प्रधानमन्त्री देउवाले बागमती प्रदेशको खोप अभियानको प्रशंसा गरे

नेपालभ्युज

प्रधानमन्त्री देउवाले बागमती प्रदेशको खोप अभियानको प्रशंसा गरे

हेटौंडा। बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मन्त्रालयले गरेको खोप अभियानको विषयमा मन्त्री लामाले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए। प्रधानमन्त्री देउवाले बगामती प्रदेशको खोप अभियानको प्रशंसा गरेका छन्।

बागमती प्रदेशमा ९७.९ प्रतिशतले कोरोनाविरुद्ध पहिलो डोज खोप, ९६.८ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन्। ११.८ प्रतिशतले बुस्टर डोज खोप लगाइसकेको मन्त्री लामाले जानकारी दिए। १२ देखि १७ वर्ष उमेर समूहका ५०.१ प्रतिशतले पहिलो मात्रा र २८.६१ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारले लिएको भन्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले खोप अभियानमा हासिल गरेको उपलब्धिले लक्ष्य प्राप्तिमा सफलता मिल्ने बताए। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीसँगको भेटमा प्रधानमन्त्री देउवाले बागमती प्रदेशले खोप अभियानलाई समुदाय तहसम्म पुर्‍याएर प्राप्त गरेको सफलताको प्रशंसा गरेका थिए। प्रदेशको स्वास्थ्य मन्त्रालयले खोपको पहुँच नपुगेको स्थानीय तहहरूमा अभियान नै सञ्चालन गरेको थियो।

प्रदेश स्वास्थ्य मन्त्रालयले अघि बढाएको विपन्न नागरिक र आकस्मिक उपचारमा निःशुल्क रक्तसञ्चार सेवा, प्रदेशस्तरीय स्वास्थ्य बीमा संयोजन समिति गठन प्रक्रिया, संघीय खोप अभियान द्रुत कार्य सञ्चालन टोलीसँगको समन्वय, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको कार्यविधि निर्माण, औषधि एवम् उपकरणको उचित मौज्दात व्यवस्थापन तथा वितरण जस्ता कामबारे स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्रीले प्रदेश सरकारले अघि सारेका कामलाई सहयोग एवम् सहजीकरण गर्न संघीय सरकार तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरे।

भेटवार्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले प्रदेश सरकार जनतालाई राहत र विकास दिने काममा अघि बढेको बताएका थिए। उनले प्रदेश सरकारको सेवा प्रवाहलाई थप चुस्त र व्यवस्थित गर्दै लैजान आवश्यक नीतिगत सहजिकरणका लागि संघीय सरकारसँग आग्रह गरेका थिए।

स्वास्थ्य मन्त्री लामा र राज्यमन्त्री नेपालीले स्वास्थ्य मन्त्रालयले गरिरहेको नितिगत सुधार, नियमित कार्य, समस्या र समाधानका लागि संघीय सरकारले गर्नुपर्ने सहजिकरणका विषयमा अवगत गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved