पाकेको भात छाडेर मतदाता परिचयपत्र बनाउन घण्टौं लाइनमा

पाकेको भात छाडेर मतदाता परिचयपत्र बनाउन घण्टौं लाइनमा

काठमाडौं। अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिबाट उत्तरतर्फ करिब २०० मिटर माथिसम्म मानिसहरू अव्यवस्थित रूपमा लाइनबद्ध देखिए। मतादाता परिचय पत्र दर्ता गराउनेहरूको लाइनमा कोही कलेज ड्रेसमा थिए त कोही साना बच्चा चेपेर उभिएका थिए। अशक्तहरू लौराको सहारामा उभिएका छन्।

सबै जना मतादाता परिचय-पत्र बनाउन बिहानदेखि कामै छाडेर लामबद्ध थिए।

आयोगको गेट नजिकैको लाइनमा उभिएका थिए पोखराका ५७ वर्षीय रुद्र बहादुर बस्नेत। भन्छन्, “देशका लागि यत्ति त गर्नै पर्‍यो, भोट हाल्न पाउने हाम्रो अधिकार हो, कार्ड बनाउन केही सकस भए पनि उठाउनुपर्छ।” बिहानैदेखि आएका उनले पाकेको खानासमेत छाडेर लाइनमा बसेको बताए।

रुद्रजस्तै परिचय पत्र लिने लाइनमा कलेज ड्रेसमै थिइन् सर्लाहीकी २० वर्षीया आश्रृति कोइराला। “मतदाता नामावली बनाउन फोटो खिचेर कलेज जान्छु भन्या सपना भयो”, उनले भनिन्, “बिहान कलेज जान्छु भनेर ८ बजे नै आएको २ बजिसक्यो अझै पालो आएको छैन, भोट हाल्न पाउँछु भन्नेमा खुशी छ तर पढाइ छुटेकोमा नराम्रो लागिरहेको छ।”

ओखलढुगांकी ४० वर्षीय गुम्बा तामाङ पनि उही लाइनमा थिए। भन्छन्, “राम्रो नेतृत्व गर्ने मान्छेलाई जिताउन भोट हाल्नुपर्छ, यो हाम्रो अधिकार र जिम्मेवारी हो यसको प्रयोग गर्नुपर्छ।”

रामेछापकी ५० वर्षीय रमेश परियार पनि अघिल्लो चुनाव हुनुअघि कार्ड हराएर फेरि बनाउन आएका थिए। बिहान ७ बजेदेखि लाइन बसेका बताउने उनी भन्छन्, “गाउँका नेताले दुःखसुख पर्दा केही गरौंला भन्ने आश्वासन पाएर बिहानदेखि लाइन लागेको छु।”

सिन्धुलीका ३२ वर्षीय कुमार बराइली भने हातमा फारम लिएर अलमलमा थिए। “१२ बजेतिर आइपुगेको फारम त पाएँ पालो आउँलाजस्तो छैन”, भन्छन, “कार्ड बनाउने म्याद अझै बाँकी छ रे, अब भोलि आएर बनाउनु पर्ला।”

काभ्रेका ३२ वर्षीया अनिता थापाले दाइको सल्लाहमा कार्ड बनाउन आएको बताइन्। “भोट हाल्न पाउने आफ्नो अधिकार पनि हो, घरबाट पनि बनाउन भनेपछि आयोग आएँ,” उनले भनिन्।

सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी २० वर्षीय सुनिता पौडेल पनि हातमा पुस्तक बोकेर लाइनमा थिइन्। कलेजबाट सीधै यता आएकी उनले भोट हाल्ने अधिकार भएकाले दुरुपयोग हुन नदिन कार्ड बनाउन आएको बताइन्।

आयोग अगाडि केही दिनयता मतदाता परिचय पत्र दर्ता गराउनेको भीड लागिरहेको छ। जिल्ला निर्वाचन आयोगमा दैनिक ९ सयको हाराहारीमा मतदाता नामावली दर्ता भइरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार गत साता बिहीबार ८ सय बढी, शुक्रबार ९ सय बढीको मतादाता परिचय पत्र दर्ता भएको छ। निर्वाचन घोषणा नभएसम्म मतादाता परिचय पत्र दर्ता गर्न सकिने आयोगले जनाएको छ।

तस्वीरहरू : भागिरथी पण्डित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved