टीकापुर घटनाको ६ वर्ष

नेपालभ्युज

टीकापुर घटनाको ६ वर्ष
फाइल तस्बिर

काठमाडौं । टीकापुर घटनाको ६ वर्ष पूरा भएको छ। २०७२ भदौ ७ गते आजकै दिन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान जाने गरी कैलालीमा नरसंहार भएको थियो।

कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको थियो । घटनामा कैयौं घाइते भएका थिए।
उक्त हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित नेपाल प्रहरीका ५ जना, सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाले ज्यान गुमाएका थिए। मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको मृत्यु भएको थियो।

त्यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको पनि निधन भएको थियो। हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हवल्दार नेत्र साउदका छोरा थिए।
आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेशको प्रचारप्रसार कार्यक्रम भइरहँदा प्रहरीमाथि आक्रमण भएको थियो।

हिंसात्मक घटनाको मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई पकाउ परेका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीका सांसद उनी हाल उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन्। कैलाली घटनाको स्मरणमा थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चाले टीकापुर विद्रोह दिवस मनाउने जनाएको छ। मोर्चाले कैलालीको बलिया चोकदेखि भल्का चौकसम्म ¥यालीसहित कार्यक्रमको आयोजना गर्दै दिवस मनाउने जनाएको छ। यस्तै भोलि ८ गते साँझ ८ बजेदेखि आधा घण्टा जिल्लाव्यापी बत्ती निभाइने मोर्चाका संयोजक लक्ष्मण थारूले जानकारी दिए।

मोर्चाले काठमाडौंको माइतीघर मण्डलमा विभिन्न कार्यक्रमको आयोजना गरी तेस्रो चरणको आन्दोलन घोषणा गरिसकेको छ। टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियानअन्तर्गत विरोधका कार्यक्रम सुरु गरिएको मोर्चाले जनाएको छ।
थरुहट-थारुवान संयुक्त मोर्चा कैलालीका संयोजक माधव चौधरीले घटना भएको ६ वर्ष पुगेको अवसरमा सोमबार लम्कीमा शान्तिपूर्ण प्रदर्शन गरेको बताए । मंगलबार ‘कालो दिन’का रुपमा विविध कार्यक्रम हुने उनले जानकारी दिए। थारु समुदायको अधिकार र सांसद रेशम चौधरीको रिहाइका लागि मोर्चाले शान्तिपूर्ण आन्दोलन गरिरहेको संयोजक चौधरीले प्रष्ट्याए।

करिब साढे ३ वर्षपछि टीकापुर घटना सम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी सांसद चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। रेशम चौधरीसहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्म कैद हुने फैसला गरेको थियो। श्रवण चौधरी नाबालक भएकाले १० वर्ष सजाय तोकिएको थियो ।

यस्तै लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान पश्चात छुटिसकेका छन् । तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपयालमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्म कैद हुुने फैसला सुनाइएको थियो। अहिले उनी फरार छन्।

घटनामा संलग्न भएको पुष्टि भएर ६ महिना कैद सजाय तोकिएका करन चौधरी रिहा भएका छन्। नुरुल अलि जागा भनिने तहाँवर अलिजागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म फरार सूचीमा रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved