कोरोना जोखिममा बालबालिका

संक्रमण रोकथाम गर्ने कस्तो छ सरकारको तयारी?

अभिभावकको मुख्य भूमिका

पहिलो तथा दोस्रो चरणमा खासै संक्रमणमा नपरेका बालबालिका अब फैलिने संक्रमणबाट निकै प्रभावित हुने स्वास्थ्यविद्हरूले चेतावनी दिइरहेका छन्।

संक्रमण रोकथाम गर्ने कस्तो छ सरकारको तयारी?
सांकेतिक तस्वीर

काठमाडौं। कोरोना संक्रणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा हुन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

पहिलो र दोस्रो लहरमा बालबालिकाहरू त्यति संक्रमित भएनन्। तर तेस्रो लहरले भने बालबालिकालाई बढी संक्रमित बनाउन सक्ने चेतावनी दिँदै आइरहेका छन्।

बालबालिका भन्नाले १८ वर्ष नपुगेकाहरू भन्ने जनाउँछ। उनीहरूको रोगप्रतिरोधात्मक क्षमता वयस्क मानिसको भन्दा कम हुने हुँदा संक्रमणले छिट्टै आक्रमण गर्न सक्छ।

विश्वसँगै नेपालको पछिल्लो अवस्था हेर्ने हो भने सात-आठ महिनाको अन्तरालमा कोरोना संक्रमणको नयाँ लहर आइरहेको छ।

सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञा बुधबार हटाएको छ। निषेधाज्ञा हटे पनि जोखिम भने कायमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुन बताउँछन्।

“दैनिक २-३ गुणाले संक्रमितहरू बढ्दै जानु र त्यहीअनुसार मृत्यु पनि बढ्दै गयो भने संक्रमणको अर्को लहर आउन सक्छ भनेर संकेत गरेको बुझ्नुपर्छ”, उनले भने।

अहिलेसम्मको अवस्थामा हेर्दा त्यस्तो कुनै संकेत नभएको डा पुनले बताए। त्यसकारण कति समयपछि अर्को लहर आउँछ भनेर भन्न सकिँदैन।
अब हुने संक्रमणबाट बालबालिकामा बढी असर देखापर्नुका कारण उनीहरू कोरोनाविरुद्ध खोपबाट वञ्चित हुनु डा पुन बताउँछन्। तर बालबालिका मात्र नभई खोप नलगाएका सबै उमेर समूहलाई अब आउने संक्रमणको बढी जोखिममा पार्ने उनले बताए।

बालबालिकालाई संक्रमणबाट जोगाउन अभिभावकको भूमिका के हुन सक्छ ?

बालबालिकालाई संक्रमणबाट जोगाउन सबैभन्दा पहिला अभिभावक नै सुरक्षित हुनपर्ने कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा।कृष्ण विष्ट बताउँछन्।

सम्पूर्ण अभिभावकले आफ्नो पालोमा कोरोनाविरुद्ध खोप लगाउन पनि उनले आग्रह गरे। जसले गर्दा बालबालिका अभिभावकबाट केही मात्रामा भए पनि सुरक्षित रहने उनले तर्क गरे।

“अब सबै विद्यालय खोलिने तयारीमा छन्। बालबालिकाहरू पनि अब त्यत्तिकै जोखिमा पर्छन्, उनीहरूलाई पूर्ण जनस्वास्थ्य मापदण्ड पालना गराएर मात्र बाहिर निस्कन दिनुपर्छ,” उनले भने।

अस्पतालमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षणहरू लिएर दैनिक दुई सयको हाराहारीमा बिरामीहरू आउने गरेका विष्टले बताए।

उनले भने, “एक साताअघि तीन सयको हाराहारीमा बिरामी आउने गर्थे। अहिले एक, दुई सय मात्र आउने गरेका छन्। अस्पताल आउनेमध्ये दैनिक २-३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।”

त्यस्तै अहिले अस्पतालमा नौ जना मात्र कोभिडका बिरामी भर्ना भएका उनले जानकारी दिए। “भर्ना भएका सबैको अवस्था सामान्य नै छ,” उनले भने।

सरकारको तयारी कस्तो छ ?

कुल कोरोना संक्रमितमध्ये नौ प्रतिशत (६९ हजार ५४ जना) १८ वर्ष मुनिका बालबालिकाहरू छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत जेठमा नै तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्न सक्ने भन्दै सबै सरकारी, निजी, सामुदायिक र स्वास्थ्य सहकारी अस्पताललाई आफ्नो २० प्रतिशत शय्या कोभिड-१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन पत्राचार नै गरेको थियो।

पत्राचार गरेपछि अस्पतालहरूले सोही अनुसार भेन्टिलेटर, आईसीयू र अक्सिजन प्लान्ट जडानको कार्य बढाएको मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले बताए। तर कुन अस्पतालले केरकति काम सक्यो भने तथ्यांक भने अहिलेसम्म नआइसकेको उनले बताए।

प्रवक्ता डा।अधिकारीका अनुसार देशभरका बालबालिकाको उपचार गर्ने सक्नेगरी बालरोग विशेषज्ञहरू भएको अस्पतालको सूची बनाएर बैंक र वित्तीय संस्थाबाट प्राप्त १६६ एचडीयू र आइसीयू बेड दिन लागिएको छ।

सरकारले देशका विभिन्न अस्पतालहरूलाई २० प्रतिशत शय्या थप्न १ देखि ३ करोड बजेट छुट्याएको छ। त्यति मात्र नभएर प्रदेश सरकारले पनि सहयोग गर्ने उनले बताए।

सूची फाउण्डेसन र हेक्याप बिसीक्स नेपालको सहकार्यमा २६५ जना बालबालिकाहरूलाई मिल्ने गरी भेन्टिलेर ल्याइएकोमा २५ वटा कान्ति बाललाई र बाँकी देशभर वितरण गरिने पनि उनले जानकारी दिए।

विभिन्न संघ संस्थाले स्वास्थ्य सामग्री दिए पनि यसलाई सञ्चालनमा ल्याउन स्वास्थ्यकर्मीको पनि आवश्यक पर्ने हुन्छ। सोहीअनुसार काल कान्ति अस्पतालमा ‘प्रियटिक क्रिटिकल’ केयर तालिम दिइरहेको मन्त्रालयका प्रवक्ता पौडेलले बताए।

कान्तिको तालिम सकिएपछि भने सातै प्रदेशमा बालबालिकाको उपचार गर्न सक्ने गरी सो तालिम दिइने छ। सरकारले साउनदेखि मंसिरसम्म १ लाख ९३ हजार कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको थियो।

“सेरो प्रिभिलेन्स सर्भे गर्दा खोप लगाउकाहरूको रोगप्रतिरोधात्मक क्षमता राम्रो बनेको पाइयो”, उनले भने, “जसले संक्रमितको संख्यामा केही कमी ल्याउनमा सघाउ पुर्‍याउने अनुमान छ।”

अहिलेकै अवस्था रह्यो र नयाँ भेरियन्ट पनि आएन अनि स्वास्थ्य मापदण्ड पालना गरे तत्कालै तेस्रो लहर नआउने पनि उनले बताए।

तर यति गर्दा पनि अर्को लहर आइहाले सरकारले बालबालिकालाई संक्रमित हुनबाट बचाउन पूर्ण तयारी गरिसकेको प्रवक्ता डा पौडेलको भनाइ छ।

उनले भने, “अहिलेसम्म बालबालिकाहरूलाई खोप लगाइसकेको छैन, जसले गर्दा उनीहरू जोखिममा छन् तर सरकारले बालबालिकाहरूका लागि पुस वा माघसम्म खोप ल्याउने तयारी गरेको छ।”

त्यस्तै केही दिनअघि मात्र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक गरेको योजनाअनुसार बालबालिकाहरूका लागि फाइजरको ६० लाख र मोडेर्नाको ४० लाख डोज खोप खरिद गर्ने विषयमा प्रारम्भिक प्रक्रिया अगाडि बढेको छ।

त्यस्तै बालबालिका र किशोर किशोरीका लागि अन्य खोप सिफारिस भए ती खोप ल्याउने विषयमा पनि मन्त्रालयले छलफल गरिरहेको उनले जानकारी दिए।

के हो ‘एमआइरस-सी’ संक्रमण ?

नेपालमा पहिलो लहर उच्चतम् विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा ‘एमआइएस-सी’ को संक्रमण देखिएको बालरोग विशेषज्ञ डाआरपी बिच्छाले बताए।

उनले भने, “अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिका बिरामी भएर आएका छन्। यस्तो खालको संक्रमणलाई अस्पतालले मापदण्ड बनाएर उपचार गरिरहेको छ।”

यो सामान्यतया कोरोना संक्रमण भएको दुईदेखि चार हप्तापछि देखापर्ने गर्दछ। आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु यसका मुख्य लक्षण भएका उनले बताए।
कोरोना संक्रमणकै कारण यस्तो संक्रमण देखिएको हो। “यो बालबालिकामा देखिनेबित्तिकै आत्तिहाल्नुहुन्न,” डा बिच्छाले भने, “समयमा उपचार गरे शतप्रतिशत निको हुन्छ।”

बेलायतमा देखिएको यो रोगबाट एक प्रतिशत बालबालिका संक्रमित भएका छन्। मन्त्रालयले संक्रमित वा उनीहरूको सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखापरेमा अस्पताल लैजान अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved