कांग्रेसको मतगणनास्थलमा विवाद, सुरक्षा व्यवस्था कडा पारियो

नेपालभ्युज

कांग्रेसको मतगणनास्थलमा विवाद, सुरक्षा व्यवस्था कडा पारियो

जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा धाँधली भएको भन्दै विवाद देखिएको छ।  संस्थापन इतर समुहले पुनः मत गणना गर्नुपर्ने माग गरिरहेका छन्।

शुरुमा प्रदेश महामन्त्री पदमा अगाडि देखिएका संस्थापन इतर समुहका उम्मेदवार नरेश यादव अन्तिम परिणाम आउँदा पराजित भएपछि विवाद शुरु भएको हो।

निर्वाचन समितिले बदमासी गरेको भन्दै नेता कार्यकर्ताहरू मतगणना स्थल पुगेर होहल्ला गर्न थालेका छन्। निर्वाचन समितिले संस्थापन समूहका वृहष्पति कृष्ण श्रेष्ठलाई विजयी घोषणा गरेको छ।

तर, इतर समूहका नरेश यादवले षड्यन्त्र गरेर श्रेष्ठलाई विजेता घोषणा गरिएको आरोप लगाएका छन्। उनले मत परिणाम कुनै हालतमा स्वीकार नगर्ने प्रतिक्रिया दिएका छन्।

अहिले मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। औपचारिक घोषणा हुन बाँकी रहेपनि प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादवको जीत सुनिश्चित भइसकेको छ।

त्यस्तै, प्रदेश सहमहामन्‍त्री खुल्लातर्फ दुई सिटका लागि भएको मतदानमा जयनारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन्। सहमहामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव विजयी भएकी छिन्।

मतगणनास्थलमा देखिएको विवाद साम्य भएपछिमात्रै अन्तिम मतपरिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved