चीनको अघोषित ‘नाकाबन्दी’, दूतावास भन्छ- नेपालले पहल गरेन

परराष्ट्र मन्त्रालयस्थित उत्तर-पूर्व महाशाखा नाकाबन्दीकै अवस्था भएको टिप्पणी गर्छ। तर, नेपालस्थित चिनियाँ दूतावास भन्छ- परराष्ट्र मन्त्रालयले वार्ताको पहल गरेकै छैन।

चीनको अघोषित ‘नाकाबन्दी’, दूतावास भन्छ- नेपालले पहल गरेन
फाइल तश्वीर

काठमाडौं। २०७२ सालको भूकम्पभन्दा अघिसम्म तातोपानी नाकाबाट दैनिक एक सयभन्दा बढी कन्टेनर सामान चीनबाट नेपाल आउँथ्यो।

त्यतिबेला कम प्रयोगमा आएको रसुवागढी नाका हुँदै पनि दैनिक ४० देखि ५० कन्टेनर सामान नेपाल आउँथे।

भूकम्पका कारण तातोपानी नाका बन्द भयो। त्यसको विकल्पको रूपमा रसुवागढी नाकालाई लिइयो। भारतले नाकाबन्दी गर्दाताका चीनबाट पेट्रोलियम पदार्थसमेत यही बाटो आयात गरियो। तथापि यो नाका पहिलेजस्तो सञ्चालनमा थिएन।

सात वर्ष बित्यो, चीनतर्फका दुवै नाका पूर्ण क्षमताका साथ सञ्चालनमा आएका छैनन्।

तातोपानी भन्सार प्रमुख नारद गौतमका अनुसार पहिले दैनिक एक सय कन्टेनर सामान भित्रिने गर्थ्यो। त्यस्तै रसुवा भन्सार प्रमुख डा. राम मैनालीका अनुसार ५० कन्टेनर सामान भित्रिन्थ्यो।

भन्सारका कर्मचारीका अनुसार अचेल तातोपानी नाकाबाट दैनिक १२ कन्टेनर सामान आउँछ भने रसुवा नाकाबाट नौ कन्टेनर सामान आउने गरेको डा. मैनालीले बताए।

२० कन्टेनर सामान नेपाल आपूर्ति हुँदा पनि सामान्य अवस्थाको भन्दा कम हो। तातोपानी नाकाबाट हाल नेपालले २० कन्टेनर सामान ढुवानीको माग गरेको छ तर मागभन्दा कम १२ कन्टेनर सामानमात्रै आएको छ।

चीनको अनिच्छाकै कारण दुई नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका हुन्। पहिला भूकम्पलाई कारण देखाउँदै तातोपानी नाका सञ्चालनमा नल्याएको चीनले पछिल्लो समय कोभिड महामारीलाई कारण देखाएको छ।

परराष्ट्र मन्त्रालयस्थित उत्तर-पूर्व महाशाखा यसलाई नाकाबन्दीकै अवस्था भएको टिप्पणी गर्छ।

“हाम्रो भौतिक संरचनाले आवश्यक आपूर्तीको माग धान्न सक्ने अवस्था छ कि छैन पहिला हेर्नुपर्छ,” परराष्ट्र मन्त्रालय उत्तर-पूर्वी महाशाखामा कार्यरत अधिकारी भन्छन्, “हालको अवस्थामा हामीले तातोपानी नाकाबाट २० कन्टेनर सामान आपूर्ती गर्न चिनियाँ पक्षसँग माग गरेका छौँ, त्यो भन्दा बढी हाम्रो संरचनाले धान्न सक्ने अवस्था छैन।”

तातोपानी भन्सार कार्यालयका एक अधिकारी भन्छन्, “हामीले प्रस्ट रूपमा नाकाबन्दी कै अवस्था छ भन्न त मिल्दैन तर, समान ढुवानीको आकडा हेर्दा नाकाबन्दीभन्दा फरक अवस्थामा हामी छैनौँ।”

चीनबाट नेपाल सामान ढुवानी हुने दुवै नाका पूर्ण क्षमतामा सञ्चालन हुननसक्दा त्यसको मार नेपालका आम उपभोक्ताले व्यहोर्नुपरेको छ।

चीनबाट नेपालमा धेरै लत्ता कपडा आउने गर्छ। अहिलेको अवस्था जाडोको सामान गर्मीमा र गर्मीको सामान जाडोमा आउने समस्या देखिएको रसुवा भन्सार प्रमुख डा. मैनालीले बताए। लत्ता कपडाका अलावा चीनबाट स्याऊ, लसुन, ओखर र हाइड्रोका सामान रसुवा नाका हुँदै आउने गर्छ।

नेपाल-चीन नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा एक प्रकारको ‘नाकाबन्दी’ कै अवस्था छ तर सरकारले यस विषयमा औपचारिक रूपमा केही बोलेको छैन।

नाका खुल्ने प्रतीक्षामा रसुवागढीमा नेपालतर्फ लाम लागेका कन्टेनरहरू। तस्वीरः लक्ष्मण श्रेष्ठ

छैन सरकारी पहल

बेइजिङस्थित नेपाली दूतावासको उपप्रमुखका रूपमा चार वर्षे कार्यकाल सकेर गत साउनमा नेपाल फिर्ता आएका परराष्ट्र मन्त्रालयका सहसचिव सुशील लम्साल नेपाल-चीन नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्नुलाई कोभिडकै कारण बताउँछन्।

चीनमा कोरोनालाई अत्यन्तै संवेदनशील हिसाबमा लिएको भन्दै सहसचिव लम्साल कोरोनाकै कारण दुई देशको नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको दाबी गर्छन्।

“तिब्बतको भौगोलिक अवस्था पनि कठीन भएका कारण त्यहाँ कोरोना फैलिएको अवस्थामा नियन्त्रणमा लिन गाह्रो हुने बताउँदै चीनले नाका सञ्चालमा कडाई गरेको हो,” सहसचिव लम्सालले भने।

नेपाल जस्तै चीनसँग सीमा जोडिएका अन्य देशमा पनि चीनले नाका कडाई गरेको परराष्ट्रका सहसचिव लम्साल बताउँछन्। भन्छन्, “नेपालसँग मात्रै होइन चीनका अन्य छिमेकी देशसँगको सीमामा पनि कडाई गरिएको छ। तर, कडाईको मात्रामा केही फरक हुनसक्छ।”

रसुवा भन्सार कार्यालय प्रमुख डा. राम मैनाली पनि कोभिडकै कारण रसुवा नाका पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको टिप्पणी गर्छन्।

नेपालस्थित चिनियाँ दूतावासले भने नाका पूर्ण रूपमा सञ्चालनका लागि अध्ययन भएको तर नेपालको परराष्ट्र मन्त्रालयले यस सम्बन्धी वार्ताका लागि आग्रह नगरेको बतायो।

दूतावास प्रतिनिधि भन्छन्, “सीमा क्षेत्रमा देखिएको समस्याका विषयमा अध्ययन गर्न एउटा संयन्त्र छ, यस विषयमा वार्ताका लागि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छैन।”

यस्तो छ असर

रसुवा भन्सार कार्यालय प्रमुख डा. राम मैनालीका अनुसार केरुङबाट रसुवासम्म सामान ल्याउन नै अप्ठेरो परेको व्यापारीहरूको गुनासो छ। पहिलो कारण हो मूल्यवृद्धि। पछिल्लो समय ढुवानी मूल्यमा निकै वृद्धि भएको गुनासो व्यापारीहरूले गरेको डा. मैनाली बताउँछन्।

आवश्यक मात्रामा चीनबाट नेपालमा सामान आपूर्ती नहुँदा नेपाली बजारमा चिनियाँ सामानको मूल्य वृद्धि भइरहेको छ। पहिला नेपाली चालकहरू कन्टेनर लिएर चीनतर्फ जाने स्थानसम्म हाल नेपाली चालकलाई जाने अनुमति नदिएको डा. मैनाली बताउँछन्। भन्छन्, “अवस्था कस्तो सम्म छ भने पहिला उता गएका केही नेपाली व्यापारीहरूको ट्रक उतै अड्किएका छन्। कतिपय व्यापारीले केरुङमा सामान राख्न घर भाडामा लिएका थिए, त्यो प्रयोगमा आएको छैन।”

समस्या समाधानका लागि पहल गरिरहे पनि त्यसले सार्थकता नपाएको डा. मैनालीले बताए।

“स्थानीय तहबाट भन्दा पनि अर्थमन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय सबैबाट पहल भएका छन्,” डा.मैनाली भन्छन्, “ल्हासामा भएको नेपालको महावाणिज्य दूतावासले पनि पहल गरेको छ। यस विषयमा पटक पटक बैठक भएका छन्। तर, समस्या समाधान भएको छैन।”

त्यस्तो त रसुवाको हकमा नेपालतर्फ पार्किङ समस्याका कारण पनि नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो।

“सामान ढुवानीका लागि पार्किङ सानो भएका कारण धेरै समान ढुवानी गर्न नमिल्ने चिनियाँ पक्षको जवाफ हुने गर्छ,” रसुवा भन्सार कार्यालय प्रमुख डा. मैनालीले भने, “त्यसैकारण हामीले विस्तारको काम गरिरहेका छौँ। एक महीनाभित्र सातबाट चौधसम्म अपलोड हुनसक्ने गरी पार्किङ विस्तार गर्छौँ।  ठाउँ बढाउँदा पनि चिनियाँहरूले समान ढुवानीको मात्रा नबढाएको अवस्थामा अर्कै हिसाबमा सोच्नुपर्ने स्थिति आउँछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved