सेनाको कार्यक्रममा बाबुरामको प्रवचन- राम्रो अर्थतन्त्र, सुरक्षित देश

आफ्नो प्रस्तुतिमा डा. भट्टराईले भनेका छन्–‘राष्ट्रिय सुरक्षा र राम्रो अर्थतन्त्र एकअर्कासँग जोडिएका हुन्छन् । राष्ट्रिय सुरक्षाले देशलाई सुरक्षित बनाउँछ, आर्थिक सुरक्षाले देशलाई राम्रो बनाउँछ । सर्वसाधारण जनताको दैनिक जीवनमा सुधार ल्याएर यी दुवैलाई राम्रो बनाउन सकिन्छ।’

नेपालभ्युज

सेनाको कार्यक्रममा बाबुरामको प्रवचन- राम्रो अर्थतन्त्र, सुरक्षित देश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत शुक्रबार नेपाली सेनाको एक कार्यक्रममा ‘कि-नोट’ प्रवचन दिए । कार्यक्रमको शीर्षक थियो—‘अर्थतन्त्र र राष्ट्रिय सुरक्षा’ । बाबुरामको प्रस्तृतिको शीर्षक थियो— ‘सुरक्षित देशका लागि राम्रो अर्थतन्त्र ।’

आफ्नो प्रस्तुतिमा डा. भट्टराईले भनेका छन्, ‘राष्ट्रिय सुरक्षा र राम्रो अर्थतन्त्र एकअर्कासँग जोडिएका हुन्छन् । राष्ट्रिय सुरक्षाले देशलाई सुरक्षित बनाउँछ, आर्थिक सुरक्षाले देशलाई राम्रो बनाउँछ । सर्वसाधारण जनताको दैनिक जीवनमा सुधार ल्याएर यी दुवैलाई राम्रो बनाउन सकिन्छ ।’

यो कुरा ‘एक्काइसौं शताब्दीको आर्थिक एकीकरण र डिजिटल क्रान्ति’ का सन्दर्भमा समेत उत्तिकै सत्य भएको उनको ठहर छ । प्रवचनमा उनले नेपाली सेनाको सम्मानित भूमिका र व्यावसायिकताको प्रसंशा गरेका थिए । देशको प्रगतिशील जनान्दोलनप्रति सेना सधैँ संवेदनशील रहेकोसमेत उनको भनाइ थियो ।

प्रवचनमा उनले माओवादी जनयुद्धविरुद्ध नेपाली सेना परिचालित हुँदाको एक घटनासमेत उल्लेख गरेका थिए । उनकाअनुसार सन् २००३ मा उनी नवलपरासीको दाउन्नेमा सैनिक अधिकारीसँगको जम्काभेटमा परेका थिए । ती अधिकारीले डा. भट्टराईलाई चिनेर पनि हाँस्दै कुनै अवरोधबिना जान दिएका थिए ।

उनले एक्काइसौं शताब्दीको भूमण्डलीकरणको युगमा नेपाल विश्व अर्थतन्त्रको किनारामा बस्न नहुने बरु यसबाट उत्पन्न हुने अवसरको खोजी र उपयोग गर्नु पर्ने धारणा राखे । मूलतः व्यापार र लगानीका क्षेत्रमा नेपाल उदार हुनु पर्ने भट्टराईको मत छ । साथै उनले साईबर आक्रमणलाई नयाँ सुरक्षा चुनौतीका रूपमा चर्चा गरेका छन् । यसको उदाहरणका रूपमा उनले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘सर्भर डाउन’ को चर्चा गरे ।

नेपालमा जलवायु परिवर्तनको प्रभाव नकारात्मक रहेको, देशमा बारम्बार भइरहने बाढी, पहिरो र सुख्खाजस्ता प्राकृतिक प्रकोपमा जलवायु परिवर्तनको प्रभाव रहेको भट्टराईको भनाइ छ । वातावरणीय समस्याले भूगोलको सीमा नचिन्ने हुँदा यसका लागि बृहत् सहकार्यको आवश्यकता पर्दछ ।

डा. भट्टराईको विचारमा— ‘राष्ट्रिय सुरक्षाको अर्थ हिजो भौगोलिक अखण्डताको प्रतिरक्षा थियो, यसको सान्दर्भिकता अझै छ, तर यतिमा मात्र सीमित हुन उचित हुँदैन । राष्ट्रिय सुरक्षालाई अझ बृहत् आयामबाट हेर्न पर्ने हुन्छ । भूमण्डलीकरण र नयाँ डिजिटल युग’ का चुनौतीलाई समेत सम्बोधान गर्नु पर्ने हुन्छ ।

भट्टराईले आफ्नो प्रस्तुतिमा भनेका छन्— ‘राष्ट्रिय सुरक्षाको लक्ष्य मानवीय सुरक्षा र मानवीय सुरक्षाको प्रमुख आधार आर्थिक सुरक्षा हुन्छ । भोक, रोग र बेरोजगारीजस्ता असुरक्षा भौतिक सुरक्षाका लागि ठूला चुनौती हुन् ।’ उनको विचारमा राष्ट्रिय सुरक्षाको अर्को महत्त्वपूर्ण पाटो प्रविधि सुरक्षा हो ।

भट्टराईले आउँदा दशकमा नेपालका छिमेकी देश भारत र चीन दुवै महाशक्ति राष्ट्र हुनसक्ने सम्भावना भएको हुँदा नेपालजस्तो मध्यम आकार र क्षमताको देशले त्यसका प्रभावलाई यथोचित सामना गर्नुपर्ने धारणा राखे ।

उनले यसबीच अमेरिका, चीन र भारत– तीन वटै देशले आर्थिक सुरक्षा औजारका रूपमा सैन्य खर्च बढाउँदै लगेको चर्चा पनि गरेका थिए । अमेरिका र भारतबीचको बढ्दो निकटता र चीनसँगको प्रतिस्पर्धालाई समेत यस सन्दर्भमा ध्यान दिनुपर्ने उनको राय थियो ।

भट्टराईले आफ्नो प्रस्तृतिमा क्वाड र हिन्द-प्रशान्त रणनीतिको समेत कुरा गरे । उनको विचारमा हिन्द-प्रशान्त क्षेत्र यतिखेर विश्वकै सर्वाधिक रणनीतिक महत्त्वको प्रतिस्पर्धा भइरहेको क्षेत्र हो । यो क्षेत्रमा विश्वको ६५ प्रतिशत जनसंख्या भएको हुँदा एक्काइसौं शताब्दीको विश्व राजनीतिलाई यो क्षेत्रले आकारित गर्ने सम्भावना हुन्छ । नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति नै विश्वका तीन शक्ति अमेरिका, भारत र चीनबीचको सन्तुलन हो ।

भट्टराईले निष्कर्षमा भनेका छन्– ‘नेपालले सैन्य दृष्टिकोणबाट मात्र यस्तो सन्तुलन कायम गर्न सक्दैन । त्यसका लागि आर्थिक सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोड्नै पर्दछ ।’

अन्त्यमा उनले नेपाली सेनामा माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रियाका जटिलताको स्मरण गर्दै सेनाको सहयोगका लागि धन्यवाद दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved