बयलबासमा हिंसात्मक प्रदर्शन जारी : मेयरलाई घाइते बनाएपछि २४ घण्टे कर्फ्यु

बाहिर निस्कनसमेत नपाइने, प्रहरीको गोली लागेर दुई घाइते

नेपालभ्युज

बयलबासमा हिंसात्मक प्रदर्शन जारी : मेयरलाई घाइते बनाएपछि २४ घण्टे कर्फ्यु

काठमाडौं। गस्तीमा प्रहरीको भ्यानले स्थानीय व्यापारीको मृत्यु भएपछि सर्लाहीको ईश्वर नगरपालिका बजार क्षेत्र तनावग्रस्त बन्दै गएको छ।

गएको आइतबार ९ बजेतिर इलाका प्रहरी कार्यालयको गस्तीमा रहेको भ्यानले ठक्कर दिँदा स्थानीय फेन्सी पसल चलाउँदै आएका व्यापारी नगरपालिका-५ का रामकुमार महतोको मृत्यु भएको थियो।

महतोको मृत्युपछि आक्रोशित बनेका बजार क्षेत्रका स्थानीय तथा व्यपारीहरूको प्रदर्शन हिंसात्मक बन्दै गइरहेको छ। यस क्रममा उनीहरूले ईश्वरपुर नगरपालिका मेयर मनोज देवकोटामाथि पनि सांघातिक आक्रमण गरेका छन्। मेयर देवकोटाको घाँटीमा चोट लागेको बुझिएको छ। घाइते मेयरको महोत्तरीस्थित बर्दिबासमा उपचार भइरहेको नगरपालिका एक कर्मचारीले बताए।

यता प्रहरीले भीड नियन्त्रण गर्न रबरको गोली चलाएको छ। गोली लागेर २ जना प्रदर्शनकारी घाइते भएका छन्। आक्रोशित प्रदर्शनकारीहरूको भीड नियन्त्रण हुन नसेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले २४ घण्टे कर्फ्यु जारी गरेको छ।

आज दिउँसो तीन बजेदेखि लागू हुने गरी प्रशासनले कर्फ्यु जारी गरेको सूचना निकालेको छ। यस समयमा कुनै पनि किसिमको भेला गर्न र हुलहुज्जत गर्न नपाइने सूचनामा जनाइएको छ। बाहिर हिँडडुल गर्नसमेत सूचनामार्फत रोक लगाइएको छ।

हिजो आक्रोशित प्रदर्शनकारीले ईश्वरपुर नगरपालिकामा पार्किङ गरी राखिएको प्रहरी भ्यानसमेत जलाइदिएका थिए।

महतोको प्रशासनबाटै हत्या भएको भन्दै स्थानीयले दुर्घटनामा संलग्न प्रहरीहरूलाई कारबाही गर्नुपर्ने माग गरेका थिए। स्थानीय तथा मृतकका आफन्तले भ्यान चलाउने प्रहरी ड्राइभरलाई जागिरबाट बर्खास्त गर्नुपर्ने माग राख्दै इलाका प्रहरी कार्यालयमा भएका सबै प्रहरीहरूको सरुवा माग गरिरहेका छन्। साथै मृतकका आफन्तले उचित क्षतिपूर्ति माग राख्दै बजार बन्द गराइरहेका छन्।

यस क्रममा उनीहरूल‍े इलाका प्रहरी कार्यालय ईश्वरपुर चौकी तोडफोडसमेत गरेका थिए। तोडफोडबाट प्रहरी कार्यालयमा जडान गरिएका सीसी क्यामेरासमेत फुटेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved