ओमिक्रोन त्रासका बीच सीमानाकामा निर्वाद ओहोरदोहोर

चेकजाँचको लागि थर्मल गर्न पनि छैन

सीमानाकाबाट सामान्य चेकजाँचबिना नै मानिस सीमा वारपार गरिरहेका छन्। तर, स्थलमार्ग हुँदै सबैभन्दा दोस्रो बढी पर्यटक भित्रने नाका रुपन्देहीको बेलहियामा स्वास्थ्य मापदण्ड पालना भएको पाइँदैन।

नेपालभ्युज

ओमिक्रोन त्रासका बीच सीमानाकामा निर्वाद ओहोरदोहोर

भैरहवा। भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण दिनदिनै बढिरहँदा नेपालमा पनि सर्ने जोखिम बढेको छ। खुला सीमालाई व्यवस्थित नगर्दा नेपालमा पनि जोखिम बढेको हो।

अहिले सीमानाकाबाट सामान्य चेकजाँचबिना नै मानिस सीमा वारपार गरिरहेका छन्। तर, स्थलमार्ग हुँदै सबैभन्दा दोस्रो बढी पर्यटक भित्रने नाका रुपन्देहीको बेलहियामा स्वास्थ्य मापदण्ड पालना भएको पाइँदैन।

रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरू संक्रमणको जोखिमको बेला स्थलमार्ग हुँदै घर फर्किरहेका छन्।

किनमेल गर्न जाने आउनेको समेत भीड छ। यसअघि कोरोना संक्रमणको दोस्रो लहरमा सीमा नाकामा भएको लापरवाहीकै कारण सुदूरपश्चिममा व्यापक रूपमा कोरोना फैलिएको थियो। सुदूरपश्चिमसँगै भारतसँग सीमा जोडिएका अन्य नाकामा विगतबाट शिक्षा लिएको देखिँदैन।

कोरोना संक्रमणको दोस्रो लहरका बेला सीमा नाकाहरू बन्द गरिएको थियो। तर, अहिले न्यूनतम सावधानीसमेत अपनाइएको छैन।

अहिले नाकामा तापक्रम नाप्ने थर्मल गनसमेत छैन। आर्थिक गतिविधिलाई शुचारु गर्न सीमा नाका खुला राखे पनि सावधानी अपनाउनुपर्ने स्थानीय समाजसेवी प्रख्यात बन्जाडे बताउँछन्।

‘‘कोरोना भाइरस संक्रमणको जोखिम उच्च छ। भारतमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ बढ्दै छ। तर, बेलहिया नाकामा भने चेकजाँचबिना नै ओहोरदोहार गराइएको छ,’’ उनी भन्छन्, ‘‘यो चरम लापरवाहीले संक्रमण नेपालमा झन् फैलाउँछ। उच्च जोखिमको बेला विकल्पहरूको व्यवस्था गर्नेतर्फ बेलैमा सोच्नु पर्छ। पहिलो र दोस्रो लहरमा पनि कोरोना संक्रमित मानिसहरू भारतबाट नेपाल छिरेका थिए। अहिले पनि नेपालले पर्याप्त परीक्षण, क्वारेन्टाइन र आइसोलेसन गर्न नसके यहाँ पनि ‘आउट ब्रेक’ हुन्छ।’’

गृह मन्त्रालयले नाका खुला गर्ने क्रममा सबै नाकाबाट आवागमनको जनस्वास्थ्य अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिए पनि पालना भएको देखिँदैन। तर, दैनिक हजारौँले ओहोरदोहोर गरिरहँदा पनि जनस्वास्थ्य अभिलेख राखिएको छैन।

नेपाल-भारतको सीमा गेटैमा हेल्थ डेस्क छ। सशस्त्र प्रहरी र नेपाल रेडक्रसले हेल्थ डेस्क राखेका छन्। एन्टिजेन परीक्षणको लागि पनि ल्याब राखिएको छ। तर, त्यहाँ परीक्षणबिनै मानिसहरु ओहोरदोहोर गरिरहेका भेटिन्छन्। जसले गर्दा भविष्यमा ओमिक्रोन संक्रमण बढ्ने जोखिम रहेको सरोकारवालाहरु बताउँछन् ।

‘‘आवातजावतलाई व्यवस्थित बनाउनुपर्छ। को को आयो, को को गयो ? सबै नाम, फोन नम्बर राख्नुपर्छ। स्वास्थ्य मापदण्डको पालना गर्ने, सीमामा एन्टिजेन परीक्षण गर्ने कामहरू द्रुत ढंगमा अघि बढाउनुपर्छ’’, स्थानीय भन्छन्।

आमिक्रोनबाट सावधानी अपनाउनको लागि सीमा व्यवस्थापनमा भने अहिलेसम्म केही तयारी नभएको सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारी स्वीकार गर्छन् । उनी भन्छन्,  ‘‘भारतमा कोरोना संक्रमण बढेको भन्ने सुनिएको छ। तर रोकथाम र नियन्त्रणका लागि के कसो गर्ने अहिलेसम्म कसैसँग समन्वय गरिएको छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved