विद्युत् प्राधिकरणका कर्मचारी विदेश जाँदा नेपाल एयरलाइन्सबाटै जानुपर्ने

सामान ढुवानी पनि निगमकै जहाजबाट

नेपालभ्युज

विद्युत् प्राधिकरणका कर्मचारी विदेश जाँदा नेपाल एयरलाइन्सबाटै जानुपर्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत ढुवानी गर्ने सम्झौता भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।

सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ।

कार्यक्रममा मन्त्री प्रेम आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंशनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे। उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू तथा निजी क्षेत्रका उद्योग र व्यापारीलाई पनि आग्रह गरे।

मन्त्री आलेले भने, “हामीले प्राधिकरण मात्रै नभएर प्राइभेट सेक्टरमा रहेका व्यापारी, उद्योगीहरूको सरसामान ओहोरदोहोर गर्दा पनि हामीले नै पाउनेछौं। यो एउटा प्रशंशनीय काम भएको छ। यसका निमित्त आदरणीय कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्षज्यूलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण उच्च पदस्थ कर्मचारीहरूलाई निगमकै जहाज प्रयोग गरिदिन हुन अनुरोध गर्न चाहन्छु।”

कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्विकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved