डा. भट्टराई भन्छन् : एमालेलाई अब दण्डित गर्न मात्र बाँकी छ

नेपालभ्युज

काठमाडौं। सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद् अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसद अवरुद्ध गरिरहेको एमालेले अब पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दाबीसमेत गरे।

महिनौंसम्म संसद् अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको अध्यक्ष भट्टराईले तर्कसमेत गरे। गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाणनै संसद अवरुद्ध गरिरहनु रहेको उनको भनाइ थियो।

अध्यक्ष भट्टराईले संसदमा असहमती राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यही भित्र तर्क/वितर्क गर्ने रहेको बताए। भने, “लोकतन्त्रको मर्मविपरीत, संविधानविपरीत त हुँदै हो। उहाँहरूले स्विकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष। यसैलाई त उहाँहरूले जनताको बहुदलीय जनवाद भनेर स्विकार गर्नुभएको छ। त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो। बैठकनै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो।”

संविधानलाई असफल पार्ने काम एमालेले गरेको र केपी शर्मा ओली गत पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा भएका उनले आरोप लगाए। “अहिले पनि त्यसैमा हुनुहुन्छ। सरकारले अग्रसरता लिने भनेको त उहाँहरूलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ। त्यसलाई दण्डित गर्न मात्रै बाँकी छ। जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाइ थियो,” डा. भट्टराईले भने।

अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए।

संसदको आजको बैठकमा पनि एमालेले नाराबाजी गरेको थियो। आफ्ना माग पूरा नगरेसम्म संसदमा अवरोध जारी राख्ने बताएको एमालेको अवरोधबीच आज चार ओटा अध्यादेश पारित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved