अहिले स्थानीय तहको निर्वाचन भए एमालेले ७५ प्रतिशत जित्छः आनन्द पोखरेल

पोखरेलले भने, “म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ।”

नेपालभ्युज

अहिले स्थानीय तहको निर्वाचन भए एमालेले ७५ प्रतिशत जित्छः आनन्द पोखरेल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरे।

“नेपाली काँग्रेसका नेता र गठबन्धनका नेताहरु भन्ने गर्नुहुन्छ, नेकपा एमाले बलियो छ। अहिले चुनाव गरेमा हामी हार्छौं। हामी अहिले पनि जनताको लोकप्रिय पार्टी हो। हामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्नेछौँ,” पोखरेलले भने, “म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ।”

नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाए। उनले निर्वाचन आयोगले भोलि (बिहीबार)सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिए।

नेता पोखरेलले एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल भएको र उ चुनावको पक्षमा रहेको बताए। उनले सरकारलाई कम्तिमा निर्वाचन आयोगले दिएको तिथि १४ र २२/२३ वैशाखभित्र चुनाव गराउनको लागि आह्वानसमेत गरे।

“स्थानीय सत्तालाई कमजोर बनाउने र हिजोको विगत स्थानीय सत्ताविहीन बनाउने जुन प्रकृति थियो, त्यो अभ्यास गरेका थियौँ। त्यो लोकतन्त्र र जनताको जीविकामाथि प्रश्न चिन्ह खडा गरेको छ,” पोखरेलले भने, “त्यो परिपाटीको अन्त्यको लागि पनि चुनाव अपरिहार्य छ। चुनाव तत्काल गर्न म आग्रह गर्न चाहन्छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved