यथास्थितिमा एमसीसी संसदबाट पारित गराउन नसकिने अडानमै छौं: माधव नेपाल

नेपालभ्युज

यथास्थितिमा एमसीसी संसदबाट पारित गराउन नसकिने अडानमै छौं: माधव नेपाल

धनगढी। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताएका छन्।

शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरू कायमै रहेको बताएका हुन्।

एमसीसी सम्झौंताका कतिपय प्रावधानहरू आपत्तिजनक रहेको भन्दै उनले आफूहरूले ती प्रावधानहरूलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गरे।

अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशंका बढाएको तर्क गरे। एमसीसी सम्झौताका केही प्रावधानहरू परिवर्तन गर्ने सम्बन्धमा अझै पनि छलफल चलिरहेको उनले बताए। नेपालले भने, “यस सन्दर्भमा कतिपय प्रावधानहरूको बारेमा प्रश्नहरू उठेका छन्। ती आपत्तिजनक रहेका छन्। ती प्रावधानहरूलाई सच्याउनु पर्दछ। सुधार्नुपर्दछ। त्यसको निम्ति हामीले धेरै समयदेखि कुरा उठाइ पनि रहेका छौँ। प्रधानमन्त्रीको ध्यान आकर्षित पनि गरेका छौँ। नेकपा हुँदा नै कार्यदल बनेर अध्ययन गरेको थियो। अध्ययनका केही विषय अगाडि सारिएका थिए। त्यसको अझै सटिक जवाफ आएको छैन।”

अध्यक्ष नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धन र सुरक्षा रणनीतिको अंगको रूपमा समावेश गर्न नदिने बताए। छिमेकी देशहरूको सुरक्षामा असर पर्ने काम नेपालको भूमिबाट हुन नदिने पनि उनले बताए। भने, “हाम्रो पार्टी एउटा देशभक्त पार्टी हो। क्रान्तिकारी पार्टी हो। परिवर्तनकारी पार्टी हो। हामीले कुनैपनि सम्झौताको सारमा जानु पर्दछ। सारमा गम्भीर त्रुटिहरू छन् भने त्यसलाई सच्याउनुपर्दछ भन्ने धारणा राख्दछौँ। विदेशीहरूको प्रभावमा पर्न पनि चाहदैनौँ।”

उनले संसदमा टेबुल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभई स्वतन्त्र ढंगले निर्णय लिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved