‘भिजिट भिसाको आवरणमा युवा तस्करी बढ्यो’

यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका सरोकारवालाहरूले भिजिट भिसामा वैदेशिक रोजगारीका लागि नजान आग्रह गरेका छन्।

नेपालभ्युज

‘भिजिट भिसाको आवरणमा युवा तस्करी बढ्यो’

काठमाडौं।  वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो आग्रह गरेका हुन्।

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो छ। यसकारण विभिन्न मुलुकमा पुगेर युवाहरू अलपत्र पर्ने गरेका छन्। त्यसैले यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका सरोकारवालाहरूले भिजिट भिसामा वैदेशिक रोजगारीका लागि नजान आग्रह गरेका छन्।

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको बताए। यसरी जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट बञ्चित हुने बताए।
त्यसैले, भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने उनको भनाइ छ। साथै, दुःख पाउँदा परिवारबाट पैसा मगाएर फर्किनुपर्ने बाध्यता रहेको उनले औंल्याए।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यक रहेको बताए। उनकाअनुसार भिजिट भिसामा जाने मानिस भनेको घुम्न जाने भएकाले कामदारहरूले उक्त कार्य बुझ्नु पर्दछ।

कामदारको मात्रै नभएर सरकारको कममजोरीले पनि भिजिट भिसामा जाने श्रमिक बढ्दो रहेको बताए। ‘‘नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ। कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जाने चाहन्छन्,’’ उनले भने, ‘‘कामदारलाई छिटो र सहज ढङ्ग खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ।’’

श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको बताए। भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धीत सरोकारवालाहरू जानकार भए पनि कडाइ गर्न नसकिएको उनको भनाइ छ। ‘‘यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमान्दार हुन पर्छ। साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आवश्यक छ,’’ उनले भने।

यसबारे सबै जानकार भए पनि कुनै समस्याको समाधान गर्न चासो नदेखाएको भन्दै एकजुट भएर काम गर्नुपर्ने बताए।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले अज्ञानीभन्दा सबैभन्दा बढी जाने नेपाली भिजिट भिसामा जाने गरेको बताए। भिजिट भिसामा जाँदा व्यवसायीहरू पनि मारमा पर्ने र श्रमिकहरूले पनि समस्यामा पर्दा कुनै सरकारले प्रदान गर्ने सेवा सुविधा नपाउने उनले जिकिर गरे। ‘‘श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अंगभंग भएमा ७ लाख पाउने र बिरामी भए स्वास्थ्य खर्चबापत राहत पाउनेछ,’’ उनले भने।

उनकाअनुसार भिजिट भिसामा धेरै समस्या स्वीकार्दै उक्त समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी भएर सचेत हुनुपर्छ। साथै, भिजिट भिसामा पठाई मोटो रकम उठाउने व्यापार बन्द गर्नुपर्ने उनको भनाइ छ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिषामा जाँदै नजान आग्रह गरे। ‘‘अहिले नेपालीहरूको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने तर उहाँहरूको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो। यसरी जाँदा उहाँहरूले दुःख पाउनु भएको छ ,’’ उनले भने।

सरकारले म्यानपावर कम्पनीहरूका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताए। सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाई गर्नुपर्ने उनले उल्लेख गरे।

पछिल्लो समय युरोपियन मुलुकहरूमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको उनले औँल्याए।
‘‘वैदेशिक रोजगारीले बेरोजगारी घटाएको छ, रेमिट्यान्स भित्र्याएको छ। गरिबी घटाएको छ तर वैदेशिक रोजगारीमा पठाउने व्यवसायीलाई राम्रो नजरले हेरिँदैन,’’ उनले भने।

मानव वेचविखन अनुसन्धान व्यूरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले वैदेशिक रोजगारमा जाँदा कसैले राम्रो काम पाउने र योसँगै बेचबिखनमा पर्ने जोखिम पनि रहने बताए।

अप्ठ्यारोमा परेकाहरू पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भट्टले उल्लेख गरे।

‘‘सकेसम्म वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा जाँदै नजानुस्। यसरी जाँदा समस्यामा परिन्छ। यसरी जाँदा धेरै मानिसहरू बेचबिखनमा परेका छन,’’ उनले भने।

भिजिट भिसामा जानेलाई रोक्न नसके पनि न्यूनतम मापदण्ड तोकेर कडाई गर्नुपर्ने उनले बताए।

म्यानपावरमार्फत गएका त्यति धेरै मानिसहरू समस्यामा परेका हुँदैनन् तर व्यक्तिगतमार्फत गएका व्यक्तिहरू बेचबिखनमा पर्ने गरेका उजुरीहरू धेरै आएका छन्।

भिजिट भिसाको दुरुपयोगका कारण मानिसहरू अप्ठ्यारोमा पर्ने गरेको भन्दै दुरुपयोग नगर्न उनले आग्रह गरे।
‘‘वैदेशिक रोजगारमा जानेले शुल्क बुझाउँदा प्रमाण लिनुपर्छ। कुन उद्देश्यका लागि पैसा दिएको हो त्यो खुलाउनुस् त्यति भयो भने पछि समस्या पर्दा त्यो पैसा फिर्ता पाउन सहज हुन्छ,’’ उनले भने।

भिजिट भिसामा जानेहरूले उजुरी दिने उजुरीको काम नसकिइ फेरि सोही प्रकृयामार्फत विदेश पुगिसकेको उनले बताए।
जनचेतनाको अभावका कारण पनि युवाहरूले भिजिट भिसाको दुरुपयोग गरिरहेको उनले जिकिर गरे।

‘‘कसैले पीआर दिलाउँछु भनेर पनि पठाउने रहेछन्, आर्थिक वर्ष २०७७ ०७८ मा पिआर दिलाउँछु भनेर पठाइएका १३ जना मानिसहरूले ब्यूरोमा उजुरी गरेका थिए”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved