राष्ट्रियताबिनाको प्रजातन्त्र आकाशमा महल बनाएजस्तो हुन्छ : पूर्वराजा ज्ञानेन्द्र

नेपालभ्युज

राष्ट्रियताबिनाको प्रजातन्त्र आकाशमा महल बनाएजस्तो हुन्छ : पूर्वराजा ज्ञानेन्द्र
फाइल फोटो

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताबिनाको प्रजातन्त्र आकाशमा महल बनाएजस्तो हुने बताएका छन्। ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सन्देश दिँदै उनले सुरक्षा कवच र न्यायको छाता बन्न नसक्ने बताए।

पूर्वराजा शाहको सन्देशमा भनिएको छ, ‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रबन्ध नै सही प्रजातान्त्रिक प्रणाली हो। राष्ट्रियताबिनाको प्रजातन्त्र, आकाशमा महल बनाएजस्तो हुन्छ। न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ।’

सन्देशमा राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैँ एक रही आएको र रहिरहने पनि उल्लेख गरेका छन्। शाहले भनेका छन्, ‘प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई सङ्कटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ। यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्छ।’

पूर्वराजा शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान–अनुदान नरहेको पनि सन्देशमा उल्लेख गरेका छन्।

‘प्रजातन्त्रिक व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो’, शाहले सन्देशमा भनेका छन्, ‘अरूले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन। जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन।’

देशको प्रकृति र परिवेशबाट पृथक् भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र नरहेको उनले सन्देशमा उल्लेख गरेका छन्। ‘प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वतः स्फूर्त एवम् लोकसम्मत हुन्छ र हुनुपर्छ। अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्‍याइरहेको छ, विचारणीय प्रश्न छ। जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस् भन्ने कामना गर्दछु’, उनले सन्देशमा भनेका छन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved