प्रत्येक वर्ष तीन जनालाई ‘गण्डकी रत्न’ले विभूषित गर्दै गण्डकी सरकार

विभूषितलाई यस्तो छ सुविधा

नेपालभ्युज

प्रत्येक वर्ष तीन जनालाई ‘गण्डकी रत्न’ले विभूषित गर्दै गण्डकी सरकार

पोखरा। गण्डकी प्रदेश सरकारले प्रत्येक वर्ष सांसदको हैसियत बराबर हुनेगरी तीनजना ‘गण्डकी रत्न’लाई सम्मान गर्ने भएको छ। त्यसका लागि सरकारले कार्यविधि २०७८ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। चालु आर्थिक वर्ष २०७८/०७९ मा यस कार्यक्रमकै लागि भनेर २५ लाख रुपैयाँ बजेट पनि छुट्याइएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै बुधबार सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले सम्मानित हुने तीन जनाले ‘गण्डकी रत्न’ पदक पनि पाउने बताए। यसको लागि गण्डकी प्रदेश भित्र बसेर योगदान पुर्‍याउने प्रदेशकै तीन जना व्यक्ति विभूषित हुनेछन्।

सामाजिक, आर्थिक कार्यबाट सामाजिक सद्भाव, रोजगारी, प्रविधिको विकास, संस्कृति, कला संरक्षणलगायत समाजलाई सकारात्मक प्रभाव पार्ने खालको अनुकरणीय कार्य गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासनलगायत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सरकारले सम्मान गर्ने प्रवक्ता खड्काले जानकारी दिए।

सरकारले यो सम्मान प्रदान गर्न प्रदेश सरकारका वरिष्ठतम् मन्त्रीको अध्यक्षतामा अर्थमन्त्री, आन्तरिक मामिला मन्त्री, प्रमुख सचिव सदस्य रहने समिति बनाएको छ।

विभूषितलाई के छ त सुविधा ?

मन्त्री खड्काका अनुसार विभूषित व्यक्तिलाई सार्वजनिक कार्यक्रममा प्रदेश सभाका सदस्य सरहको मर्यादाक्रम हुनेछ। यसबाहेक प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार, विमानस्थलको भीआईपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै उनीहरूको जिम्मा लिनेछ।

“उनीहरूलाई सम्मानस्वरूप सुनजडित चाँदीको तक्मा दिइने छ। उहाँहरूको नाम अगाडि गण्डकी रत्न लेखिएको हुनेछ र यसबाहेक परिचत्रपत्र पनि दिइनेछ,” खड्काले भने।

यसबाहेक मन्त्रिपरिषद्ले रोजगार सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ लाई पनि स्वीकृत गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सबै भौतिक सम्पत्ति र जनशक्ति अहिले प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हस्तान्तरण भएपछि प्रदेश सरकारमातहत रहनेगरी रोजगार सूचना केन्द्र स्थापना हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved