कांग्रेसलाई एमसीसीमा सघाएपछि गठबन्धन चुनावमा पनि

कांग्रेसका कतिपय नेताहरूले शुरुदेखि नै पार्टीले आगामी चुनावहरू एक्लै लड्नुपर्ने अडानसमेत लिइरहेका छन्। तर १५ फागुनमा एमसीसी पारित गराउन मुख्यतः नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले साथ दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा केही लचिलो भएका छन्। 

कांग्रेसलाई एमसीसीमा सघाएपछि गठबन्धन चुनावमा पनि

काठमाडौं। प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि पहिलो पटक बिहीबार बसेको सत्तागठबन्धन बैठकमा अगामी निर्वाचनमा हुन सक्ने सम्भावित गठबन्धनबारे छलफल भएको छ।

राष्ट्रिय जनमोर्चाले सत्तागठबन्धनबाट अलिग्गिएपछि अहिले सत्ता गठबन्धन चारदलीय छ। गठबन्धनका घटकहरू सत्तामा मात्र कि आगामी निर्वाचनमा पनि सँगै जाने भन्ने नेताहरूका धारणा बाहिरिरहेका छन्।

नेकपा एस र नेकपा माओवादी चुनावी तालमेलबारे प्रस्ट रहे (सँगै जाने) पनि सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस अहिलेसम्म खुल्न सकेको छैन। यद्यपि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले नै एमसीसी अनुमोदनमा नेकपा (एस) र माओवादीले सघाएकोमा धन्यवाद दिँदै गठबन्धनलाई निर्वाचन सम्मै लैजाने प्रतिबद्धता जनाएका थिए।

गत आइतबार प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुँदा नेकपा (एस) र माओवादी केन्द्रले अन्तिममा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्न सहमत भएका थिए। प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेबुल गराउन बढ्दा सत्तागठबन्धनमा फाटो आउनुका साथै गठबनधन नै भत्किनेसम्मको अवस्था सिर्जना भएको थियो।

तर अन्तिममा आएर राष्ट्रिय जनमोर्चाबाहेक नेकपा एस, माओवादी र जसपा नेपाल एमसीसीमा सहमत भएका थिए। एमसीसीको विपक्षमा माओवादी र नेकपा एसले निर्णय गर्दा राजनीति वृतमा वर्तमान सत्ता गठबन्धन अब टिक्दैन भन्ने प्रस्ट तस्वीर अगाडि आएको थियो। तर अन्तिम समयमा नाटकीय ढंगले माओवादी र नेकपा एस व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न तयार भएपछि गठबन्धनले पुनर्जीवन पाएको हो।

बिहीबार सत्तागठबन्धनको बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले बैठकमा निर्वाचनमा गठबन्धन सँगै जाने कि भन्नेबारे छलफल भएको बताए। ‘गठबन्धनका दलहरू आआफ्नो दलमा आन्तरिक छलफल गरेर पुन गठबन्धनमा यसबारे छलफल गर्ने कुरा भएको छ’, पौडेलले भने, “निर्वाचन सम्मै जाने कुरामा गठबन्धनभित्रका सबै दल मोमोटी सहमत जस्तै छ।”

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि स्थानीय तह निर्वाचनमा गठबन्धन कायमै राखेर जानु पर्ने मोटामोटी सहमति नै रहेको दाबी गरे। “आवश्यकताअनुसार गठबन्धनले कसलाई कहाँ सघाउँछ भन्ने कुरा तय गर्नुपर्ने हुन्छ,” यादवले भने, “यो अन्तिम प्रारूपमा विस्तारै छलफल गर्ने र तय गर्ने कुरा भएको छ।”

कांग्रेस नेता पौडेल र जसपा नेपाल अध्यक्ष यादवले जस्तै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुुरुङले पनि स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन संयुक्त रूपमै जाने दाबी गरे। “अब कुनै आश्चर्यजनक घटना नभएको खण्डमा गठबन्धन निर्वाचनमा पनि कायमै रहने छ,” गुरुङले भने, “गठबन्धन बैठकमा यसबारे छलफल शुरु भइसकेको छ।”

बिहीबार ‍सत्तागठबन्धनको बैठक गर्नूपूर्व बुधबार प्रधानमन्त्री देउवाले सत्ताघटकका माओवादी केन्द्र, नेकपा एस र जसपा नेपालका अध्यक्षसँग छुट्टाछुटै छलफल गरेका थिए। बुधबार देउवाले बिहानै नेता माधव नेपाल र त्यसपछि प्रचण्डसँग भेटेका थिए भने दिउँसो उपेन्द्र यादवसँग छलफल गरे।

प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार देउवाले बुधबार तीन नेताहरूसँग स्थानीय तह निर्वाचनमा सम्बन्धित दलहरूको के कस्तो चाहना रहेको र कसरी अगाडि जाँदा राम्रो हुन्छ भन्नेबारे छलफल गरेका थिए।

यसरी प्रम देउवाले बुधबार छुट्टाछुट्टै तीन शीर्ष नेतासँग छलफल गरेपछि बिहीबार गठबन्धनको बैठक राखेर यसबारे विषय प्रवेश गराएका छन्। जसपा नेपालका अध्यक्ष यादवले निर्वाचनकेन्द्रित गठबन्धन तालमेलबारे बिहीबार छलफल शुरु भएको र चाँडै यसबारे ठोस खाका बन्न सक्ने दाबी गरे।

सत्ताको नेतृत्व गरिरहेको कांग्रेसभित्र यो गठबन्धन बनेदेखि नै निर्वाचनमा सँगै जाने कि नजाने भन्नेबारे प्रस्ट रूपमा दुई धार देखिएको छ। बिहीबार मात्रै कांग्रेस नेता शेखर कोइरालाले सामाजिक सञ्जालमा नेपाल बारको निर्वाचनमा कांग्रेस निकट डिएलए एक्लै निर्वाचनमा जानुपर्ने तर्क अघि सारेका छन्।

सत्तागठबन्धन ले स्थानीय तहमै सँगै जाने संकेत गरेकै दिन कोइरालाले नेपाल बारमा कांग्रेस निकट कानून व्यवसायी संस्था एक्लै अघि बढनुपर्ने माग अघि सारेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved