“राजेन्द्रजी ! तपाईंले गाडी चलाउँछु भन्नुभएको हो र ?”
“हो, सर।”
“ए, ल राम्रो भो ! मैले सर्भिसिङ पनि गराइसकेको छु। भोलि बिहान माधवजीसँगै ठिक साढे सात बजे मेरोमा आउनुस् है त !”
“हस् !”
प्रा. डा. रमेश भट्टराई र मबीचको संवाद।
‘रमेश सरको गाडी तपाईंले चलाउने हो भने माइक्रोबस किन चढ्नु त।’ केही दिनअघि माधव घिमिरे ‘अटल’ले मसँग भनेका थिए।
सही थियो उनको जुक्ति।
माइक्रोबसमा यात्रा गर्ने भनेपछि भारी भइरहेको थियो मेरो मन। सिट क्षमताभन्दा बढी यात्रु राख्ने र बेपर्वाहको हँकाइ पटक्कै मन पर्दैन मलाई। कोचिएर यात्रा गर्नुभन्दा त आफ्नै सुरले कारमा जानु राम्रो। त्यसैले पनि उनको प्रस्तावलाई हार्दिकतापूर्वक ग्रहण गरेथेँ मैले। सायद यही कुराको निक्र्यौल गर्न चाहन्थे रमेश सर।
०००
दिनाङ्क २०७८ फागुन २८ गते।
चिरप्रतीक्षित यात्राका लागि काठमाडौँको चावहिलबाट बिहानै निस्कन्छौँ हामी। गाडीमा सवार छन्– उनै प्रा. डा. रमेश भट्टराई, डा. धनप्रसाद सुवेदी, माधव घिमिरे ‘अटल’। र, स्टियरिङ समाइरहेछु म।
गन्तव्य चितवनको भरतपुर। सहभागी हुनु छ– उपन्यासकार यदुनाथ भट्टराईको नवीन कृति ‘योद्धा’को सार्वजनिकीकरण कार्यक्रममा। आयोजकले दिउँसो एक बजे कार्यक्रम राखेका छन्। कार्यक्रमका प्रमुख अतिथि रमेश सर। मङ्सिरमै गर्ने भनेको कार्यक्रम हो यो। ओमिक्रोनले फागुनको अन्त्यतिर धकेलिदियो।
हातमा स्टियरिङ भएर के गर्नु ! आफ्नो गति कायम गरेर हुइँकिन पाए पो ! माइक्रोबस र टिपरको दादागिरी। बस र लरीको पेलाइ। मोटरसाइकलको अवरोध। हतार हुन्छ सबैलाई। राजमार्गका सवारी चालक सबै राजाजस्ता। कसैबाट ट्राफिक नियमको पालना हुँदैन। साना सवारीलाई त अचम्मकै सास्ती हुन्छ। ‘लेन सिस्टम’ भएको सडकमा गाडी चलाउन पाए पो ! नागढुङ्गाको जाम छिचोलेर ओरालो लाग्दै गर्दा मनोलाप गर्छु म।
चुच्चे पाखाभरि बुङ्बुङती उडेको धुलो कारभित्र छिरेपछि झ्यालको सिसा बन्द गर्छु म। यहीँको सडक साँघुरो छ, यहीँ जान्छ पहिरो। फेरि यहीँ ठाउँमा क्याम्प राखेको छ, जापानी कम्पनी हाज्मा–आन्द्र जेभीले। अझै सकिएको छैन शुरूङमार्ग निर्माणको काम। योजना अनुसार २०२२ डिसेम्बरमा पूरा हुनुपर्ने हो। तर ढिलो हुने हल्ला सुनेथेँ। यो योजना कहिले पूरा होला र धुलोबाट मुक्ति पाइएला भने जस्तै भइरहेछ। दहचोकदेखि–सिस्ने खोलासम्म शुरूङमार्ग बनेपछि त दश मिनेटमै नौबिसे पुगिन्छ। अझै धैर्य गर्न बाँकी छ नेपालीहरूले।
०००
जाममा पर्दा त बाउको बिहे नै पो देखिन्छ। सर्र कुद्न पाए चार घन्टा मात्र हो, डेढसय किमि पार गर्न। ट्राफिक सहज भएका बेला थुप्रै पटक चार घन्टामा चितवन पुगिएकै पनि हो। एघार बजेसम्ममा त कसो नपुगिएला भन्नेमा छु म।
गल्छी पार गर्नेबित्तिकै परियो जाममा। परेन त फसाद् ! जे नहोस् भनेर कामना गरिरहेको थिएँ, त्यही पो भइदियो। सोचेजस्तो नहुनु र सोच्दै नसोचेको कुरा भइदिनु त जीवनको नियति नै हो। जीवन यसरी नै चलिरहेछ र चल्छ पनि। तर कार्यक्रम स्थल पुग्न ढिला हुने हो कि भन्ने चिन्ता चुलिन्छ मनमा।
ऊ बेला महेश खोला बग्थ्यो यहाँ। श्री ३ महाराज चन्द्रशमशेरका पालामा कर्णेल फौदसिँ खत्रीले डाँडालाई काटेर गल्छी बनाई खोलालाई त्रिशूलीमा मिसाए। खोला बग्ने ठाउँमा अहिले पृथ्वी राजमार्ग बनेको छ। नत्र सडकको लम्बाइ कति बढ्थ्यो होला। कल्पना गर्छु म।
पन्ध्र मिनेट कुर्दा पनि गाडीको लाइन सर्ने छेकछन्द नदेखिएपछि अगाडिका चालकलाई जाम हुनुको कारण सोधेँ।
“घरअगाडिको सडकको पीच उप्किएर धुलो उडेकाले सम्बन्धित निकायलाई दबाब दिन स्थानीयले दिनको एक घन्टा बन्द गर्ने गरेका रे। पैँतालीस मिनेट भयो। अब पन्ध्र मिनेट बाँकी छ।” जवाफ पाइयो।
बेकारमा आधा घन्टा रोकिनुपर्यो। हुन त राजमार्गमा यसरी रोकिनु कुन नौलो कुरा भयो र ! कहिले पहिरो खस्छ। कहिले ठुला गाडी बिग्रिएर बाटैमा बसिदिन्छन्। कहिले दुर्घटना भइरहेको हुन्छ। कहिले के कहिले के। मान्छेहरूले कहाँ बिर्सेका होलान् र कृष्णभीरले गराएको जाम ! सात वर्ष अगाडि मुग्लिनमा यसै गरी रोकिनु परेको याद आयो मलाई। विदेशीहरू लिएर पोखराबाट चितवन जाँदै थिएँ। मुग्लिनबाट दाहिने लाग्नेबित्तिकै जाममा फसिहालेँ। लन्च गर्न पुग्नु थियो चितवन। त्यहीँ बजिसकेको थियो बाह्र। पुलिस आएपछि मात्र खुलेथ्यो सडक।
सडकछेउ घर भएपछि सम्बन्धित निकायलाई दबाब दिन सजिलो हुन्छ नेपालमा। दबाब नदिई काम नगर्ने सरकारी निकाय र जे कुरामा पनि स्थानीयहरूलाई सडक अवरुद्ध गर्नैपर्ने अचम्मको तालमेल छ नेपालमा। फेरि मान्छेको त कुरै छाडौँ कुखुराको चल्ला किचे पनि बन्द। नेपालका राजमार्गहरूले अक्सर यसरी नै बाह्र बजाइरहन्छन् यात्रुलाई। यात्रुलाई बाह्र बजेको न बन्दकर्तालाई मतलब छ, न सम्बन्धित निकायलाई। कोही कसैप्रति जवाफदेही हुनु नपर्ने गलत परम्पराले गहिरो जरा गाडेको देख्दा उदेक लाग्छ मलाई। फेरि कहिलेकाहीँ नेताहरूले मानव अधिकार र नागरिक सर्वोच्चताको कुरा उठाइटोपलेको सुन्दा कम्ताको हाँसो लाग्दैन।
गफमा व्यस्त छन् मेरा प्यासेन्जरहरू। यसै पनि प्रा. डा. हुन्, रमेश भट्टराई। त्यसमाथि चर्चित प्रगतिशील लेखक एवम् प्रखर समालोचक। प्राध्यापकहरूको नेतृत्त्वदायी भूमिकामा छन् उनी। विख्यात उपन्यासकार हुन् डा. धनप्रसाद सुवेदी। मूलतः आञ्चलिकतामा प्रसिद्धि कमाएका। निकै परिचर्चा पाएको थियो, उनको उपन्यास ‘सानो भुल भयङ्कर अपराध’ले। र, कवि तथा समालोचक पनि। ‘एकेडेमिक’ मान्छेहरूको गफ पनि ‘एकेडेमिक’ नै हुँदोरहेछ। उनीहरूको ठाउँमा मजस्तै ट्रेकिङ व्यवसायी भएको भए ट्रेकिङकै गफ हुन्थ्यो होला। व्यावसायिक गफ न हो। नाफा–घाटाको मात्र कुरा हुन्थ्यो होला। तर मज्जा आइरहेछ मलाई उनीहरूको गफ सुन्दा।
गल्छीको बन्द खुलेपछि दुई–चारथान गाडीलाई उछिन्दै अगाडि बढ्दा एउटा रित्तो ट्रकको पछाडि पुग्छु। एमानको कालो मुस्लो फ्याँकिरहेछ त्यसले। उछिन्न खोज्छु तर सक्दिनँ। गाडीको दोहोरो लाइन बनेको थियो सडकमा। ट्रकको सायरीमा ठोक्किन पुग्छन्, मेरा नजर। लेखिएको थियो–
‘धीरे–धीरे चलेंगे तो बार–बार मिलेंगे
नहीं तो सीधा हरिद्वार में मिलेंगे’
कुरा त सही हो नि ! सायरीले साँच्चिकै झस्काउँछ मलाई। आफैँ कम भइजान्छ कारको गति।
तहल्का मच्चाएको छ– ट्रक साहित्यले। फेरि सन्देशमूलक लाग्छन् ती। कुनैमा गहिरो मायाप्रेम झल्केका हुन्छन् त कुनैमा अगाध देशप्रेम र कुनैमा दह्रादह्रा व्यङ्ग्य। अनौठो लाग्छ मलाई। यस्ता थुप्रै भावपूर्ण सायरी पढ्न भ्याउँछु म। साहित्यप्रति अरूचि भएकाले पनि यात्रा गर्दा पढ्नैपर्छ झैँ लाग्छ यो विधा।
यहीबीचमा एउटा लोकल बसले उछिन्छ मलाई। त्यसमा पनि थियो उही भाव–
‘बिस्तारै गए अवश्य पुगिन्छ,
हतार गरे भन्न सकिन्न’
यस्तो सन्देश लेखिएको गाडी किन मरिमेटेर कुदाएको होला कुन्नि ! मनले भने पनि मेरो ओठ बोलेन। अरू सवारी बेजोडले हुइँकिन थालेपछि आफूले मात्र गति सीमित गर्नुको केही अर्थ छैन। दबाउँछु म पनि एक्सिलरेटर। लौजा त !
बेलाबेलामा त्रिशूली नदीमा हुत्तिन्छन् मेरा नजर। हिउँदमा पनि त्रिशूली धमिलो भएर बग्न थालेको युग बितिसक्यो। धमिलै भए पनि र्याफ्टिङका डुङ्गाहरू त्रिशूलीमा ढिकिच्याउँ गरिरहेका हुन्थे। सडकमा उभिएर तल चलायमान त्रिशूलीमा जलयात्रीहरूले प्याडल खेलाएको र छालहरूमा डुङ्गा फाल हालेको हेर्न ख्याल आनन्द आउँदैनथ्यो। समय नै ओथारो बसेर कोरोनाको गीत गाउन थालेपछि त स्टोरभित्र थन्किएको थन्कियै भए डुङ्गाहरू।
उहिलेउहिले त्रिशूलीको किनारमा आँखा चिम्लेर बकुल्लाहरू माछा ढुकिरहेका देखिन्थे। अहिले त माछा भए पो बकुल्लाहरू आउनु ! टिपरहरू बसेका छन्, बकुल्लाका सट्टा। बालुवामा जस्तो पैसा केमा छ र ! लगानीको नाउँमा टिपरमात्र किने भइगो। त्यसपछि त पैसा जाबो पतकरसरि। अनि किन दादागिरी नचल्नु त सडकदेखि सदनसम्म।
खै किन हो कुन्नि ! त्रिशूलीकै छालहरूमा लहराउन थाल्छ मेरो मन। याद आउँछ, त्रिशूलीमा गरेका जलयात्राका रोमाञ्चक क्षण र किनारमा पाल टाँगेर बिताएका चिसा रात। ‘कन्सर्ट’ गरियो। ‘क्याम्पफायर’ गरियो। ‘बार्बिक्यु डिनर’ गरियो। साहित्यिक जलविहार गरियो। शङ्कर अधिकारीको ‘रिभर फन रिसोर्ट’मा कविता वाचन पनि गरियो। के मात्र पो गरिएन र त्रिशूली किनारमा। मनले भन्छ– ‘एकपटक फेरि त्रिशूलीमा चोपलिऊँ। एउटा गीत लेखूँ बालुवामा। मध्यरातमा त्यसरी नै हेरूँ आकाशगङ्गाका निहारिका। र, भोलिपल्टको प्रभातमा आफ्नो प्रतिविम्बलाई सँगालूँ त्रिशूलीमा।’
०००
चुम्लिङटार पुग्नेबित्तिकै भोजन गर्न कहाँ पो पाइयो र ! अर्डर त गरेकै हो तर ढिला गरिएछ। रेस्टुरेन्टमा खाना पाकीवरी खाँदा बाह्र बजिसकेको थियो। जसरी पनि बाह्र बज्नु नै थियो, बज्यो। ढिला हुनु थियो, भयो। जे नहुनु थियो, भयो।
माधवजीको मोबाइलको घन्टी बज्छ। भरतपुर पुग्न दुई घन्टा लाग्ने बताउँछन् उनी आयोजकलाई। हाम्रो कारणले गर्दा कार्यक्रममा आउनेहरूले लामो समय कुर्नुपर्ने भयो। उनीहरूलाई ‘बिचरा’ भन्नुसिबाय केही छैन मसँग। झटपट गाडी स्टार्ट गर्न खोज्छु। हुँदैन त ! अलमलमा परेँ। के गरूँ कसो गरूँ पो भयो। अघि थानकोटमा तेल हाल्न रोकिँदा पनि त्यस्तै भएको थियो। त्यहाँ त मिस्त्रीले हेरेपछि तुरुन्तै स्टार्ट भएको थियो। यहाँ त मिस्त्री पनि नजिक छैन, कसले हेर्नु खै। फेरि फसाद पर्यो।
त्यसै पनि ढिलो भइसकेको थियो। गाडी स्टार्ट नहुँदा त झन् ढिलो हुने भइगो। चिन्तित हुन्छौँ हामी।
“पहिले त यस्तो भएको थिएन। आज के भएछ कुन्नि गाडीलाई !” रमेश सरको भद्र प्रतिक्रिया।
गाडी नै नचलाउने बिचरा रमेश सरलाई के थाहा ! सायद उनलाई लाग्योे होला– ‘यो डङ्गोलले आज चितवन नपुर्याउने भो।’ नलागोस् पनि किन ! दुई चोटि भइसक्यो यस्तो भएको।
“नयाँ चालक भएर होला गाडीले मलाई चिनेन सर।” मैले भनेँ।
रमेश सरले तत्काल आफ्नै चालकलाई फोन गरे। उनीसँग कुरा गरेपछि पो थाहा भयो– इन्जिन ‘अफ’ गरेर बाहिर निस्केपछि प्रत्येक पटक गाडीको ढोका पनि ‘लक’ गर्नुपर्दोरहेछ। चाबी निकालेर ढोकालाई ‘अनलक’ गरेपछि मात्र स्टार्ट हुँदोरहेछ। मैले त्यसो गरेको थिइनँ। टाटा इन्डिकाको सिस्टम थाहा भए पो ! पहिलो पटक त चलाउँदै थिएँ। अघि थानकोटमा मिस्त्रीले बेकारमा रू. एक हजार ठगेछ। दुई भाइ भारतीय मूलका मिस्त्री आएका थिए। ‘फ्युज बक्स’ खोलखाल पार्दै हेरेजस्तो पनि गरेका थिए। नराम्ररी पो मुर्गा बनाएछन् हामीलाई। ‘मरेको मदिसे (भारतीय मूलका) ले जिउँदो नेपाली ठग्छ’ भनेको हो नै रहेछ। कम्ता पारो तातेन मलाई।
मान्छे र गाडी सराबरी छन् कुरिनटारमा। आस्थामा बाँचेका मान्छेका भार बोकेर केबलकार मनकामनाको डाँडोतिर उकालिइरहेछन्। संसार पनि अचम्मकै छ। जति आस्तिक छन्, त्यत्तिकै नास्तिक छन्् यहाँ। ‘ॐ सर्वे भवन्तु सुखिनः’ मन्त्र जप्ने पनि छन्। र, आफ्नो धर्म बाहेकका सबैलाई सिध्याउनुपर्छ भन्ने पनि। केवल कट्टरताको सीमामा मात्र अन्तर होला। सृष्टिको रहस्य र मानव अस्तित्वको दृष्टिकोणमा मात्र भिन्नता होला। फेरि पनि यो आस्थाको गरिमा हो वा अन्धविश्वासको महिमा ? म बुझ्न सक्दिनँ।
होसियारीका साथ हाँकिरहेछु गाडी। मुग्लिन काटेपछि त गाडी चलाउन पनि मज्जा आइरहेछ। कुनै बेला चार घन्टा पनि लाग्थ्यो मुग्लिन–नारायणगढ खण्डमा। सडकको अवस्था सुध्रेछ। खुसी लाग्यो।
“अब दासढुङ्गा आइपुग्न लाग्यो।” पछिल्लो सिटबाट आवाज आउँछ माधवजीको।
उनले ‘दासढुङ्गा’ भन्नेबित्तिकै आँखाअगाडि आउँछ मदन–आश्रितका मुखाकृति। राजनीतिमा ‘थकाइ भन्ने शब्द नै हुँदैन’ भन्थे मदन भण्डारी। उनैले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलनलाई मार्गदर्शन गरिरहेको छ। यथार्थमा त्यसैको ब्याज त खाइरहेका छन्, उनका पार्टीका नेताहरूले। नेपाली रानीतिक पटलमा उनी आँधि भएर आए। आशा र भरोसाको केन्द्र बने। समाज रूपान्तरणको खाका कोर्न भ्याए। गाउँबस्तीलाई चलायमान बनाउने कोशिश गरे। यतिसम्म कि ‘कार्ल माक्र्स लाइभ इन नेपाल’ समेत भन्थे विदेशीहरूले। नेपाली समाजमा व्यापक चर्चा बटुलिरहेका बेला एउटा दुखद घटना घट्यो।
अचम्मको हुँदोरहेछ मान्छेको जन्म र मरणको संयोग। ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मेका उनी चितवनको दासढुङ्गामा मरे। ढुङ्गाको संयोग !
मदन–आश्रितको मृत्युलाई ‘षड्यन्त्र’ भन्थे, उनकै पार्टीका नेताहरू। ‘हत्यारालाई चिनेका छौँ, हामी सत्तामा पुगेपछि समात्छौँ’ भन्थे। सत्तामा पुगे तर समातेनन्। ‘हामीलाई बहुमत दिनोस्, हत्यारा समात्छौँ’ भने। जनताले बहुमत पनि दिए। पटकपटक सत्तामा पुगे। उनकै धर्मपत्नी राष्ट्रपति छिन्। उनकै पार्टीको नेता पटकपटक प्रधानमन्त्री भए। खै त समातेको ? अचम्मको चिज रहेछ ‘सत्ता’ भन्ने कुरा। सत्तामा हुन्जेल ‘चुँ’ बोल्दैनन्। सत्ताबाट बाहिरिएपछि ‘हत्यारा समात्छौँ’ भन्छन् घरिघरि। जनतालाई भ्रममा राखिरहन सक्ने अचम्मकै खुबी छ हाम्रा नेताहरूको।
दासढुङ्गामा बाँचिरहेका छन्– मदन–आश्रित। सदन र सत्तामा जिउँदो लासजस्तै अभिनय गर्छन्, उनकै पार्टीका जीवित नेताहरू। कस्तो विडम्बना ! के मदन भण्डारीजस्तो जनप्रिय नेता जन्मेलान् त नेपालमा ? दासढुङ्गामा उनको फुङ्ग उडेको शालिक देखेपछि आफैँलाई प्रश्न गर्छु म।
एक स्रष्टा थिए, मदन भण्डारी। उनैले लेखेको जनवादी गीत गुन्गुनाउन पुग्छु म–
‘ए हली दाइ, बाँधेर ल्याऊ है !
सामन्ती ठुलेलाई….’
०००
साढे एक बजे छिचोलियो नारायणगढ। माधवजीको मोबाइलमा घरीघरी घन्टी बजिरहेछ। कतै हामी ढिला हुने हो कि भन्ने चिन्ता छ उनीहरूमा। आधा घन्टा ढिला भइसकेको छ। आयोजकलाई चिन्ता त हुने नै भयो। कार्यक्रम स्थल पुग्ने बाटोको जानकारी लिन्छन् माधवजी। चितवनको चिल्लो सडकमा गाडीको ‘एक्सिलरेटर’ दबाउँछु म। नेपालको चौंथो ठुलो सहर हो– भरतपुर। सडक सञ्जाल त हुने नै भयो। उताबाट भनेको ठाउँ एउटा, पुगिएछ अन्तै। ‘काशी जाने कुतीको बाटो’ भने जस्तो पो भयो।
ठ्याक्कै सवा दुई बजेथ्यो कार्यक्रम स्थल भरतपुरको नारायणी नमुना मावि पुग्दा। २०६८ देखि राष्ट्रिय मूल्याङ्कनमा अनवरत अग्रस्थानमा उभिन सफल विद्यालयका रूपमा सुनेको मात्र थिएँ। आज प्रत्यक्ष देख्न पाइयो।
बाफ रे, यस्तो पो स्कुल ! मूल गेटबाट प्रवेश गर्नेबित्तिकै दायाँबायाँ छन् विश्रामस्थल। फेरि अर्को गेटबाट छिरेपछि देखिन्छ, विशाल प्राङ्गण। चारैतिर भवन। हिमालको नामबाट नामकरण गरिएका छन् भवनहरू– धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण र सगरमाथा। भवनअगाडि ठाउँठाउँमा छन्– रुखबिरुवा। जाँदाजाँदै देब्रेपट्टि छ– कार्यक्रमको मञ्च। बीचभागमा बनाइएको छ– स्वर्ण स्तम्भ र त्यहीँ गाडिएका छन्–नेपालको त्रिकोणात्मक झन्डासँगै हिमालको नामाङ्कित चारकुने झन्डाहरू। माछापुच्छ«े भवनअगाडि सुन्दर उद्यान छ, रङ्गीबिरङ्गी फूलहरू फूलिरहेका। साँच्चै नमुनाको रहेछ, नारायणी नमुना मावि। भौतिक संरचना हेर्दा सुविधाजनक पाँचतारे होटलजस्तै लाग्छ। काठमाडौँका कुनै प्राइभेट स्कुलभन्दा कम छैन। आफू त झ्याल–ढोका नै नभएको स्कुलमा पढेको मान्छे परियो। कुतूहल जाग्छ मनमा– ‘बाहिर त यस्तो, भित्र झन् कस्तो होला’ !
ठिक यही बेला म सम्झँदै थिएँ– ऊ बेला मैले ‘कखरा’ गर्दाको नुवाकोट/सेराको ठाँटी, भैरवी मावि, च्वाडी मावि र काठमाडाँैको पिपल्स क्याम्पस। आकाश र धर्तीको अन्तर पाउँछु म।
उपन्यासकार यदुनाथ भट्टराईलगायत कार्यक्रमका आयोजक साहित्य सङ्गम, चितवनका साथीहरूले स्वागत गरे हामीलाई। आज लोकार्पण हुन गइरहेको कृति छपाउने सिलसिलामा अघिल्लो साल कृतिकार काठमाडौँ आएका थिए। त्यही बेला भेटेको थिएँ मैले उनलाई।
हामीलाई सरासर माछापुच्छ्रे भवनको तेस्रो तलामा लगियो। प्रतीक्षारत थिए, आमन्त्रितहरू कोही सभाहलमा, त कोही बरन्डामा।
“यति लामो समयसम्म पनि कुराउने हो ? अब त कुर्न सकिन्न बा…..। फोन गर त यदुलाई ! कार्यक्रम शुरू नहुने भए लाग्नुपर्यो बाटो।” कड्किँदै गरेको सुनेँ मैले बरन्डाको पल्लो छेउमा उभिएका दुई अधबैँसे।
एकबजे शुरू हुने भनिएको कार्यक्रम दुई बज्दा पनि सुरसार नहुँदा भन्ने नै यस्तै हो। म भइदिएको भए त हिँडिसक्थेँ हुँला। पन्ध्र मिनेटभन्दा बढी कसैलाई कुर्नुपर्दा पारो तात्छ मेरो पनि।
भित्रबाट उद्घोषकले प्रमुख अतिथिको आगमन भएको जानकारी गराउँछन्। सबै जना भित्र छिर्छन्। करिब सयजना अट्ने हल लगभग भरिन्छ। कार्यक्रम विधिवत् प्रारम्भ हुन्छ। प्रमुख अतिथि प्रा. डा. भट्टराईलगायत अतिथिहरूबाट उपन्यासकार यदुनाथ भट्टराईको उपन्यास ‘योद्धा’ विधिवत् लोकार्पण हुन्छ।
प्रगतिशील लेखक हुन्– यदुनाथ भट्टराई। किनारीकृत मुद्दालाई आवाज दिने एउटा सशक्त हस्ताक्षर। उनको आफ्नै विगत र माओवादी जनयुद्धकालको प्रतिविम्बन हो– ‘योद्धा’। तत्कालीन परिवेश र मुलुकको शासन व्यवस्थाको सग्लो चित्र हो– ‘योद्धा’। यति मात्र होइन, उत्पीडित समुदायको बलिदानीपूर्ण गाथा पनि हो– ‘योद्धा’।
कृति लोकार्पणपछि लेखक स्वयम् पनि पाठकमै बदलिन्छ। कृतिकार हुनका लागि उसले फेरि अर्को सिर्जना गर्नुपर्छ। सुन्नुबाहेकको विकल्प हुँदैन लेखकको। समालोचना भयो। समीक्षा भयो। पाठकीय प्रतिक्रियाहरू ग्रहण गरे उनले। विधिवत् समापन भयो कार्यक्रम। ढिलै शुरू भए पनि छोटो र मिठो भएथ्यो।
सहभागीहरू प्रमुख अतिथिसँग तस्बिर खिचाउँदै गर्दा बाहिरिएँ म। बरन्डामा भेटिए– एक युवा। उनीसँग परिचय गरेँ। उनी थिए– सन्तोष थापा। नारायणी नमुना माविका अङ्ग्रेजी शिक्षक। २०६६ सालदेखि निरन्तर सेवामा रहेछन्। जिज्ञासा मेटाउन खोज्छु म उनीसँग–
“कति छन् विद्यार्थी सङ्ख्या ? ”
“दुई हजार पाँच सय।”
“कक्षा कोठा कति छन् ?”
“५० वटा। एउटा कोठामा ५० जना विद्यार्थी मात्र राखिन्छन्।”
उनले मलाई अफिस कोठातर्फ डोर्याए।
फराकिलो छ– अफिस कोठा। ढोकाबाट छिर्नेबित्तिकै दाहिनेपट्टि प्र. अ. बस्ने टेबल–कुर्सी छ। आहा ! चारै भित्तामा प्रमाण–पत्रहरू टाँगिएका छन्। मेडलैमेडलले भरिएका छन् सोकेसहरू। जीवनमा पहिलो पटक देख्दै थिएँ म कुनै विद्यालयको यति भव्य कार्यालय। यसको भव्यता देखेर चकित भएँ। लाग्छ– यस्तो भव्य विद्यालयको प्र. अ. हुनुमा कति गौरव हुँदो हो, पूर्णप्रसाद दवाडीलाई ! त्यसो त यो विद्यालय आजको दिनसम्म आइपुग्नुमा उनको योगदान पनि कम छैन। दुर्भाग्यबस्, उनीसँग भेट्न चाहिँ पाइएन।
“यहाँ नेत्रहीन र सुस्त मनस्थितिका बालबालिकहरू पढ्छन्। उनीहरूका लागि छात्रावासको व्यवस्था पनि छ। २०६० साल यता दशजोड दुईका कक्षाहरू सञ्चालनमा छन्।
यहाँ पुस्तकालय, आधुनिक विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाहरू पनि छन्।” बेलीबिस्तार लगाए उनले।
कस्तो अचम्म ! अन्त निजी विद्यालयको विकल्प सरकारी विद्यालय हुन्छन्। यहाँ सरकारी विद्यालय नै यसको विकल्प बनेका छन्। प्रयास गरे असम्भव के रहेछ र ! नेपालका आम सरकारी विद्यालयको शैक्षिक स्तर किन दयनीय छ ? स्थानीय निकाय, जनता र विद्यालयका बीच सद्भाव, सहकार्य र अटुट सम्बन्ध गाँसिन किन सक्दैन ? बुझ्न सकस हुन्छ मलाई।
२०२० सालमा रात्रीकालीन हाई स्कुलको रूपमा स्थापना भएको हो यो। उही विद्यालय आज यति लोभलाग्दो अवस्थामा आइपुगेको देख्दा रामपुर, पटिहानी र गीतानगरका तत्कालीन विद्यार्थीहरूलाई छिटो जन्मिइएछ जस्तै लाग्दो हो। यस्तो विद्यालयमा पढ्न पाउनु त संयोगकै कुरा हो। नारायणी नमुना माविको प्राङ्गणमा उभिँदा लाग्दै थियो– ‘म आफैँ पनि पचास वर्ष चाँडै पो जन्मेछु।’
Facebook Comment
Comment