारको लागतमा उक्त योजना सम्पन्न भएको भैँसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले जानकारी दिइन्।

उक्त योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट रु ११ लाख ५० हजार, उपभोक्ताबाट सङ्कलित रु चार लाख ८५ हजार र रु तीन लाख ३० हजार बराबरको जनश्रम व्यहोरिएको थियो। उक्त योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यसक्षेत्रका ५३ घरधुरीका बासिन्दा लाभान्वित भएका छन्।

गाउँमा खानेपानीको धारा नहुँदा कुवाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता अब आउँदा दिनमा नहुने उनले बताए। बस्तीदेखि कुवा टाढा रहेका कारण पानीका लागि एक जनशक्ति नै खटाउनुपर्ने बाध्यता यहाँका बासिन्दाको रहेको उपभोक्ता समिति सदस्य लक्ष्मी थापाले बताए। सोही वडास्थित खहरे खोल्सीको पानी लिफ्टिङ गरेर बस्तीमा पानी वितरण गरिएको हो।

खोल्सीको पानी करिब ३०० मिटर उचाइमा लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरेर वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए। कुवाको पानी पिउन बाध्य यहाँका बासिन्दालाई सफा पानी खुवाउनका लागि बजेट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।

गाउँपालिकाले खानेपानी, स्वास्थ्य, शिक्षा, व्यावसायिक पशुपालन, तरकारीखेती र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved