जोशीको आत्मकथा ‘सत्यमोहन’ प्रकाशन हुने

नेपालभ्युज

जोशीको आत्मकथा ‘सत्यमोहन’ प्रकाशन हुने

काठमाडौं। १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा प्रकाशन हुने भएको छ। हिजोदेखि अस्वस्थ भई अस्पताल भर्ना भएका जोशीको स्वास्थलाभको कामनासहित प्रकाशक बुकहिल पब्लिकेसनले आज पुस्तकको कभर सार्वजनिक गर्दै पुस्तक यही फागुन महीनामा प्रकाशन हुने जनाएको हो।

पत्रकार एवम् लेखक गिरीश गिरीद्वारा लिखित आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ।

करीब एक दशकको सान्निध्य र कुराकानीबाट गिरीश गिरीले पुस्तक तयार पारेका हुन्। हिजो अस्पताल पुगेर पुस्तकको प्रकाशन प्रति जोशीलाई हस्तान्तरण गरेपछि गिरी भन्छन्, ‘‘पुस्तक देखेपछि उहाँले त्यसलाई ढोग्नुभयो, करिब आधा घण्टा पढ्नुभयो। त्यसपछि उहाँको मुहारमा यस्तो चमक आयो कि मानौं उहाँ बिरामी हुनुहुन्न।”

जीवनभर अविश्राम नेपाली लोकसंस्कृति, साहित्य, पुरातत्त्व र समाज निर्माणमा लागिपरेका जोशीबारे लेखक गिरीश गिरी भन्छन्, ‘‘आफ्ना अनुभवहरू उभ्याउँदै मुलुकको लामो कालखण्ड बयान गर्न सक्ने जोशी अब त्यो पुस्ताको एक्लो कथावाचक हुन्। तिनै कथाहरू यो संस्मरणमा छन्।”

तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन्।
चर्चित फोटोग्राफर कुमार आलेले खिचेको अप्रकाशित फोटोलाई पुस्तकको आवरणमा बनाइएको छ।

नेपाली समाजको आरोह-अवरोहलाई चियाउन मद्दत गर्ने विश्वास लिएको उनको आत्मकथा सबैका निम्ति प्रतीक्षित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved