चर्चित कृतिका फ्लप नेपाली फिल्म

नेपालभ्युज

चर्चित कृतिका फ्लप नेपाली फिल्म

पोखरा। अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कृतिमा आधारित रहेर धेरै सिनेमाहरू बनेका छन्। गन विथ द विन्ड, व्रिजेश अफ मेडिसन काउन्टी, केन एण्ड एवल, जेम्स वन्डी श्रृंखला हलिउडमा यसका उदाहरण हुन्। बलिउडमा मुन्सी प्रेमचन्द्र, शरतचन्द्रलगायत अन्य साहित्यकारका चर्चित कृतिहरुमा बनेका फिल्म सफल भएका उदाहरण छन्।

तर, नेपालमा पुस्तकमा आधारित रहेर थोरैमात्र फिल्म बनेका छन्। बनेकामध्ये पनि थोरैले मात्र व्यवसायिक सफलता हात पारेका छन्। २०३४ सालमा प्रदर्शनमा आएको ‘कुमारी’ नेपालको पहिलो रंगीन फिल्म हो, प्रेमबहादुर बस्नेतले निर्देशन गरेको यो फिल्म साहित्यककार विजय मल्लको उपन्यास ‘कुमारी शोभा’ मा आधारित थियो।

यसपछि गुरुप्रसाद मैनालीको साहित्यिक कृति ‘नासो’मा आधारित रहेर ‘परालको आगो’ निर्माण भयो। फिल्मलाई प्रताब सुब्बाले निर्देशन गरेका थिए। बालकृष्ण समको अमरकृति ‘प्रेम पिण्ड’, डायमन्ड शमसेर राणको कृति ‘बसन्ती’, धुव्रचन्द्र गौतमको कृतिमा आधारित रहेर ‘बासुदेव’ चलचित्र बनिसकेका छन्।

बासु शशीको ‘नगदनारायण’ मा बनेको ‘लोभी पापी’, मोदनाथ प्रश्रितको ‘सपनाहरुको देशलाई’ कृतिमा आधारित  ‘बलिदान’ लगायत फिल्महरू सफल भएका थिए। ‘मुनामदन’ पनि व्यावसायिक रुपमा हिट ठहरियो, महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट कृतिको रुपमा परिचित मुनामदनको कथामा १० वर्षअघि बनेको यो फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका थिए।

कृष्ण धारावासीको पुस्तक ‘झोला’ माथि बनेको फिल्म पनि सफलताको अर्को उदाहरण हो। झोला फिल्मले नेपालको सती जाने प्रथालाई प्रस्तुत गरेको छ। यता, कर्ण शाक्यद्धारा लिपिबद्ध अटो बायोग्राफी ‘पल’ बारे बनेको फिल्म भने व्यावसायिक रुपमा असफल बन्यो।

नीर शाहले निर्माण गरेको गोपालप्रसाद रिमालद्धारा लिखित कृति ‘मसान’ पनि व्यवसाहिक रूपमा असफल फिल्मकै सूचिमा पर्छ। लेखकले आफ्नो कृत्तिलाई मनोवैज्ञानिक रूपमा प्रस्तुत गरेको भएपनि त्यसलाई वास्ता नगरी  ‘मसान’लाई कमेडी बनाएको आरोप शाहमाथि लाग्ने गरेको छ।

त्यस्तै ‘सेतो बाघ’ पनि असफल ठहरियो, यो फिल्म डायमण्ड शम्शेरको चर्चित पुस्तक सेतो बाघमा आधारित थियो। मदन पुरस्कार प्राप्त पारिजातको उपन्यास ’शिरीषको फूल’ माथि आधारित रहेर निर्माण गरिएको फिल्म ’शिरीषको फूल’ व्यवसाहिक असफलताको अर्को उदाहरण हो।

निर्माणकर्ताबीचको मनमुटावले अलपत्र परेको यो सिनेमालाई जापानिज निर्देशक तोसियाकी पूरा गरिदिए पनि उपन्यासमा हुँदै नभएका प्रसंगहरु थपिदिएर पुस्तकको मर्म मारेको आरोप उनीमाथिग लाग्ने गरेको छ।

किन असफल रहे ?

साहित्यिक कृतिमा बनेका चलचित्रहरु विवादरहित छैनन्। कृतिलाई त्यसको मर्मअनुसार पर्दामा उर्तान नसकेको आरोप चलचित्र निर्माता, निर्देशक र  कलाकारमाथि लाग्दै आएको छ। निर्देशक घनश्याम लामिछाने दक्ष निर्देशकको हातमा नपर्दा सिनेमा असफल रहेको तर्क राख्छन्। भन्छन, ‘कृतिमा आधारित फिल्म बनाएँ भन्दैमा जे पायो त्यही गर्न भएन, यस्तो गर्दा न कृतिलाई न्याय पुग्न गयो न दर्शकलाई नै।’ कृतिमा आधारित फिल्म ‘मुनामदन, प्रेमपिण्ड र बसाई’ राम्रो भएपनि त्यसपछि बनेका फिल्म सोचेजस्तो नबनेको उनको टिप्पणी छ।

चलचित्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष रेम विक भन्छन्, ‘साहित्य जुन आनन्दले पाठकले पढेका हुन्छन्, त्यस्तो फिल सिनेमामा नपाएको अनुभूति हुन्छ। पाठकले कृति पढ्दा आनन्द पाउँछ। तर सोही कृतिको फिल्मले उसको मन जितेको देखिदैंन।’

उनी भन्छन्, ‘कृतिको जुन फम्र्याट छ त्यसलाई डाइरेक्टरले प्रिजेन्ट गर्न नसक्नु नै कमजोरी हो। जस्तो कि, कृतिमा फूलैफूलको गार्डेन भनेर उल्लेख गरिएको छ र फिल्ममा नर्मल गार्डेन देखाइयो भने पाठकले रुचाउँदैनन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved