निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी छः मन्त्री भुसाल

विद्युत खपतलाई वृद्धि गर्नाका लागि सरकारले विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारिन्। उनले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई आव्हान गरिरहेको बताइन्।

नेपालभ्युज

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी छः मन्त्री भुसाल
फाइल तस्वीर

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छन्।

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताइन्।

सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि मन्त्री भुसालले बताइन्। निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताइन्।

“हालै सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत व्यापारको अनुमति प्रदान गरेको छ। करीब दुई हप्ता अगाडिको क्याबिनेटबाट हामीले यो निर्णय गरेका छौँ,” भुसालले भनिन्, “मन्त्रालय अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युत व्यापारका लागि अनुमति दिने तयारीमा छ।”

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैगेको बताइन्। देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उनको जोड छ। देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पुर्‍याउनुपर्ने उनले बताइन्।

“हामीले चाहेको समृद्धिका लागि विद्युत उत्पादन र खपत वृद्धि गर्दै लैजानु पर्दछ। हाम्रो देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेको छ। यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पुर्‍याउनुपर्नेछ। यसका लागि हाम्रो आन्तरिक विद्युत खपत करीब ५ हजार मेघावाट पुर्‍याउनु पर्दछ,” उनले भनिन्, “हाल हाम्रो पिक आवरको विद्युत माग करीब एक हजार ६५० मेघावाट रहेको छ। सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजाने हो।”

विद्युत खपतलाई वृद्धि गर्नाका लागि सरकारले विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारिन्। उनले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई आव्हान गरिरहेको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved