काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले न्यूरोडको सडक टाले पनि फेरि भत्काइने काठमाडौं महानगरले जनाएको छ ।
महानगरले फुटपाथ बनाउने भन्दै १२ जेठमा काटेको सडक डिभिजन कार्यालयले ९ दिनपछि टालेको थियो ।
आफ्नो योजना कार्यान्वयन भएरै छाड्ने महानगरले जनाएको छ । यसको लागि महानगरले फेरि न्युरोडको सडक भत्काउने भएको छ ।
१२ जेठमा महानगरले न्युरोडको केही मिटर सडक दायाँबायाँ भत्काएको थियो । सडक मर्मत गरी जस्ताको तस्तै बनाउन महानगरलाई चेतावनी दिँदा पनि नटेरेपछि सडक विभागले टालेको थियो ।
न्युरोड क्षेत्रमा महानगरले फुटपाथ विस्तार गर्न लागेपछि गत आइतबारदेखि उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरअन्तर्गत सार्वजनिक निर्माण विभागका अनुसार न्युरोड क्षेत्रमा पहिला सवारीसाधन पार्किङ गर्ने गरिएको भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको हो ।
वडा नं. २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले फुटपाथ विस्तार गर्न नहुने अडान लिँदै आएका थिए । तर, अरूले भने सडक फराकिलो बनाउनुपर्नेमा समर्थन जनाउँदैआएको थियो ।

यस्तो छ महानगरको योजना
महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्धसालिक र इन्द्रचोकसम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइएको थियो । यस्तै, जुद्धसालिकदेखि धर्मपथतर्फको सडक १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाइने भनिएको थियो । सोही अनुसार सडक दायाँबायाँ काटिएको थियो ।
पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर सात मिटरको बनाइने महानगरको योजना छ । योजना अनुसार यसपछि ६० प्रतिशत फुटपाथ र ४० प्रतिशत सडक हुनेछ ।
फुटपाथ विस्तारका लागि तीन करोड १९ लाख लागतमा आरोग्य साइटेक जेभीले ३ जेठमा कार्यादेश पाएको थियो । सोहीअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडकखण्डका पैदलमार्ग फराकिलो गर्ने काम सुरु भएको महानगरले बताएको छ । यी क्षेत्र महानगरको वडा नम्बर २२, २३ र २४ मा पर्छ । सोही योजना अनुसार सडक भत्काउने महानगरको तयारी छ ।
न्यूरोडको पिच जथाभावी खनिएपछि सडक डिभिजन असन्तुष्ट, प्रतिशोध साध्न बालेनले धुलो खन्याएको आरोप
स्थानीय पनि सडक डिभिजनले गरेको कामप्रति रुष्ट छन् । उनीहरूले महानगरको योजनामा साथ दिएका छन् ।
उनीहरूले पहिला पार्किङ बनेको ठाउँलाई फुटपाथ बनाउनु गलत नभएको दाबी गरेका छन् । उनीहरु भन्छन्, ‘‘सडक डिभिजनले यसरी जबरजस्ती गर्नुहुन्नथ्यो । फुटफाथ बनाउन दिनुपर्नेथियो । महानगरको काम ठीक थियो ।’’
उनीहरु सडक पेटी ठूलो बनाउने काम गलत नभएको बताउँछन् । ‘‘सडक पेटी त ठूलो हुनुपर्छ नि, हामी नै हिँड्ने त हो । पहिला यत्रो ठाउँमा गाडी राख्दा केही भएन । अब अलिकति पेटी बढाउँदा के हुन्छ ? फुटपाथ सानो भएकाले सडकबाटै हिँड्न बाध्य छौँ,’ उनीहरु भन्छन् ‘‘सानो पेटीमा रेलिङसमेत भएकाले निकै अप्ठ्यारो परेको छ ।’’
आफ्नो अधिकार क्षेत्र मिचिएको दाबी
सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो अधिकार क्षेत्रभित्रको सडकमा महानगरले स्पष्ट उद्देश्यविना काम गरेको र पुनर्स्थापना गर्न समय दिँदासमेत अटेर गरेपछि आफैँले गर्नुपरेको जनाएको छ ।
अब लागेको शुल्क महानगरसँग असुल्ने उनले बताए । सडक डिभिजन काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले भने , ‘‘हाम्रो जिम्मा रहेको सडकमा स्पष्ट उद्देश्यविना काम गरियो । उक्त सडक दुई दिनभित्र पुनर्स्थापना गर्न समय दिएका थियौँ । तर, महानगरले काम गरेन । काम नभएपछि बर्खालाई मध्यनजर गरेर मर्मत गरेका हौँ । सडक मर्मत गर्दा लागेको लागत महानगरले व्यहोर्नुपर्नेछ ।’’
सडक डिभिजनले १६ जेठमा दुई दिनको समय दिएर महानगरलाई सडक पुनर्स्थापना गर्न पत्र पठाएको थियो ।
महानगर भन्छ– फुटपाथ विस्तार रोकिँदैन
सडक डिभिजनले जुद्धसालिकदेखि इन्द्रचोकसम्मको सडक पुनर्स्थापना गरे पनि महानगरले फुटपाथ विस्तार गर्नबाट पछि नहट्ने जनाएको छ । वडा नम्बर २४ का अध्यक्ष विनोद राजभण्डारीले सडक डिभिजनले विनाजानकारी आएर सडक पिच गरेको बताए । उनले भने, ‘‘नागरिकको सुरक्षित रूपमा हिँड्न पाउने अधिकार संरक्षण गर्न खोज्दा सडक डिभिजनले भिड लगाएर सडक पिच ग¥यो । फुटपाथ विस्तार गर्ने भनेर गत वर्ष नीति तथा कार्यक्रमबाटै पारित भएको छ । यो काम अघि बढ्छ ।’’
Facebook Comment
Comment