नातावाद र परिवारवादमै अल्झिएको एमाले

केन्द्रीय कमिटीमा समेटिने जोडीहरूमध्ये सर्वसम्मत महासचिव बनेका शंकर पोखरेल पहिलो नम्बरमा छन्। उनकी पत्नी सुजिता शाक्यको नाम खुला महिलातर्फ अग्रस्थानमा राखिएको छ।

नातावाद र परिवारवादमै अल्झिएको एमाले

काठमाडौं। जतिसुकै आलोचना हुने गरे पनि राजनीतिक दलहरू नातावाद र परिवारवादबाट मुक्त हुन सकेका छैनन्।त्यसको पुनरावृत्ति भएको छ नेकपा (एमाले)मा पनि।

एमालेमा केपी शर्मा ओलीले दशौँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको ३०१ केन्द्रीय कमिटी सदस्यमध्ये एकाघरका सदस्य, दम्पतीदेखि नातागोता धेरै समेटिएका छन्।

एमालेको विधान अधिवेशनले तय गरेको मापदण्डअनुसार नै केन्द्रीय कमिटी सदस्यमा उनीहरूले अवसर पाएको बताइन्छ। तीमध्ये कतिपय दम्पती त सांसद समेत छन्।

अवसर पाइरहने दम्पती

केन्द्रीय कमिटीमा समेटिने जोडीहरूमध्ये सर्वसम्मत महासचिव बनेका शंकर पोखरेल पहिलो नम्बरमा छन्। उनकी पत्नी सुजिता शाक्यको नाम खुला महिलातर्फ अग्रस्थानमा राखिएको छ। त्यस्तै, सचिवमा प्रस्तावित रघुवीर महासेठकी पत्नी जुली महतो मधेशी महिलाबाट केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ।

खुला तर्फका सदस्य शेरबहादुर तामाङकी पत्नी उषाकला राई भूगोलतर्फ प्रदेश १ बाट प्रस्तावित छिन्।

पार्टीका काम र आन्दोलनमा सक्रिय भएका, भूगोल र केन्द्रको सन्तुलन मिलाएर प्रस्ताव गरिएको नेताहरूको दाबी भए पनि उनीहरूलाई दोहोर्‍याएर पद दिइएको हो।

त्यतिमात्र होइन उनीहरू पार्टीबाट विभिन्न पदमा निर्वाचित पनि हुन्। दाङ क्षेत्र २‘क’बाट निर्वाचित पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए।उनकी पत्नी शाक्य एमालेबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी छन्।

त्यस्तै, भौतिक पूर्वाधारमन्त्री बनिसकेका महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो दुवै संघीय संसद्का सांसद हुन्।महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन्। महतो प्रतिनिधिसभाको समानुपातिकतर्फ महिला मधेशी कोटाबाट सांसद हुन्।

तामाङ र राई दम्पती पनि दुवै सांसद हुन्। तामाङ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुन्। राई प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य निर्वाचित हुन्।

यता, उपाध्यक्षमा प्रस्तावित अष्टलक्ष्मी शाक्यका पति अमृतकुमार बोहरा भने उमेर हदका कारण पार्टीबाट बाहिरिएका छन्। उनी अनुशासन आयोगका अध्यक्ष थिए। ७३ वर्ष उमेर पुगेका कारण उनले पार्टी नेतृत्वबाट अवकाश पाएका हुन्।

खुलातर्फ केन्द्रीय सदस्य रहेका नेता कृष्णगोपाल श्रेष्ठले पत्नी बिनालाई केन्द्रीय सदस्यमा प्रस्ताव गरे पनि उनलाई समेटिएन।

एकाघरका सदस्यहरू

एमालेमा परिवारवाद पनि उत्तिकै देखिएको छ। पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म एकै परिवारका सदस्यले अवसर पाएका छन्।

महासचिवमा निर्वाचित ईश्वर पोखरेलकी बहिनी मेनका काफ्ले प्रदेश १ बाट केन्द्रीय सदस्यमा प्रस्तावित छिन्।

यस्तै, केन्द्रीय सदस्यमा प्रस्तावित राजन भट्टराई र विद्या भट्टराई सहोदर दाजु बहिनी हुन्। रवीन्द्र अधिकारीको निधनपछि विद्या कास्कीमा उपनिर्वाचनबाट सांसद समेत बनेकी छन्।

एकाघरका नाता नभए पनि एमालेका केही नेता एकै खलकका छन्। अरूण नेपाल खुलातर्फ केन्द्रीय सदस्य प्रस्तावित हुँदा सरेश नेपाल बागमती प्रदेशबाट छन्।

यस्तै, बागमती प्रदेशबाट खुलातर्फ रामेछापका कैलाश ढुङ्गेल सदस्य हुँदा उपत्यका विशेष कमिटीबाट माधव ढुङ्गेलको नाम प्रस्ताव गरिएको छ। भानुभक्त ढकाल र रामेश्वर फुयाँल पनि ज्वाइँ–जेठान नाता पर्छन्।

विन्दा पाण्डे खुला महिलातर्फ केन्द्रीय सदस्य सिफारिस भएकी छन्। तर उनका सहोदर दाजु महेन्द्रबहादुर पाण्डे भने उमेर हदका कारण बाहिरिएका छन्।

विभाजनले टाढिएकाहरू

सबैलाई यस्तै अवसर भने जुटेको छैन। एमाले विभाजन हुँदा त्यसको असर परिवारमा पनि परेको छ। खुला महिला तर्फबाट केन्द्रीय सदस्य प्रस्तावित तुलसा गौतमका पति बामदेव गौतम महाधिवेशनमा सहभागी भएनन्। पार्टी विजाजनपछि गौतम कुनै पनि पार्टीमा छैनन्।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)मा गएका झलनाथ खनालका नाताले ज्वाइँ भीम आचार्य एमालेमा सचिवका उम्मेदवार छन्। नेकपा (एस)मै गएका राजेन्द्र पाण्डेका भाइ सुरेन्द्र पाण्डे उपाध्यक्ष उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved