केहीबेर बसेर सकियो संसद् बैठक

नेपालभ्युज

केहीबेर बसेर सकियो संसद् बैठक
फाइल तस्वीर

काठमाडौं।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधबी संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/७८ पेश भएको छ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/७८ पेश गरे।

शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदको अवरोध जारी राखेको छ। बैठकमा एमाले सांसदहरूले पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र गर्न पाइदैन, गैर सांसदलाई बैठकमा प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर, हाम्रो बिरोध जारी छ लगायतका नाराबाजी गरी सदनको अवरोध कायमै राखेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा विचाराधिन रहेका विधेयकहरूलाई पारित गर्न तथा कानून निर्माणको कामलाई  बढाउन संसदमा भइरहेको अवरोध खोल्न अनुरोध गरेका थिए। उनले भने, “सभाको बैठक विगत वर्षदेखि कोभिड १९ लगायतका कारणहरूबाट प्रभावित भइरहेको छ। यस महामारीका कारण सभाले सामान्यतया बैठकमा व्यतित गर्नुपर्ने समयमा अपेक्षाकृत न्युनता आएको छ। बैठक सञ्चालनका लागि उपलब्ध समयमा पनि अवरोधका कारण बाट सदन सुचारु हुन सकेको छैन। सभामा विचाराधीन रहेका विधेयकहरूलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरू समेत अवरोधका कारण प्रभावित हुन पुगेको कुराप्रति ध्यानाकर्षण गराउँदै अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्दछु।’

प्रतिनिधि सभाको आगामी बैठक फागुन ८ गते आइतवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved