मोदीले २१ जुनलाई योग दिवस घोषणा प्रस्ताव गर्दा नेपालले समर्थन गरेको थियो

मोदीले २१ जुनलाई योग दिवस घोषणा प्रस्ताव गर्दा नेपालले समर्थन गरेको थियो

काठमाडौं। ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए।

संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले यो दिवसप्रति समर्थन जनाए। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो। माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले १ माघलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए।

“योगको शुरुवात शिव र पार्वतीको संवादबाट शुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ”, योग दिवसका अभियानकर्मी डा पोखरेलले भने।

आयुर्वेदलाई योगसँग जोड्न २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास शुरु गरिएको थियो। ०५८ सालदेखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ। इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ।

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लागेका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बराकोटीको विश्वास छ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ। प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो।

जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएको विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेल बताउँछन्। यही शैक्षिक सत्रदेखि पढाइ शुरु गर्न खोजिएकामा कोरोनाका कारण सम्भव नभएको उनले सुनाए। स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिएपनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन्।

२०५१ सालदेखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि शुरु हुन सकेको छैन।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ। प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो। अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ।

“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थित रुपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”, डा पोखरेलले भने। योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए।

अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन शुरु भएको छ। योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् १ माघलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved