मूर्ति चोरी रोक्न भक्तपुर नगरपालिकाले मन्त्रालयलाई बुझायो ११ बुँदे सुझाव

छलफलका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले सांस्कृतिक सम्पदाहरूमा राज्यले उचित ध्यान दिन नसक्दा चोरी निकासी बढेको आरोप लगाए।

नेपालभ्युज

मूर्ति चोरी रोक्न भक्तपुर नगरपालिकाले मन्त्रालयलाई बुझायो ११ बुँदे सुझाव

भक्तपुर। काठमाडौं उपत्यकामा मूर्ति चोरी रोक्न विभिन्न स्थानमा रहेका प्रस्तर मूर्तिहरुको विवरण सम्बन्धित सबै स्थानीय तह र संघसंस्थालाई उपलब्ध गराउनुपर्ने भन्दै भक्तपुर नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ बुँदे सुझावपत्र बुझाएको छ।

लैनसिंह वाङ्देलको ‘इन्भेन्टरी अफ स्टोन स्कल्पचर्स अफ द काठमाडौं भ्याली’ पुस्तकमा रहेका मूर्तिहरुको आधिकारिक प्रमाण जुटाएर तीमध्ये चोरी भएका मूर्तिहरु नेपाल फर्काउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सुझाव सहितको पत्र हस्तान्तरण गरेका हुन्।

युनेस्कोबाट सन् १९७० मा पारित सांस्कृतिक वस्तुहरूको अवैध रुपमा आयात निर्यात र व्यापारसम्बन्धी महासन्धी अनुसार नेपालबाट चोरी भएका सम्पदा फर्काउन सकिने भन्दै बुधबार मन्त्रालयमा भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका, गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, पुरातत्व विभाग, स्थानीय तहका प्रमुख, भन्सार विभाग, प्रहरी प्रशासन, राष्ट्रिय कला संग्रहालयका प्रमुख तथा प्रतिनिधिबीच छलफल भएको थियो।

छलफलका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले सांस्कृतिक सम्पदाहरूमा राज्यले उचित ध्यान दिन नसक्दा चोरी निकासी बढेको आरोप लगाए।

“सांस्कृतिक सम्पदा संरक्षणको लागि भक्तपुर नगरपालिकाले विसं २०५८ देखि २०६१ सम्म सांस्कृतिक सुरक्षाकर्मी परिचालन गरेको थियो”, उनले भने, “माओवादी सशस्त्र द्वन्द चर्किएपछि सुरक्षा निकायको आग्रहमा स्थगित गरिएको थियो।”

भक्तपुर नगरपालिका ७ बाट हराएको वीरभद्रेश्वर महादेव मन्दिरको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालय संग्रहालयमा रहेको र भक्तपुर नगरपालिका ३ नासमनाबाट हराएको उमामहेश्वरको मूर्ति फ्रान्सको राजधानी पेरिसको एशियाली कला सम्बन्धी राष्ट्रिय संग्रहालय (गिमे म्युजियम)मा रहेको समेत प्रजापतिले सुनाए।

प्रजापतिले भने, “ती मूर्ति फिर्ता ल्याउन परराष्ट्र मन्त्रालय, पुरातत्व विभागलगायत सरोकारवाला संघ संस्थाले पहल गर्नुप¥यो।”

छलफलमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सम्पदा क्षेत्रमा हुने चोरी–पैठारी रोक्न ती क्षेत्रमा सुरक्षासम्बन्धी सूचना–प्रविधिको उचित व्यवस्थापन हुनुपर्ने बताए।

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाएर नेपाल फर्काउन विभिन्न समस्या समाधानको लागि स्थानीय तहबाट आवश्यक समन्वय गर्नुपर्ने र हराएका वा चोरी भएका सम्पदाहरू फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्ने बताए।

भक्तपुर नगरपालिकाको पत्रमा उल्लिखित ११ बुँदे सुझावहरु:
१. लैनसिंह वाङ्देलको ‘इन्भेन्टरी अफ स्टोन स्कल्पचर्स अफ द काठमाडौं भ्याली’ पुस्तकमा उल्लेख भएका काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका प्रस्तर मूर्तिहरुको विवरण सम्बन्धित सबै स्थानीय तहहरुलाई उपलब्ध गराइ सो को सुरक्षा व्यवस्थाको लागि सम्बन्धित सरोकारवाला सबै संघ संस्थाहरुलाई सचेत पार्नुपर्ने,
२. उक्त पुस्तकमा उल्लेख नभएका र स्थानीय तहमा रहेका अन्य मूर्ति सम्पदाहरुको विवरण स्थानीय तहबाट मागी सांस्कृतिक सम्पदाहरुको विवरण अध्यावधिक गर्नुपर्ने,
३. प्रस्तर मूर्तिबाहेक धातुकला, टेराकोटा कला, चित्रकला, काष्ठकलाका छरिएर रहेका विभिन्न्न कलाकृतिहरुको विवरण संकलन अभिलेख बनाएर सोको संरक्षणको कार्यनीति तयार गर्नुपर्ने,
४. लैनसिंह वाङ्देलकै अर्को पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख भएका विभिन्न हराएका मूर्तिहरुको विषयमा सम्बन्धित स्थानीय तहहरुलाई उक्त मूर्तिहरु संसारको कुन कुन देशमा कहा कहाँ राखिएको छ जानकारी गराई यथास्थानमा पुनस्थापित गर्न पहल गर्नुपर्ने,
५. उक्त पुस्तकमा उल्लेख भएका बाहेक विभिन्न स्थानीय तहबाट विभिन्न कालखण्डमा चोरी निकासी भएका प्रस्तरकला, धातुकला, काष्ठकला, चित्रकला, थ्यासफू, ताम्रपत्रलगायतका पुरातात्विक सम्पदाहरुको विवरण तयार गर्नुपर्ने,
६. माथि उल्लेखित चोरी निकासी भएका सम्पदाहरु संसारको कुनकुन देशमा कहाँ कहाँ राखिएको छ सूचना प्राप्त गरी सो विवरण स्थानीय तहलाई समेत उपलब्ध गराई सम्पदाहरु फिर्ता गरी यथास्थानमा पुनःस्थापनाको लागि पहल गर्नुपर्ने,
७. देशकै धरोहरको रुपमा रहेका यस्ता बहुमुल्य ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरु संरक्षणको लागि कडा कानूनको व्यवस्था गरी चोरी निकासी गर्ने तस्करहरुलाई हदैसम्मको दण्ड सजाएको व्यवस्था गर्नुपर्ने,
८. नेपालको प्रचलित कानूनमा व्यवस्था भएजस्तै चोरी गरेका सामग्री बिक्री गर्ने र खरीद गर्ने दुवै पक्षलाई कानूनी कारबाहीको व्यवस्था गर्न युनेस्कोमार्फत अन्र्तराष्ट्रिय कानून निर्माणको लागि पहल गर्नुपर्ने,
९. विभिन्न स्थानीय तहबाट हराइएका सम्पदाहरु नेपाल फिर्ता ल्याउन सन् १९७० को युनेस्कोको महासन्धी अनुसार नेपालकै हो भनी प्रमाणित गराउन युनेस्कोलाई लैनसिंह वाङ्देलले लेखेका ‘इन्भेन्टरी अफ स्टोन स्कल्पचर्स अफ द काठमाडौं भ्याली’ र ‘स्टोलन इमेजेज अफ नेपाल’ लाई मान्यता दिलाउन आवश्यक पहल गर्नुपर्ने,
१०. माथि उल्लेखित पुस्तकका विवरणलाई प्रमाणीकरण पश्चात् संसारका विभिन्न संग्रहालय, विश्वविद्यालय र व्यक्तिगत संग्रहमा रहेका नेपालका चोरिएका र हराएका सम्पदाहरु नेपाल फिर्ता गरी तत्काल पुनःस्थापित गर्न सम्बन्धित मन्त्रालय, विभाग, कार्यालय र संघसंस्थाहरु जिम्मेवार बनाएर क्रियाशील बनाउनु पर्ने र
११. विभिन्न समयमा पत्र पत्रिकामा निस्किएका समाचारको आधारमा यस नगरक्षेत्रबाट हराएका विभिन्न देशको संग्रहालय र विश्वविद्यालयमा राखिएका पुरातात्विक सम्पदाहरुमध्ये भक्तपुर नगरपालिका ७ स्थित वीरभद्रेश्वर महादेव मन्दिरको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालय संग्रहालयबाट फर्काउन र भक्तपुर नगरपालिका ३ नासमनाबाट हराएको उमामहेश्वरको मूर्ति फ्रान्सको राजधानी पेरिसको एशियाली कला सम्बन्धी राष्ट्रिय संग्रहालय (गिमे म्युजियम)बाट फिर्ता ल्याउन परराष्ट्र मन्त्रालय, पुरातत्व विभागलगायत सरोकारवाला संघ संस्थाहरुमा पत्राचार गरेकोमा हालसम्म उक्त मूर्तिहरु फिर्ता नभएकोले थप पहलको आवश्यकता।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved