दूधको मूल्य १० रुपैयाँले बढाउने कास्कीका कृषकको घोषणा

दूधको मूल्य १० रुपैयाँले बढाउने कास्कीका कृषकको घोषणा

सन्तोष सुवेदी । दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको एक सातापछि कास्कीका किसानहरुले पनि मूल्य वृृद्धि गर्ने घोषणा गरेका छन्। कास्कीका किसानले १ फागुनदेखि प्रतिलिटर १० रूपैयाँका दरले मुल्य वृद्धी गर्ने घोषणा गरेका हुन्।

यसअघि उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँका दरले मुल्य बढाउने निर्णय१८ माघमा संस्थानले गरेको थियो। किसानहरुले व्यावसायिक उत्पादन लागतको मूल्यमा वृद्धि भएकाले दूधको मुल्य बढाउनुपरेको बताएका छन्।

राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले किसानहरुलाई मर्का परेको भन्दै मूल्य बढाउने घोषणा गरेका हुन्। मूल्य वृद्धिपछि उपभोक्ताका लागि भैसीको दूध प्रति लिटर १३० रुपैयाँ, गाईको दूध प्रतिलिटर १०० रुपैयाँ, दही प्रतिलिटर १४० रुपैयाँ, पनिर प्रति केजी ८०० रुपैयाँ, ध्यु प्रतिलिटर १२०० रुपैयाँ र नौनी प्रतिकेजी एक हजार कायम गरिएको राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए।

‘माघ २२ गते बसेको बैठकले दूध तथा दुग्धजन्य पदार्थको मूल्य बृद्धि गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘बाध्यतावश दूधको मूल्य वृद्धि गर्नु परेको हो। किसानहरुलाई दुग्ध व्यवसाय सञ्चालन गर्न गाह्रो भइरहेको छ।’
बिहान–बेलुका दूध बेचेर जीवन निर्वाह गर्ने किसानको लागि सरकार चिन्तित नदेखिएको आरोप उनले लगाए।

‘सरकारले मापदण्ड बनाउनुपर्छ। बजारमा पाइने ६० रुपैयाँ पोका दूधको क्वालिटी र मैले उत्पादन गर्ने दूधको क्वालिटीको नियगमन गर्ने सरकार हो,’ उनले भने, ‘सरकार जहिलेसम्म जिम्मेवार बनेर आउँदैन तबसम्म यही स्थिति रहन्छ।’ सरकारले किसानलाई अनुदान दिने भनेपनि धेरै किसानले अनुदान नपाएको उनको आरोप थियो।

कास्कीमा दूधको माग

पोखराको बजार क्षेत्रमा दैनिक ४९ हजार लिटर दूधको माग हुने गरेको छ। तर, पोखरा आसपास क्षेत्रमा २३ हजार लिटर दूध उत्पादन हुने गर्छ, त्यस्तै १३ हजार लिटर दूध सहकारीहरूले उत्पादन गर्दै आएका छन्। पोखरामा कपिलवस्तुलगायतका जिल्लाहरूबाट दैनिक १० हजार लिटर दूध आयात हुँदै आएको छ । तर पनि अझै दूधको अभाव भइरहने तिमिल्सिनाले बताए। ‘हामीले गरेको सर्वेक्षणले अझै पनि कास्कीमा एकडेढ लिटर दूधको अभाव छ,’ उनले भने।

”बिचौलियालाई फाइदा मात्र हो”

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सरकार उपभोक्ता मुखी नभएको आरोप लगाए। ‘मूल्य वृृद्धिले किसानलाई भन्दा पनि बिचौलियाहरुलाई फाइदा हुन पुग्यो,’ उनले भने, ‘मूल्य बिचौलियाले पाउने हँुदा न उत्पादक खुशी भए न उपभोक्ता नै ।’ दूध जस्तो आधारभुत चिजमा पनि सरकारले यस्तो गलत निर्णय गर्नु लजास्पद रहेको उनको तर्क छ ।

‘सरकारले बिचौलियालाई फाइदा हुने निर्णय गर्दै आएको छ। हामी सबै मिलेर विचौलिया बिरुद्ध लाग्न पर्छ,’ उनले भने, ‘हाम्रो माग भनेको मूल्य बढेपनि किसानले नै पाउनुपर्छ भन्ने हो। यहाँ बिचौलियाले मूल्य पाउँदा किसान जहाँको त्यही भए।’ सरकारले किसानको परिश्रमलाई मान्यता दिएर मूल्य बवृद्धि गराएपनि बढाएको मूल्य किसानको हातमा नपरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved