कस्ता छन् नेपालसँगै विश्वकपको छनोटका अरू प्रतिस्पर्धी?

टी–ट्वान्टी विश्वकप आउँदो अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ। जसका लागि खेल तालिका पनि सार्वजनिक भैसकेको छ। कुल १६ टिम सहभागी प्रतियोगिताका लागि छनोट चरण पार गरेर जाने चार टिमको टुङ्गो लाग्न बाँकी छ। त्यहीँ चार टिमभित्र पर्नु नेपाली टिमको अहिलेको प्रमुख लक्ष्य हो।

कस्ता छन् नेपालसँगै विश्वकपको छनोटका अरू प्रतिस्पर्धी?

काठमाडौं। दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले जोडतोडका साथ तयारीमा छ। करिब तीन सातापछि ओमानमा हुने टी–ट्वान्टी विश्वकपको छनोटका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ।

सन् २०१४ मा पहिलोपटक विश्वकप पुराएका श्रीलकंन प्रशिक्षक पुबुदु दासनायकेकै प्रशिक्षणमा हाल राष्ट्रिय टिमका १६ खेलाडी छन्।

नेपाली टिमका नयाँ कप्तान सन्दीप लामिछाने पनि ‘बिग ब्यास’ बीचमै छाडेर नेपाललाई विश्वकपसम्म पुर्‍याउने जिम्मेवारी पूरा गर्न नेपाल आइसकेका छन्।

यता विश्वकप छनोटलाई नै मध्य नजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) नेपाली ब्याटरलाई तीव्र गतिको बल खेल्ने अभ्यासका लागि भारतका दुई फास्ट बलरलाई नेपाल ल्याएको छ।

टी–ट्वान्टी विश्वकप आउँदो अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ। जसका लागि खेल तालिका पनि सार्वजनिक भैसकेको छ। कुल १६ टिम सहभागी प्रतियोगिताका लागि छनोट चरण पार गरेर जाने चार टिमको टुङ्गो लाग्न बाँकी छ। त्यहीँ चार टिमभित्र पर्नु नेपाली टिमको अहिलेको प्रमुख लक्ष्य हो।

नेपाल विश्वकप छनोटको ‘ग्रुप ए’ मा रहको छ। छनोटको ‘ग्रुप ए’का खेलहरू आउँदो फेब्रुअरी १८ देखि ओमानमा सञ्चालन हुँदैछ। आठ टिम सहभागी प्रतियोगितामा फाइनल पुग्ने दुई टिम विश्वकपको लागि छनोट हुनेछन्।

आठ टिमलाई दुई समूहमा बाँडेर लिग कम ‘नक आउट’को आधारमा यो छनोट प्रतियोगिता आयोजना हुँदैछ। छनोट प्रतियोगिताको समूह चरणमा नेपालले आयोजक ओमान, क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन रहेका छन्।

दुवै समूहमा शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् भने सेमिफाइनलका विजेता दुई टिमले फाइनलको यात्रासँगै विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। यो छनोट प्रतियोगिताको तयारी स्वरूप नेपालले ओमानमा नै चारदेशीय टी—ट्वान्टी श्रृङखला पनि खेल्दैछ। फेब्रुअरी ११ देखि खेलिने यो श्रृङखला नेपाल, ओमान, आयरल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन्। जसका लागि नेपाली टिम फेब्रुअरी ९ मा ओमान प्रस्थान गर्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वरीयता क्रम हेर्ने हो भने त नेपालले यो विश्वकप मात्र होइन, यसअघिका टी—ट्वान्टी विश्वकप पनि सजिलै खेल्नुपर्ने हुन्थ्यो। किनकि नेपाल लगातार वरीयता क्रममा टेस्ट राष्ट्र पछि माथिल्लो स्थानमा रहँदै आएको छ।

हाल पनि १२ औ स्थानमा रहेको नेपाल टेस्ट राष्ट्र आयरल्यान्ड भन्दा पनि माथि छ। यो विश्वकप छनोट खेल्ने सबै राष्ट्र भन्दा नेपाल माथि छ। तर विश्वकप खेल्नलाई वरीयतामा माथि भएर मात्र पुग्दैन। यसका लागि छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्य टिमलाई परास्त गर्नुपर्ने हुन्छ। वरीयतामा नेपाल माथि भए पनि छनोट खेल्ने केही टिम बाहेक सबै टिम १९–२० छन्। जसले जसलाई पनि हराउन सक्छन्।

विश्वकप छनोटमा नेपाललाई टक्कर दिने अन्य राष्ट्र कस्ता छन् त त्यो एक पटक हेरौँ।

ओमान

विश्वकप छनोटमा नेपालको पहिलो भेट नै आयोजक राष्ट्र ओमानसँग हुनेछ। वरीयताक्रम हेर्ने हो भने ओमान, नेपालभन्दा पाँच स्थान तल १७ औ मा छ।

तर पछिल्लो समय ओमान एसोशियट राष्ट्रमा नयाँ शक्तिको रुपमा उदाएको छ। सन् २०१४ मा मात्र एसोशियट राष्ट्रको मान्यता पाएको ओमानलाई क्रिकेटमा सबैभन्दा छिटो छलाङ मार्न सफल देश मानिन्छ।

बिशेषगरी भारतीय र पाकिस्तानी मूलका खेलाडीको वर्चस्व रहेकाले यस टिमलाई बलियो मानिन्छ। ओमानको टिममा मात्र १३ प्रतिशत खेलाडी मात्रै वास्तविक ओमानीज रहेको बताइन्छ।

ओमानले सन् २०१६ र २०२१ को पछिल्ला दुई टी—ट्वान्टी विश्वकप खेलिसकेको छ। यसै हप्ता मात्र ओमानका कप्तान जसिन मक्सुड सन् २०२१ को आइसिसी एसोशियट क्रिकेटर अफ दी इयरको उपाधि जित्न सफल भएका थिए।

अन्तर्राष्ट्रिय टी—ट्वान्टी म्याचमा नेपालले ओमानसँग एक पटक सन् २०१९मा खेलेको छ। जसमा नेपाल पराजित भएको थियो। एकदिवसीय म्याचमा भने चार खेलमा गत भदौमा पहिलो पटक नेपाल ओमानलाई हराउन सफल भएको थियो।

यो पटक पनि समूह चरणमा नेपालको प्रमुख प्रतिद्वन्द्वी ओमान नै हो। पहिलो खेलमा ओमानलाई हराउन सके नेपालको सेमिफाइनल यात्रा सहज हुने देखिन्छ।

क्यानडा

कुनै बेला एसोशियट राष्ट्रमा सबैभन्दा सफल क्रिकेट टिमको रुपमा रहेको क्यानडाले पछिल्लो समय त्यति राम्रो प्रदर्शन गर्न सकेको छैन। सन् १९६८ मै एसोशियट राष्ट्रको मान्यता पाएको क्यानडाले सन् २०११ सम्म चार पटक एकदिवसीय विश्वकप खेलिसकेको थियो।

तर त्यसपछि उच्च प्रदर्शनलाई निरन्तरता दिन सकेको छैन। टी—ट्वान्टी विश्वकप भने हालसम्म नखेलेको क्यानडा नेपाल भन्दा वरीयतामा १० स्थान तल २२ औ मा छ।
क्यानडाले नेपालसँग अन्तर्राष्ट्रिय टी—ट्वान्टी म्याच खेलेको छैन। हालको क्यानडा र नेपालको क्रिकेटको स्तरलाई हेर्ने हो भने क्यानडालाई समूह चरणमा पराजित गर्न ओमानलाई जस्तो गाह्रो नहुने देखिन्छ। समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउन सके ओमानसँगको हारका बाबजुद पनि नेपाल कम्तीमा सेमिफाइनल पुग्न सक्छ। किन भने समूहमा रहेको अर्को टिम फिलिपिन्स नेपालको स्तरको टिम होइन। वरीयतामा ४६ औ स्थानमा रहेको फिलिपिन्सलाई नेपालले सजिलै पराजित गर्न सक्ने खेल विश्लेषकहरू बत्ताउँछन्।

यदि सेमिफाइनलमा पुग्न सके नेपालको भेट हुने प्रबल सम्भावना भएका दुई टिम हुन्, आयरल्यान्ड र युएई। यो समूहमा रहेका जर्मनी र बहराइनको क्रिकेट स्तरले सेमिफाइनलमा पुग्ने ल्याकत खासै राख्दैन।

आयरल्याण्ड

यसै महिना टी—ट्वान्टी क्रिकेटको माहारथी देश वेष्ट इण्डिजसँगको तीन म्याचको टी—ट्वान्टी सिरिज आयरल्याण्डले २–१ ले जित्यो। यसले आयरल्याण्डको क्रिकेटको स्तर कहाँ छ भनेर देखाउँछ।

यो छनोट प्रतियोगितामा टेष्ट मान्यता प्राप्त एक मात्र टिम आयरल्याण्ड विश्वकपका लागि छनोट हुने प्रबल दाबेदार टिम हो। उसले छनोट प्रतियोगिताको लागि भनेर राम्रो तयारी गरिरहेको र धेरै टिमसँग अभ्यास खेल खेलिरहेको छ।

आयरल्यान्डले सन् २००९ यताका सबै ६ ओटा टी—ट्वान्टी विश्वकप खेलेको छ। त्यस्तै तीन पटक एकदिवसीय विश्वकप खेलिसकेको अनुभव भएको आयरल्यान्ड सन् २०२३ को एकदिवसीय विश्वकपका लागि पनि छनोट भैसकेको छ।

एकदिवसीय क्रिकेटमा आयरल्यान्डले इंल्याण्ड, पाकिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिका र वेष्ट इन्डिज जस्ता देशलाई पराजित गरिसकेको छ। हाल वरीयतामा नेपाल भन्दा आयरल्यान्ड एक स्थान तल रहे पनि वास्तवमा आयरल्यान्ड नेपाल भन्दा एक स्तर माथिको देश हो।

नेपालले सन् २०१५ मा आयरल्यान्डसँग खेलेका दुई टी—ट्वान्टी खेलमा दुवै हारेको थियो। यो छनोट प्रतियोगिताबाट विश्वकपमा पुग्ने एक टिम आयरल्यान्ड रहने र अर्को एक टिम रहने पहिले नै अनुमान छ।

त्यसैले सेमिफाइनलमा आयरल्यान्डसँगको भेट टार्न नेपालले समूह चरणमा उत्कृष्ट खेल देखाउँदै ओमान र क्यानडालाई हराएर समूह विजेता बन्न सक्नुपर्छ। सोझो हिसाब गर्दा अर्को समूहबाट आयरल्यान्ड विजेता र युएई उपविजनताको रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना प्रबल छ। नेपाल समूह विजेता बनेमा नेपालको भेट युएईसँग हुनेछ। आयरल्यान्ड भन्दा युएईलाई हराउन नेपाललाई निकै सहज हुनेछ।

यूएई

यूएई नेपालकै स्तरको टिम हो। नेपालको योजना अनुसार भएका नेपालको भेट यूएईसँग सेमिफाइनलमा हुनेछ। यूएईसँग खेलेको र परिचित गरेको अनुभव त नेपालसँग छ।

हाल वरीयतमा यूएई, नेपालभन्दा तीन स्थान तल १५ औंमा छ।

युएई र नेपालले एकै पटक सन् २०१४ मा टी—ट्वान्टी विश्वकप खेलेका थिए। त्यसपछि दुवै टी—ट्वान्टी विश्वकपका लागि छनोट हुन सकेका छैनन्। युएईसँगको खेलेका तीन अन्तर्राष्ट्रिय टी—ट्वान्टी खेलमा दुई पटक नेपालले जित हात पारेको छ। एकदिवसीय मान्यता पाएपछि खेलेका चार एकदिवसीय खेलमा भने दुवैले दुई दुई खेल जितेको रेकर्ड छ।

सन् १९९० मा नै एसोसिएसन राष्ट्रको मान्यता पाएको युएईले सन् २०१५ को एकदिवसीय विश्वकप पनि खेलिसकेको छ। युएई पनि किन विश्वकप छनोटमा खतरनाक टिम बन्न सक्छ भने ओमान जस्तै यो टिममा पनि भारत र पाकिस्तान मूलका खेलाडीको बाहुल्य छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved