सरकारी आइभीएफ ‘कोमा’मा

चार वर्षदेखि सेवा बन्द, पूर्ववत् अवस्थामा फर्कने छाँट छैन

निःसन्तान र बाँझोपनको समस्या भएका दम्पतीलाई लक्ष्य गरी माघ २०६९ देखि काठमाडौंको थापाथलीस्थित स्त्रीरोग अस्पतालमा यस्तो सेवा शुरु भएको थियो। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८मा सेन्टरको शुभारम्भ गरेका थिए।

सरकारी आइभीएफ ‘कोमा’मा

काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आइभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टर ‘कोमा’मा पुगेको छ। सेन्टरको सेवा तत्काल पूर्ववत् अवस्थामा फर्कने छाँट छैन।

निजी स्वास्थ्य संस्थामा आइभीएफ सेवा विस्तार भइरहँदा काठमाडौंको थापाथलीस्थित स्त्रीरोग अस्पतालमा सेवा ब्यूँत्याउने पहल निरर्थक भएको छ।

‘टेस्टट्युब बेबी’ सेवा सफल नभएको र भौतिक पूर्वाधारसमेत अभाव रहेको कारण देखाएर चैत २०७४ देखि सेन्टर बन्द छ।

निःसन्तान र बाँझोपनको समस्या भएका दम्पतीलाई लक्ष्य गरी माघ २०६९ देखि काठमाडौंको थापाथलीस्थित स्त्रीरोग अस्पतालमा यस्तो सेवा शुरु भएको थियो।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८मा सेन्टरको शुभारम्भ गरेका थिए।

सेवा पुरानै लयमा फर्काउन प्रयास जारी रहेको अस्पतालका उपनिर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा.श्रीप्रसाद अधिकारीले बताए। “विगतमा जनशक्ति र भवनसमेत अभाव थियो, अहिले पूर्वाधार तयार छ, जनशक्ति थपिनेबित्तिकै सेवा शुरु गर्न सकिन्छ”, उनले भने।

यसका लागि ललितपुरको कुपण्डोलमा छुट्टै संरचना तयार भएको अधिकारीले जानकारी दिए। सो संरचनामा हाल परोपकार स्त्रीरोगको कोभिड यूनिट सञ्चालनमा छ। २०७२ सालको भूकम्पले भौतिक संरचना क्षति पुर्‍याएपछि कुपण्डोलमा नयाँ संरचना बनेको हो।

सेन्टरका लागि छुट्टै भौतिक संरचनाको खोजी गर्दा गर्दै २ वर्ष बितेको अस्पतालका चिकित्सक बताउँछन्। अस्पताल निर्देशक प्राडा जागेश्वर गौतमको पहलमा नयाँ संरचना तयार भएको छ। प्रसूति अस्पतालले एक लाख ६० हजार रुपैयाँमा यो सेवा प्रदान गरेको थियो। निजी अस्पतालमा भने आइभीएफको शुल्क दुई लाख रुपैयाँभन्दा माथि छ।

परोपकार अस्पतालमा हरेक वर्ष २० देखि २२ हजार गर्भवतीले प्रसूति सेवा लिने गरेका छन्। प्रत्येक दिन करिब ३ सय जना स्त्रीरोग तथा प्रसूति सेवाका लागि आउने अस्पतालको तथ्यांक छ। स्वास्थ्य जाँच गराउन आउने मध्ये १० देखि १५ प्रतिशत महिलामा बाँझोपनको समस्या देखिने गरेको उपनिर्देशक अधिकारीले बताए।

उनले भने, “नेपालमा १० देखि १५ प्रतिशत दम्पतीमा बाँझोपनाको समस्या छ, यसरी हेर्दा नेपालको जनसंख्यामध्ये ३० लाखभन्दा बढीमा यस्तो समस्या देखिन्छ।”

यहाँको आइभीएफ सेन्टरमा ३२ जना शिशु जन्मिएका छन्। सेवा शुभारम्भ भएको पहिलो चरणमा सात जनामा आइभीएफ गरिए पनि सफलता मिलेको थिएन। सेवा शुरु भएको दोस्रो वर्षमा भारतबाट झिकाइएकी ‘आइभीएफ स्पेसलिस्ट’ डा. रीता बक्सीको नेतृत्वमा नेपाली जनशक्ति सेन्टरका लागि खटिएका थिए।

बक्सी नेतृत्वको टोलीले पाँच महिलालाई आइभीएफ सेवा प्रदान गरेको थियो। ती महिलामा आइभीएफ सेवा प्रदान गरिएकोमा चार जना गर्भवती भए। एक जनाको गर्भ खेर गयो तर अन्य तीन जनाले एकै वर्ष आमा बन्ने सौभाग्य पाएका थिए।

डा बक्सीकै नेतृत्वमा १९ चरणमा ३२ जना महिला आमा बनेका सेन्टरकी सिनियर नर्स गायत्री सुवेदीले जानकारी दिइन्। प्रसूति अस्पतालका सुवेदी र राधा शाक्य मात्रै आइभीएफ स्पेसलिस्ट छन्। दक्ष जनशक्ति अभावले लक्ष्यअनुसार सेन्टरले सेवा प्रवाह गर्न नसकेको अस्पतालका सहनिर्देशक अधिकारी बताउने गर्छन्।

भन्छन्, “टेस्टट्यूब बेबीका लागि प्रमुख भूमिका ‘इम्रोलोजिस्ट’को हुने गर्छ जो नेपालमा एकदमै कम छन्। इम्रोलोजिस्ट पाउँन सकियो भने हामी छिट्टै सेवा सञ्चालन गर्न सक्छौं।”  इम्रोलोजिस्ट टेस्टट्यूब बेबी प्रक्रियाका छुट्टै चिकित्सक भने होइनन्।

नेपालमा यस्ता जनशक्ति पर्याप्त नभएकाले भारतसहित अन्य मुलुकबाट झिकाउनुपर्ने बाध्यता छ। महिलाको अण्डा र पुरुषको शुक्रकिट निकालेर भ्रुण तयारी गर्न इम्रोलोजिस्टको भूमिका रहन्छ। भ्रुण तयार गरेपछि महिलाको पाठेघरमा राख्ने गरिन्छ।

महिलाहरुको पाठेघरको दुवै नली बन्दा भएमा, नलीमा मासु पलाएमा आइभीएफ गर्नुपर्ने हुन्छ भने पुरुषहरूमा शुक्रकिट नै नबन्ने समस्या हुँदा यस्तो सेवा लिन चिकित्सक सल्लाह दिन्छन्।

सेन्टर सञ्चालन हुँदा दैनिक ५ देखि ८ दम्पती यस्तो समस्या निदानका लागि प्रसूति अस्पताल पुग्ने गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved