महानगरको दररेट र बजार भाउ नमिल्दा ढिला भयो देवघर पुनर्निर्माण

मठ मन्दिर पुनर्निर्माण गर्दा काठ, धातु र ढुङ्गामा कुँदिने कलाका लागि महानगरको दर रेट र बजारको भाउ नमिलेर समयमा काम हुन नसकेको देवी नाच देवघरका गुठीयार महर्जनले गुनासो पोखे।

नेपालभ्युज

महानगरको दररेट र बजार भाउ नमिल्दा ढिला भयो देवघर पुनर्निर्माण

काठमाडौं। काठमाडौं महानगरपालिकाको दररेट र बजार भाउ नमिलेपछि काठमाडौंको चर्चित दि प्याखं (देवी नाच)को देवघर पुनर्निर्माण ढिला भएको छ।

भुकम्पले उक्त देवघर भत्काएपछि गतवर्षदेखि देवघरको पुनर्निर्माण शुरु भएको थियो। तर एक वर्षमा सोचेजति काम हुन नसकेको देवी नाच देवघरका गुठीयार नरेन्द्र महर्जनले सुनाए।

मठ मन्दिर पुनर्निर्माण गर्दा काठ, धातु र ढुङ्गामा कुँदिने कलाका लागि महानगरको दर रेट र बजारको भाउ नमिलेर समयमा काम हुन नसकेको देवी नाच देवघरका गुठीयार महर्जनले गुनासो पोखे।

“कुमारीको प्रतीकका रुपमा राखिने मयुर झ्याल कुँद्न महानगरको दररेटअनुसार २० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाइँदैन”, उनले भने, “बजारमा ८० हजार रुपैयाँभन्दा कममा काम गर्ने कालिगढ पाइँदैन। यस्ता कारण समस्या परेको छ।”

समस्या सुनिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले उपभोक्तासँग महानगरले गर्ने कामको बजेट सीमा कम भएकोले यस्ता प्राविधिक समस्या परेको बताए।

“कलाकारितासँग जोडिएका काम व्यवसायिक भन्दा फरक प्रकृतिका हुन्छन्। यसमा लाग्ने खर्च धेरै हुन सक्छ। यस्ता खर्चलाई प्राविधिक रुपमा पुष्टि गर्नुपर्ने हुन्छ”, उनले भने, “सम्पदा पुनर्निर्माण गर्न रकमको होइन, यस्ता केही कानूनी र विधिगत समस्या छन्। प्रक्रियाले मिल्ने भए एकैपटक ६ करोड रूपैयाँ उपलब्ध गराउन महानगरलाई समस्या छैन। तर, विधिगत कारणले सबै रकम एकैपटक दिन सकिने अवस्था छैन।”

७ तले भवन निर्माणका लागि ६ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ। महानगरले यसका लागि गएको वर्ष एक करोड रूपैयाँ र चालु आर्थिक वर्षका लागि एक करोड रूपैयाँ छुट्याएको छ।

जसमध्ये २ किस्ताबाट एक करोड २८ लाख ५८ हजार रूपैयाँ प्राप्त भइसकेको निर्माण समितिका कोषाध्यक्ष राजा महर्जनले बताए। उनका अनुसार थप २५ लाख रूपैयाँ अर्को किस्तामा निकासा हुने चरणमा छ।

यसैबीच, दि प्याखं (देवी नाच)को देवघर ‘द्यः छेँ’ (देवघर)को मूल ढोकाको पूजा (खरु पूजा) गरिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार महानगरपालिका– १८ बिज्यापुननी, किलागलमा रहेको देवघरको मूल ढोकाको पूजा गरेका हुन्।

दैत्यमाथि कुमारीले विजय पाएको पौराणिक कथालाई नृत्यको माध्यमबाट देखाइने नाच हो दी प्यांख(देवी नाच)। यसमा सात जना पात्र हुन्छन्– कुमारी, भैरव, चण्डी, दैत्य, कवं(कंकाल), बेताः(बेताल) र ख्याः(ख्याक)।

देवी नाच येयाँ पुन्ही (इन्द्रजात्रा)को एउटा मुख्य अंग पनि हो। नाचको तयारी गर्ने घरलाई द्यः छेँ’ (देवघर) भनिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved