स्मृतिशेष

सहिद सप्ताह समाप्त

घाइतेको उपचार गर्नु, परिवारलाई रोजगारी मिलाइदिनु, बालबच्चाको शिक्षा, स्वास्थ्य आदिको व्यवस्था गर्नु त राम्रो कुरा हो तर हिजोआज गाडीले ठोके पनि, सर्पले टोके पनि, ढुंगाले थिचे पनि, टन्न रक्सी घिचे पनि, १० लाख क्षतिपूर्ति र सहिद घोषणा गर…भन्ने माग राखेर यातायात र सडक बन्द गर्न थालेका छन्। क्षतिपूर्ति पनि सम्बन्धित निकायले होइन, सरकारले चाहिँ दिनपर्ने अरे…।

सहिद सप्ताह समाप्त

(२०६६, वैशाखको ‘मधुपर्क’ मा हास्यव्यंग्य सर्जक नरमेन्द्र लामाको यो व्यंग्य प्रकाशित भएको थियो। जुन व्यंग्यमा उनले सहिद सप्ताहमाथि प्रशस्तै व्यंग्यभाव पोतेका थिए। विडम्बना, यो व्यंग्य प्रकाशित भएको १२ वर्षपछि सहिद सप्ताह चलिरहेकै बेला उनको भौतिक अस्तित्व हिन्दू धर्ममा भनेझैं ‘पञ्चतत्वमा विलिन’ भयो।

२०१० सालमा काठमाडौं, आरुबारीमा जन्मिएका लामा पछिल्लो समय मधुमेह र क्षयरोगबाट पीडित थिए। जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहेका उनले १३ माघमा अन्तिम श्वास फेरे।

दिवङ्गत लामाका तीन व्यंग्यकृति प्रकाशित छन्। जसमा ‘सांसदको पाडो’, ‘कुखुरीको दूध’ र ‘मेरो गोरु’ हुन्। उनीप्रति भावभीनी श्रद्धा अर्चन गर्दै यो व्यंग्य राखेका छौं।)

आजकल कुनै कार्यक्रम शुरु हुनुअघि, ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली एकएक मिनेट मौनधारण गरेर मात्र थालिने गरिएको छ। मैले थाप्लोमा हात राखे यसो सोचेँ। माथ्लो दाँतले तल्लो ओठ टोकेँ, ९० डिग्री निहुरिएर सालिकलाई ढोगेँ। यो सहिद भनेको के हो ? आफ्ले–आफैँलाई मनमनै प्रश्न गरेँ। वर्षैपिच्छे सहिद सप्ताह मनाएर सहिदको गुणगान गाएको, कान टट्याउने गरी सुन्दै आएको आधा शताब्दी व्यतित भइसक्दा पनि शब्दको अर्थ बुझिन भन्नु त लाजै मर्नु भइहाल्छ नि भन्ने लाग्यो। एक मनले त, जेसुकै होस्, मान्छेले गोली खाएर त मरे भने, म लाजले मर्नु परे के भो र…। आरामले मरिदिउँला भन्ने जस्तो पनि लाग्यो। हुन त अहिले ‘शहीद’ शब्द पनि सहिद भएको छ।

सोच्दै गर्दा अर्को मनले चाहिँ कहाँ हुन्थ्यो कान्छा, मर्न त गारो पो हुन्छ त, बुझ्ने कोसिस गर…भन्यो। मैले कनिकुथे अर्थ लगाउन थालेँ, जो यस प्रकारका छन्। सहिद भनेको देश र जनताको लागि प्राणको समेत आहुति गर्ने मानिस, अर्थात् पहिले प्रचलित ‘शहीद’ को ‘श’ भनेको शरीर, ही भनेको हीन नभएको, द भनेको दण्डित, शरीर हीनको दण्ड पाएको मान्छे। अझ यसो भनौं जनताको अहित गर्ने शासनको चर्को भाषणले विरोध गरेर पक्राउमा परेर ‘प्राण जाए पर वचन नजाए’ गरेर वीरगति प्राप्त गर्ने व्यक्ति। अरूले गर्न नसक्ने साहसिक काम गरेर, दाम र मामको पछि नलागी आफ्नो मृत्युको आफैँले मञ्जुरीनामा दिएर मृत्यु वरण गर्ने मान्छे।

मैले ठीक भने कि बेठीक यो छु्ट्याउने काम तपाईंलगायत बुद्धिजीवि र जनताको हो। जनताको टण्टा नलिनुस्, जता मल्को उतै ढल्को गर्ने बुद्धिजीविको पनि भर नपर्नुस्। सिरिफ तपाईंको मात्र दासत्व सम्झिनुहोस्। जहाँसम्म मलाई लाग्छ, म गल्तीमा छैन। यदि गल्ती देख्नु र भेट्नु भो भने, रत्नपार्क, होइन–होइन, टुँडिखेलको चल्ती सडकमा आउनुस्, मेरो खल्ती मज्जाले छाम्नुस्, म सहुँला बुझाउँला। सहिन र बुझाइन भने, मलाई पनि सहिद बनाउने कोसिस गर्नु होला। यो मेरो तपाईंलाई मञ्जुरीनामा पत्र भो।

सहिदको परिभाषा बुद्धिजीविहरूले जेसुकै दिए पनि, छोटो मान्छेको छोटै कुरामा भन्नुपर्दा, अकालमै मृत्युवरण गर्ने, कसैसँग पनि नदब्ने–नझुक्ने, निडर–हक्की, निर्भीक–सुरवीर र लोभ–लालच नभएको व्यक्ति। यो पनि कुन मुखले भन्नु र … खै ? आजभोलि ८०–९० वर्षका बुढाबुढी मर्दा पनि असामयिक निधन भनेर अखबारमा श्रद्धाञ्जली र समवेदना छापिने गरेको छ। कहिलेकहिले त जिउँदो मान्छेको समवेदना र मरेको मान्छेको चाहिँ हार्दिक बधाई पनि छापिने गरेको छ। गड्यौला र चिप्लेकीराजस्ता निर्भीक प्राणीसँग पनि डराएर तीन बित्ता उफ्रने मान्छे पनि सहिद बनेका छन्। उही दुष्ट र कपटी मान्छे पनि मरिसकेपछि चाहिँ, मृदुभाषी, मिलनसार, काँतरलाई निर्भीक, निर्दयीलाई दयाको सागर भन्नुपर्छ। अब उसले केही बिगार गर्न आउँदैन भन्ने हो भने कुरा बेग्लै हो।

ज्यान लिने र दिने तौरतरिका अलगअलग हुनसक्छ। मान्छे मर्ने र मार्ने किसिम फरकफरक हुनसक्छ। प्राण हर्ने र हराउने क्रिया र प्रक्रिया बेग्लाबेग्लै हुनसक्छ। कसैलाई झुण्ड्याएर फाँसी देलान्, कसैलाई टाउको छुट्याएर पनि गाँसी देलान्। कसैलाई गोली ठोकेर, कसैलाई सूली घोचेर, कसैलाई भिरबाट घचेटेर, कसैलाई भिन्नतामा अचेटेर, जसरी मारे पनि आखिर प्राण पखेरु उडाइदिनु न हो ? म त भन्छु काउकुती लाएर हँसाइ–हँसाइ मारे पनि, कुटेर थिल्थिलो पारेर मारे पनि, विष्णुले मधु र कैटभलाई झैँ काखमा राखेर मारे पनि, हिटलरले झैँ ग्यास चेम्बरमा जाकेर मारे पनि, मार्नु भनेको, मार्नु नै हो, ज्यान बचाउने काम अवश्य हुँदै होइन।

नेपालमा १९९७ सालभन्दा पहिले कति सहिद भए, कति अकालमै स्वर्ग गए। त्यसको लेखाजोखा नै छैन। कसैलाई मतलब पनि भएन। जब ९७ साल माघ ९ गते जुद्धशमशेरको आदेश र त्रिभुवनको निर्णयमा शुक्रराज शास्त्रीलाई पचलीको खरीको रुखमा झुण्ड्याइयो तबदेखि मात्र सहिदको फेहरिस्ता तयार भयो। ११ गते सिफलको बकैनाको रुखमा धर्मभक्त माथेमा, १६ गते दशरथचन्द र गंगालाललाई शोभा भगवतीमा गोली ठोकेर…। जुन समयलाई सहिद सप्ताह भन्ने गरिन्छ।

साहस देखाउँदैमा, प्राण त्याग गर्दैमा र ज्यानको बाजी थाप्दैमा मात्र पनि सहिदको मसला पुग्दैन कि भन्ने मेरो विचार छ। हुन त तपाईंको विचार र मेरो विचार मिलाएर मिक्स अचार बनाउनुपर्छ भन्ने केही छैन। कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि हुने हुनाले सबैको विचार मिल्नैपर्छ भन्ने के छ र…तैपनि कहिलेकाहीँ आंशिक वा पूरा मिलिदिए राम्रै हुन्थ्यो। साहस मात्र त लडाइँको मैदानमा धेरैले देखाएका हुन्छन्। त्यहाँ साहस नदेखाए त आफैंसँग हिँड्ने साथीले पनि सुइँक्याई दिन बेर मान्दैनन्। साहस नभै त आत्महत्या गर्नेले पनि सक्तैन भन्छन्। कहाँसम्म सत्य हो, गर्ने वा भन्नेले नै जानुन्।

धेरै टाढा किन जानु पर्‍यो ? तपाईं हाम्रो आँखा अगाडि नै कतिपल्ट देशव्यापी रुपमा आन्दोलन समाप्त भइसक्यो। नेपाल एकीकरण पनि बारम्बार भएकै हो। त्यस्ता घटनाहरूमा कति मान्छेले ज्यान गुमाउनु पर्‍यो होला। अलौपर्व, कोतपर्व, भण्डारखाल पर्वजस्ता पर्वहरू सर्वविदितै छन्। मैले जितेँ भन्ने गर्व नगरे हुन्छ। प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धमा पनि कति नेपालीले बलिदान गर्नुपर्‍यो होला। भिसी क्रम तक्मा पाउने नै कति नेपाली छन् वा थिए। त्यसकारण सक्कली सहिद हुनको लागि बलिदान र साहसले मात्र पनि पर्याप्त नपुग्दो रहेछ भन्ने प्रमाणित हुन्छ। सक्कली शहीद बन्नको लागि, देशप्रेमको भावना तपस्यादिको पनि खाँचो पर्दोरहेछ।

लडाइँमा लड्ने लडाकुले, धेरथोर तलब भत्ता पाउँछन्। आन्दोलनमा मारिनेको पनि कुनै स्वार्थ लुकेको हुनसक्तछ। अझ भनौं कोही त झुक्किएर भवितव्यमा पनि परेको हुनसक्छ। फेरि सम्भव भएसम्म परिवारले क्षतिपूर्ति पनि पाएका छन्। होइन त ? घाइतेको उपचार गर्नु, परिवारलाई रोजगारी मिलाइदिनु, बालबच्चाको शिक्षा, स्वास्थ्य आदिको व्यवस्था गर्नु त राम्रो कुरा हो तर हिजोआज गाडीले ठोके पनि, सर्पले टोके पनि, ढुंगाले थिचे पनि, टन्न रक्सी घिचे पनि, १० लाख क्षतिपूर्ति र सहिद घोषणा गर…भन्ने माग राखेर यातायात र सडक बन्द गर्न थालेका छन्। क्षतिपूर्ति पनि सम्बन्धित निकायले होइन, सरकारले चाहिँ दिनपर्ने अरे…। यसलाई विडम्बना भन्ने कि के भन्ने ? के सहिदको मूल्य हुन्छ ? के पहिलेका मुख्य ४ सशहीदरूले क्षतिपूर्ति पाए ? उल्टै सर्वस्व हरण चाहिँ भएको थियो। नपत्याए, नेपालको इतिहास साक्षी छ।

बरु जसको परिवारले क्षतिपूर्ति पाएनन् वा लिएनन्, त्यसलाई आंशिक वा पूरा कस्तो खालको सहिद मान्नुपर्ने हो, छुट्याउन जरुरी देख्दछु म त। मूल्य चुकाएपछि के को सहिद ? अहिलेको हिसाबमा १० लाख भनेको एउटा सामान्य मान्छेको जिन्दगीभरको कमाइभन्दा बेसी हुनसक्छ। त्यस्तै हो भने, घरमा जहान बच्चाको भरण पोषण गर्न नसक्ने जति सबैले सहिद हुने आँट गरे भैगो नि। गाडीको चक्कामुनि हुन्छ कि, कहाँ हुन्छ घुस्न गए भो। छतबाट हाम्फाले पनि भो। ढोकाबाट पुल्टुङबाजी खेले पनि भो। घाइते भए, जिन्दगीभर उपचार, मरे परिवारले १० लाख र सहिद घोषणा।

मैले चार जनाबाहेक अरू शहीदै होइन भन्न खोजेको चाहिँ अवश्य पनि होइन। रोटी पनि हेर्नाको हुन्छन् भनेझैँ सहिद पनि किसिम किसिमका हुन्छन् कि भन्न खोजेको हुँ। सहिदको पनि नापतौल गरेर वर्गीकरण गर्ने हो कि ? भन्ने खोजेको हुँ। ज्ञात र अज्ञात गरेर गन्नै नभ्याउने सहिदहरू भैसके। कुन दिन नेपाली जनताभन्दा धेरै हुने हो थाहा छैन। कसको योगदान कति छ ? कसको पल्ला भारी छ ? कसरी भएको हो, कहाँ भएको हो ? जान्न पाए, दर्जानुसारको आदर–सत्कार, श्रद्धा–भक्ति अर्पण गर्न सजिलो हुन्थ्यो कि भन्न खोजेको हुँ। अन्य अर्थ नलगाउनु होला।

२०१७ सालतिर टुँडिखेल टुक्र्याएर, सहिदगेट बनाएपछि निरन्तर रुपमा सरकारद्वारा सहिद सप्ताह मनाउँदै आएको कुरा, यहाँलाई राम्रै थाहा छ। जुन सरकार आए पनि मनाउन छाडेको छैन, बरु चाडबाड मनाउन छाडे होलान्। ०६३ यता देशको धेरै भागमा सहिद पार्क, सहिद स्मारकहरू बन्न थालेका छन्। १८ साल वैशाख १ गते उद्घाटन भएको सहिदगेटको सरुवा–बढुवाको कुरा पनि आइरहेको छ। सदाझैँ यस वर्ष पनि सालिकमा माल्यार्पण गरेर, फूलको गुच्छा चढाएर, ब्याण्डबाजा बजाएर भव्यताको साथ सहिद सप्ताह समाप्त गरियो। परिवारजन जहाँसुकै जाउन्, जेसुकै खाउन्। हाम्रो काम हो सहिद सप्ताह मनाउने। अब चुपचाप बसेर, अर्को वर्ष फेरि भव्यताको साथ मनाउने तालमेल मिलाउँला, हुन्न त ? जयः ज्ञात–अज्ञात सहिदहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved