साहिर, अमृता र ईमरोजको त्यो प्रेम….

अमृता भौतिक रूपमा ईमरोजसँग भए पनि हृदयदेखि साहिरसँगै हुन्थिन्। यतिसम्म कि उनी ईमरोजको स्कुटरमा बसेर कतै हिँडिरहेको बेला ईमरोजकै ढाडमा औंलाले लेख्थिन् साहिरको नाम। ईमरोजले यो थाहा पाएर पनि चुपचाप उनलाई प्रेम गरिरहे।

नेपालभ्युज

साहिर, अमृता र ईमरोजको त्यो प्रेम….

प्रेम अमर हुन्छ। प्रेम गर्नेहरू बितेर/छुट्टिएर जान्छन् तर उनीहरूको प्रेमकथा ज्यूँदो हुन्छ। प्रेमको हाटबजारमा यसका ग्राहकको कमी हुँदैन। यसलाई कुनै पनि बन्धनमा बाँधेर राख्न सकिँदैन। यो आजाद हुन्छ- विशाल जंगलबीच स्वतन्त्र उडिरहेको पन्छी जस्तो।

यो संसारमा कतिले गरेका छन् प्रेम ? आजका दिनमा आएर भ्यालेन्टाइन डे संसारका प्रेमीहरूका लागि महान् पर्व बनिरहेको छ। तर प्रेमको एउटा यस्तो इतिहास जसलाई प्रेम गर्नेहरूले कहिल्यै बिर्सिन सक्दैनन् : अमृता-साहिर-ईमरोजको प्रेम कथा।

साहिर र अमृताको प्रेम जसलाई प्रतिविम्वित गर्ने अर्को उदाहरण छैन। परम्परागत प्रेमका परिभाषाभन्दा धेरै पर…

साहिरकी प्रेमिका थिइन् प्रसिद्ध लेखिका अमृता प्रीतम। चियाको जुठो कप, चुरोटका ठुटा, केही शेर र सायरी, केही सम्झना र चिठ्ठीहरू। साहिर र अमृताको प्रेमको कुल सम्पति यत्ति हो। तर यसलाई बलिउडमा सबैभन्दा महान् प्रेम कथा मानिन्छ।

साहिर-अमृताको प्रेमको शृंखला ७८ वर्ष पहिले शुरु भएको थियो। सन् १९४४, त्यतिबेला चर्चाको शिखरमा रहेका साहिरको पहिलोपटक अमृता प्रीतमसँग पहिलो पटक भेट भएको थियो। त्यो ठाउँ थियो लाहोर र दिल्लीबीचमा प्रीत नगर। किस्मतको खेल भन्नुपर्छ उनीहरूको प्रेमको शुरुआत प्रीत नगर अर्थात मायाको शहरबाट शुरु भएको थियो।

साहिर भावुक र आदर्शवादी थिए, अमृता एकदमै प्रेमिल। सुन्दरतामा पनि, तिम्रो लेखनमा पनि। दुवै जना एक मुशायरामा सहभागी हुन प्रितनगर पुगेका थिए। अध्यारो र उज्यालोको कोलाज भएको थियटरमा पहिलोपटक उनीहरूका आँखा जुधे। उनीहरू प्रेममा परे। जसको कुनै दिशा थिएन, न टुंगो थियो न त अर्थ।

अमृताले साहिरलाई भेट्दा उनको विवाह भइसकेको थियो। १६ वर्षको उमेरमै धनी व्यापारी प्रीतम सिंहसँग विवाहसम्बन्धमा रहेकी उनी खुशी भने थिइनन्। साहिरसँग भेट भएपछि उनको जीवनमा खुशीको नयाँ लहर आयो।

अमृता दिल्लीमा बस्थिन्, साहिर लाहोरमा। पत्रहरूले यी दुई जना नजिकिँदै थिए। कहिले उज्यालोमा त कहिले अन्धाकार रातमा कागजमा कोरियो प्रेम, बत्तीले भर्‍यो त्यसमा रंग र फैलायो लाहोर दिल्लीमा प्रेमको बासना।

अमृताका चिठ्ठी पढ्दा थाहा हुन्छ कि उनमा कति गहिरोसँग साहिरको आदत बसेको थियो। अमृता शाहिरलाई मेरो प्रेमी, मेरो कवि, मेरो भगवान् भनेर सम्बोधन गर्थिन्।

साहिरको जीवनी लेखेका अक्षय मानवानीले अ पिपल्स पोयटमा लेखेका छन्- अमृता ती एक मात्र महिला थिइन्, जसले साहिरलाई बिहेका लागि मनाउन सक्थिन्। तर उनले कहिल्यै यसबारेमा कुरा गरिनन्। एकपटक साहिरले आफ्नी आमा सरदार बेगमलाई भनेका पनि थिए, ‘त्यो एक मात्र महिला अमृता प्रीतम मात्रै हो, जो हजुरकी बुहारी बन्न सक्थिन्।’

तर साहिर यस्ता कवि थिए जो बन्धनमा बाँधिन चाहँदैनन् थिए पनि। भयो पनि त्यस्तै, अमृतासँगको उनको प्रेम अधुरै रह्यो। दुवै जना एकअर्कालाई चिठ्ठी त नियमित लेख्थे तर दुवैको भेट भने बडो मुश्किलले मात्रै हुन्थ्यो। जब हुन्थ्यो-त्यहाँ केवल मौनता मात्रै हुन्थ्यो। भेटमा दुवै जना चुपचाप बसिरहन्थे। अमृता प्रीतमले आफ्नो आत्मकथा रसीदी टिकटमा साहिरसँगको भेटबारे लेखेकी छन्, ‘दुवै चुपचाप एकअर्कालाई हेरिरहन्थ्यौँ। साहिर चुपचाप चुरोट पिउँथे । त्यसबेला मलाई लाग्थ्यो, मभित्रको मौनता त्यो कुर्सीमा बसिरहेको छ। उनी गइसकेपछि उनले पिएका चुरोटका ठुटा जतनसाथ उठाउँथेँ । ती ठुटा समाउँदा मलाई साहिरका औँला स्पर्श गरे जस्तो लाग्थ्यो, उनको ओठको स्पर्श महशुस गर्न ती ठुटा सल्काएर पिउँथे।’

अमृता र साहिरको प्रेममा धेरै बाधाहरू आए। त्यो समय साहिर र अमृता दुवै लाहोरमा बस्थे। भारत र पाकिस्तान विभाजनपछि अमृता श्रीमानसँग दिल्ली आइन्, साहिर मुम्बई गए।

अमृताले रसिदी टिकटमा साहिरसँगको प्रेम खुलेर व्यक्त गरेकी छिन्। अमृता प्रेमका लागि विवाह सम्बन्ध तोड्ने मनस्थितिमा समेत पुगेकी थिइन्। कतिसम्म भने दिल्लीको लेखन क्षेत्रमा चर्चामा रहेकी उनी आफ्नो लेखन पनि साहिरका लागि त्याग गर्न तयार थिइन्।

एकपटक साहिर बिरामी थिए। अमृता उनलाई भेट्न पुगिन्। साहिरको छेउमा बसेर छाती र हातमा भिक्स लगाइदिइन्, उनको कपाल चलाइदिइन्। उनले त्यो पल सम्झिँदै आफ्नो आत्मकथामा लेखेकी छन्, ‘म चाहन्छु त्यो एक पल म जिन्दगीभर बाँच्न सकूँ…’

यता साहिरले पनि अमृतालाई सम्झिएर गीत, कविता र शेरहरू लेखिरहेका थिए। तर उनी अमृतालाई पूर्णरूपमा ग्रहण गर्न भने कहिल्यै तयार हुन सकेनन्। उनले त्यो प्रेममा मिलनको सम्भावना कहिल्यै देखेनन्। उनले अमृताप्रतिको प्रेमलाई केवल कलमबाट मात्रै व्यक्त गरे। आखिर उनी कवि थिए। त्यो अवधिमा साहिर सबै सामाजिक र राजनीतिक मुद्दाहरूमा उग्र रूपमा लेख्थे। प्रेमका शायरी पनि लेख्थे।

सन् १९६४ मा फिल्म ‘दुज का चाँद’ मा अमृताप्रतिको प्रेम दर्शाउँदै साहिरले ‘महफिल से उठकर जानेवाले…’

यो गीत साहिरले अमृतालाई ईमरोजसँग भेटेपछि लेखिएको अक्षय मनवानी बताउँछन्। त्यतिबेला अमृता आफ्ना साथी चित्रकार इमरोजसँग थिइन्। सन् १९५० मा एउटा पत्रिकामा साहिरको अफेयर गायिका सुधा मल्होत्रासँग भएको खबर पढेपछि अमृता नराम्रोसँग टुटेकी थिइन् र साहिरसँग उनीबाट टाढिएकी थिइन्। त्यसपछि उनको जीवनमा आगमन भएको थियो चित्रकार ईमरोजको। ईमरोजले अमृतालाई खुब पत्रहरू लेखे। उनले लेखे, ‘तिमीले नहेरेसम्म मेरा चित्रले जीवन पाउँदैनन्।’ एक्लो र उदास जीवन बाँचिरहेकी अमृता अन्तत: ईमरोजसँग नजिकिइन्। दुई सन्तानकी आमा भइसकेकी अमृता आफ्ना श्रीमानसँग डिभोर्स गरेर ईमरोजसँग लिभिङ टुगेदरमा बस्न थालिन्। आफूभन्दा ८ वर्ष कान्छा भए पनि जसै उनको जीवनमा ईमरोजको आगमन भयो, उनको मक्किसकेको हृदय पुन: फक्रिएको थियो।

अमृता भौतिक रूपमा ईमरोजसँग भए पनि हृदयदेखि साहिरसँगै हुन्थिन्। यतिसम्म कि उनी ईमरोजको स्कुटरमा बसेर कतै हिँडिरहेको बेला ईमरोजकै ढाडमा औँलाले लेख्थिन् साहिरको नाम। ईमरोजले यो थाहा पाएर पनि चुपचाप उनलाई प्रेम गरिरहन्थे।

सन् १९६४ मा अमृता साहिरलाई भेट्न ईमरोजलाई लिएर मुम्बई गएकी थिइन्। अमृतालाई अर्कै पुरुषसँग देखेपछि साहिर दुखी भएका थिए। त्यसपछि उनले लेखेका थिए:

महफिल से उठकर जाने वालों
तुम लोगों पर क्या इल्जाम
तुम आबाद घरों के वासी
मैं आवारा और बदनाम.

उक्त गीतमा साहिरले अमृताको प्रेममा आफू लुटिएको, आफैले आफैलाई गुमाएको प्रेमीको रूपमा प्रस्तुत गरेका थिए। अमृताले खुलेर साहिरसँगको प्रेमबारे लेखे पनि साहिरले अमृताबारे के सोच्थे कहिल्यै भनेनन्। किनकी उनको खुलेर बोल्ने बानी थिएन। तर चलचित्र निर्माता विनय शुक्लाले उल्लेख गरेअनुसार साहिरले कहिल्यै पनि अमृतालाई आफ्नो मनबाट निकाल्न सकेनन्।

त्यो बेला साहिर सुधा मल्होत्रासँग नजिक भइसकेका थिए। अमृता ईमरोजसँग लिभिङ टुगेदरमा बस्न थालिसकेकी थिइन्। चलचित्र निर्माता शुक्लाले बताएअनुसार एकदिन संगीतकार जयदेव साहिरको घर गएका थिए। दुवै गीतमा काम गरिरहेका थिए। तर अचानक कोठामा एउटा पुरानो फोहोर कप देखेपछि जयदेवले भनेका थिए, ‘कस्तो फोहोर कप, पख म यसलाई सफा गरिदिन्छु।’ तर जयदेवलाई हतारहतार रोक्दै साहिरले भनेका थिए, ‘त्यो कपलाई नछुनुस्, जब अन्तिम पटक अमृता यहाँ आएकी थिइन् उनले यसै कपमा चिया पिएकी थिइन्।’ यस प्रसंगबाट थाहा हुन्छ कि साहिरले पनि कहिल्यै अमृतालाई बिर्सिन सकेनन्।

साहिर र अमृताको प्रेमले गन्तव्य पाएन, अधुरै रह्यो। तर उनीहरूबीचको प्रेम एकदमै पवित्र थियो। तर अन्तिम समयमा आएर उनीहरूको प्रेम लर्खराएको थियो, बाटो बिर्सिएर भुलभुलैयामा फसेको थियो। त्यसैले साहिरले लेखेका थिए:

वो अफसाना जिसे अंजाम तक लाना ना हो मुमकिन
उसे इक खूबसूरत मोड़ देकर छोड़ना अच्छा.

साहिर र अमृता एक हुन सकेनन्। ईमरोजले अमृतालाई पाए तर अमृता ईमरोजसँगै भएर पनि उनको हुन सकिनन्। अमृतालाई ईमरोजले उनको जिन्दगीको अन्तिम पलसम्म साथ दिए। ४० वर्षसम्म सँगै बसेका उनीहरूको प्रेम दर्शाउनका लागि वैवाहिक सम्बन्धको आवश्यकता पनि परेन। अन्तिम समयमा आएर अमृता ईमरोजसँग गुनाशो गर्थिन्, ‘इमरोज़ तुम मेरी ज़िंदगी की शाम में क्यों मिले, दोपहर में क्यों नहीं..?’

जीवनको उत्तरार्धमा अमृताले ईमरोजका लागि लेखिन् ‘मै तेन्नु फिर मिलुंगी…’

मै तिमीलाई फेरि भेट्नेछु

म तिमीलाई फेरि भेट्नेछु
कहाँ कसरी थाहा छैन,
सायद कल्पना बनेर आउनेछु
र तिम्रो क्यान्भासमा पोतिनेछु

एउटा एब्स्ट्रयाक्ट रेखा बनेर
तिमीलाई नै चुपचाप हेरिरहनेछु
कहाँ कसरी थाहा छैन
म तिमीलाई फेरि भेट्नेछु

घामका किरण बनेर
तिम्रो रङमा घुल्नेछु
रङको अंगालोमा बेरिएर
क्यान्भास बन्नेछु
थाहा छैन कसरी
म तिमीलाई फेरि भेट्नेछु

जसरी झर्नाको पानी बहन्छ
म बूँद बूँद तिमीलाई स्पर्श गर्नेछु
कि त एक शीतल अनुभूतिमा
तिम्रो छातीमा लपेटिरहनेछु
थाहा छैन कहाँ कसरी
तर म तिमीलाई फेरि भेट्नेछु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved