चाँगुनारायण बालमैत्री नगरपालिका घोषणा हुने

नेपालभ्युज

चाँगुनारायण बालमैत्री नगरपालिका घोषणा हुने

काठमाडौं । चाँगुनारायण नगरपालिकालाई आगामी फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने निर्णय भएको जानकारी दिए।

उनले भने “फागुन २७ गते चाँगुनारायण नगरपालिकाको स्थापना दिवस पनि हो, त्यसदिन पालिकाले स्थापना दिवस पनि मनाउँछ, त्यसैदिन बालमैत्री स्थानीय शासन लागू गर्दै बालमैत्री नगरपालिका घोषणा पनि गर्छौं, त्यसदिन नगरपालिकाले पाँच वर्षमा गरेका कामको विवरणसहितको पुस्तक सार्वजनिक पनि गर्छौं, सरकारले जस्तै हाम्रो पालिकाले विभिन्न व्यक्तिलाई विभिन्न पदक एवं विभूषणबाट सम्मान पनि गर्नेछौँ।”

बालमैत्री स्थानीय शासन लागू गर्नका लागि चालू आव २०७८÷०८९ का लागि नगरपालिकाले रु ९८ लाखको बजेट विनियोजन गरी नौवटै वडामा बालक्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचक प्राप्तिका लागि प्रत्येक वडामा काम तीव्र पारेको छ ।

“नगरपालिकाले बालबालिकामा लगानी पहिलो प्राथमिकतामा राख्दै बालमैत्री नगरपालिका बनाउने घोषणा गरेको छ”, नगर प्रमुख मिश्रले भने, “विकास भनेको बाटो, खानेपानी, भवन निर्माण मात्रै होइन, उद्यमशीलता, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटनको विकास पनि हो, त्यसैले मान्छेको चेतनाको विकास पनि अहिलेको आवश्यकता हो।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले २०६८ बाटै नेपाल सरकारले बालमैत्री स्थानीय शासनको अवलम्बन गर्ने कार्यक्रम ल्याएको भन्दै चाँगुनारायण नगरपालिकाले सबै सूचक प्राप्तिका लागि समितिले तयारी तीव्र पारेको बताए। नगरपालिकाको यो कामलाई समुदायले साथ दिँदै भित्रैदेखि अपनत्व ग्रहण गर्नसके मात्रै दिगो र सफल हुने भन्दै उहाँले नगरपालिकाभित्रका इँटा भट्टामा रहेका बालबालिकाको समस्या सुधार गर्दै वडा र जिम्मेवारी लिएका कर्मचारीले छिटो काम सम्पन्न गर्नसकेमा तोकिएको मितिमा घोषणा गर्न सकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved