निर्माणाधीन मोटरेवल पुल भासिन थाल्यो

ढलानको भार थाम्न नसकेर टेको लगाइएका फार्मा जमिनमा गाडिएपछि पुल भासिन थालेको हो। सटिङ गर्दा टेका राख्ने क्रममा भएको लापरबाहीले ढलान दबेर भासिन थालेको छ।

नेपालभ्युज

निर्माणाधीन मोटरेवल पुल भासिन थाल्यो

म्याग्दी। बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल भासिन थालेको छ।

एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही १८ माघमा मंगलबार ढलान भएको थियो। अन्य दुई ओटा स्पामको ढलान ठीक भए पनि पछिल्लो पटक ढलान भएको स्पामको मध्यभागको दायाँ र बायाँतर्फ सतह भन्दा दुई इञ्च भन्दा बढी भासिएको पखेरका बासिन्दा धनबहादुर थापाले बताए।

“ढलानको भार थाम्न नसकेर टेको लगाइएका फार्मा जमिनमा गाडिएपछि पुल भासिन थालेको हो”, उनले भने “सटिङ गर्दा टेका राख्ने क्रममा भएको लापरबाहीले ढलान दबेर भासिन थालेको छ।”

बालुवा र सिमेन्ट घोलेर गहिरो देखिएको ठाउँमा हाल्ने क्रममा बुधबार स्थानीयवासीले रोकेका थिए। पुलको बीच भाग उठेको र छेउतर्फ गहिरो, खाडल परेको र भासिएर बाङ्गो देखिन थालेपछि गुणस्तर र दिगोपनामा शंका र प्रश्न उठेको बेनी नगरपालिका–४ तातोपानीका वीरेन्द्रमान शाक्यले बताए।

“भविष्यमा पुलको उपभोगका क्रममा जोखिम, गुणस्तर र दिगोपनामा असर पर्ने नपर्ने विषयमा प्राविधिक अनुसन्धानका लागि सडक डिभिजन, जिल्ला प्रशासन र नगरपालिकामा अनुरोध गरेका छौ”, उनले भने, “पुल बनेर मात्र भएन, सुरक्षित रूपमा उपयोगयोग्य र गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो माग हो।”

निर्माण कम्पनीका इञ्जिनीयर गोपालकुमार शाहले फुटपाथको भाग दबेर कुनै असर नपर्ने दाबी गर्दै अर्को ढलान गर्दा सतह मिलाउने बताए। “ढलान गर्दागर्दै दबेको हुनाले त्यही अनुसार सेट हुन्छ”, उनले भने, “फुटपाथ बनाउने क्रममा सतह मिलाउन सकिन्छ। गाडी गुड्ने भाग केही भएको छैन्।” ढलानका क्रममा उपस्थित भएका सडक डिभिजन कार्यालय बागलुङका प्राविधिक तोपबहादुर थापाले पनि यो सामान्य विषय भएको प्रतिक्रिया दिए। फुटपाथमा थप सात सेन्टिमिटर बाक्लो ढलान गर्ने क्रममा सतह मिलाउन सकिने उनको भनाइ छ। सडक डिभिजनका इञ्जिनीयरसहितको टोली आज पुलको निरीक्षणमा आएका थिए।

मंगला गाउँपालिकाको ३, ४ र ५ नम्बर वडालाई सडक सञ्जालसँग जोड्न सडक डिभिजन कार्यालय बागलुङले पखेरका साथै बाबियाचौरको माटेबगर र पोक जोड्ने म्याग्दी नदीमाथि ८० मिटर लामो पुल बनाउन विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभीसँग रु २२ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदारले पर्याप्त मात्रामा उपकरण, मजदूर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण ढिलाइ भएको छ। ११ मिटर चौडाइ भएको माटेबगर–अर्मन जोड्ने अर्को पुलको ४० मिटरको एउटा स्पाममा ढलान सकेको ठेकेदारले अर्मनतर्फको फिल्लर ठडाएर ढलानको तयारी गरेको छ। फाँपरखेत–पखेर जोड्ने पुलका चार वटै पिलर निर्माण र ढलान सकिएपनि दायाँबायाँ पहुचमार्ग बनाउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved