प्रदेश २ मा थपिए २ लाख १३ हजार मतदाता

स्थानीय तहको निर्वाचन नजकिँदै गएपछि स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताले पनि गाउँ–गाउँबाट मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सर्वसाधारणलाई पठाउने र लिएर आउने गरेकाले चाप बढेको हो।

प्रदेश २ मा थपिए २ लाख १३ हजार मतदाता

जनकपुरधाम। निर्वाचन आयोगले पछिल्लो पटक शुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानको क्रममा धनुषामा ३८ हजार ३ सय ४४ सहित प्रदेश २ मा दुई लाख १३ हजार नयाँ मतदाता थपिएका छन्।

प्रदेश निर्वाचन कार्यालयले जनाएअनुसार १७ मंसीरदेखि १८ पुससम्म निर्वाचनलाई लक्षित गरेर सञ्चालित मतदाता नामावली संकलन अभियानको क्रममा प्रदेश २ का ८ जिल्लामा सो संख्यामा मतदाताहरू थपिएका हुन्।

प्रदेश निर्वाचन कार्यालय जनकपुरका सूचना अधिकारी कृष्ण राउतले नियमित रूपमा कार्यालय नखुल्दै गेटमा ठूलो संख्यामा सर्वसाधारणको भीड देखिने गरेको बताए। उनले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहँदा धनुषामा गाउँ-गाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको बताए।

प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाकाअनुसार अहिले पनि दैनिक ७ सय जनासम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउने गरेका छन्। स्थानीय तहको निर्वाचन नजकिँदै गएपछि स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताले पनि गाउँ–गाउँबाट मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सर्वसाधारणलाई पठाउने र लिएर आउने गरेकाले चाप बढेको जानकारी उनले दिइन्।

मतदाता नामावलीमा नाम दर्ता नभए वैशाखमा हुने भनिएको स्थानीयतहको निर्वाचनमा मत खसाल्न नपाइने र आफ्नो पक्षको मतदाता घट्नसक्ने भएकाले जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले फोटोसहितको नामावलीबारे सर्वसाधारणलाई जानकारी गराइरहेको उनले बताइन्।

प्रमुख झाले २०७४ सालको निर्वाचनपछि लामो समयसम्म स्थानीय तहमा मतदाता नामावली संकलन अभियान सञ्चालन गर्न नसकेको, कोभिड-१९ संक्रमणको त्रास, विदेशबाट युवाहरू फर्किने क्रम बढेको लगायत कारणले मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको संख्या बढेको बताइन्।

उनले पुस १८ गते सम्म धनुषामा कूल चार लाख ६३ हजार ३९७ मतदाता पुगेको जानकारी दिइन्। यसअघि धनुषामा चार लाख २५ हजार ५३ मतदाता रहेको थियो। गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म दुइ चरणमा धनुषाका १६ ओटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको प्रमुख झाले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved