कमलपोखरीमा ९ ओटा चैत्य राखियो

नेपालभ्युज

कमलपोखरीमा ९ ओटा चैत्य राखियो

काठमाडौं। आज कमलपोखरीमा ९ वटा चैत्य राखिएका छन्। काठमाडौं महानगरको वडा १ मा रहेको कमलपोखरीको सौन्दर्य बढाउने गुरुयोजनाअनुसार राखिएका चैत्यहरूको महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीले विधिपूर्वक पूजा गरेका थिए। यसअघि पोखरीमा चैत्य राखिएको थिएन।

पूजापछि प्रतिक्रिया दिँदै मेयर शाक्यले, वेसम्भार अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर २ चरणमा काम गरेको बताए। ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने भनेका छन्। त्यसलगत्तै पहिलो चरणमा पोखरी उदघाटन गरी दोस्रो चरणको काम शुरु गर्ने उनले बताए।

‘‘पोखरी सञ्चालनमा आएसँगै बिहान र साँझपख स्वच्छ हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा विकास हुनेछ,’’ उनले बताए।

कोभिड महामारीका कारण १ वर्षपछि पोखरीको पुन निर्माण सम्पन्न हुँदैछ। शाक्यले भने, ‘‘चैत्यसँगै यहाँको साँस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरिपरि वृक्षारोपण गर्ने, मठ–मन्दिरको संरक्षण गर्दै पोखरलाई ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउँने पर्यटकको गन्तव्य बनाउँछौं।’’

कमलपोखरीको पुनर्निर्माणअघि संघीय र प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरूसँग लामो छलफल र परामर्श भएको शाक्यको भनाइ थियो।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महसुस भएको बताइन्। ‘‘पोखरी पहिला भन्दा व्यवस्थित भएको छ। पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सरोकारवालाहरूको ठूलो सहयोग प्राप्त भएको छ,” उनले भनिन्, ‘‘मेरो घर कमलपोखरीबाट नजिकै छ। मेरा लागि पनि बिहान–बेलुका स्वच्छ हावा लिदैँ हरियालीको आनन्द लिने ठाउँ तयार भयो।’’

योजनाका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, पोखरी बास्तुकलाको बेजोड नमुना भएको उल्लेख गरे।

काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेते कमलपोखरीमा ४ ओटा कुनामा आकर्षक र संस्कृति झल्किने ४ ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी ५ ओटा मण्डप रहने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved