अभिभावकसँग प्रहरीको अनुरोध: बालबालिकामाथि अपराध हुनबाट जोगाऔँ

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत जोडिएर अपराधका घटना हुने गरेको बताए।

नेपालभ्युज

अभिभावकसँग प्रहरीको अनुरोध: बालबालिकामाथि अपराध हुनबाट जोगाऔँ

काठमाडौं। नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै आआफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत जोडिएर अपराधका घटना हुने गरेको बताए।

मैनालीका अनुसार हालैमात्र संगम महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट एक बालिकालाई साथी बनाई जबर्जस्ती करणी भएको घटना बाहिर आएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगञ्जबाट कानूनी कारबाही थालिएको जनाइएको छ।

प्रहरीका अनुसार शुरुमा ती व्यक्तिले बालिकालाई बारम्बार भिडिओ कल गरी संवेदनशील अंग देखाउन लगाई भिडिओ कल रेकर्ड गर्नुका साथै स्कुलमा साथी तथा घर परिवारसमेतलाई उक्त भिडिओ देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धम्की दिएका थिए।

त्यसपछि, २७ पुसको राति काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बोलाई जबर्जस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानका क्रममा उनले नै यसरी नक्कली फेसबुक एकाउन्ट बनाएको खुलेपछि पक्राउ गरिएको परिसरले जनाएको छ।

प्रहरीले यसरी सामाजिक सञ्जालमा नक्कली फेसबुक एकाउन्ट खोली अपराधजन्य कार्य बढ्दो रहेकाले सचेत हुन अपिल गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved