आगामी निर्वाचनसम्म सबैलाई खोप दिनुपर्छ: अध्यक्ष तिमिल्सिना

“सबै जनताले खोप लगाए, सबै कोरोनाबाट बच्न सक्दछन्”, उनले भने, “जसले गर्दा राजनीतिक दललाई पनि फाइदा हुन्छ, त्यसैले अझ सक्रिय भएर खोपको सन्देश लिएर जनता समक्ष जाऔं।”

नेपालभ्युज

आगामी निर्वाचनसम्म सबैलाई खोप दिनुपर्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन् । उनले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा उनले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

“सबै जनताले खोप लगाए, सबै कोरोनाबाट बच्न सक्दछन्”, उनले भने, “जसले गर्दा राजनीतिक दललाई पनि फाइदा हुन्छ, त्यसैले अझ सक्रिय भएर खोपको सन्देश लिएर जनता समक्ष जाऔं।”

उनले खोप नलगाउने जनतालाई खोप लगाउन आग्रह गर्नुपर्ने बताए। उनले सीमित साधनस्रोतका बाबजुद नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रण गरेको बताए।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले अर्को महीनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिए। उनले खोप खरिदका लागि पत्रचार गरिसकिएको बताए। उनले आगामी वैशाखभित्र १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्नेसमेत जनाए।

यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो । उनले कोरोना भाइरसविरुद्धको लडाइँमा अहिलेसम्मको अनुभवले अब क्षति नगर्नेसमेत बताए। भने, “हामीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जुन किसिमको काम गर्‍यौं, त्यसको अनुभवले अब कोरोनाविरुद्ध लड्न सजिलो भएको छ।”

स्वास्थ्य सचिव डा रोशन पोखरेलले कोरोना भाइरस रोकथाम सबैको सहयोगबाट मात्र सम्भव भएको बताए। विश्व स्वास्थ्य सङ्गठन, नेपालका प्रमुख डा राजेश पाण्डवले कोभिड—१९ले मानिसलाई जीवन परिवर्तन गर्नसक्ने धेरै पाठ सिकाएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved