काठमाडौं । नवौं संस्करणको आईसीसी टी–२० विश्वकप(ICC Men’s T20 World Cup 2024) भोलि अर्थात् जुन २ बाट सुरु हुँदैछ । आईसीसीको सबैभन्दा छोटो फर्म्याटको प्रतियोगितामा पहिलो पटक २० टोली सहभागी हुनेछन् ।
यस विश्वकपमा केही यस्तो टिम छन्, जसले उपाधि उचाल्ने सम्भावना रहेको छ । खेलमा जुनसुकै टिम च्याम्पियन बन्न सक्छ तर, अष्ट्रेलियासँगै इंग्ल्यान्ड र भारत यसपटक ट्रफी जित्ने सबैभन्दा ठूलो दावेदार टिम मानिएको छ ।
अष्ट्रेलिया
अष्ट्रेलियाले विश्वकप ट्रिनिटी पूरा गर्ने अवसर पाएको छ । सन् २०२१ देखि हालसम्म अष्ट्रेलियाको पुरूष टोलीले टी-२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेको छ । तर, उसले एकै समयमा तीनवटै उपाधि जित्न सकेनन् ।
अब अष्ट्रेलियाले मौका पाएको छ । हाल अस्ट्रेलिया एकदिवसीय र टेस्टको विश्व च्याम्पियन हो । टी-२० जित्ने बित्तिकै उनीहरूको विश्वकप ट्रिनिटी पूरा हुनेछ । त्यसो भए अष्ट्रेलिया यस्तो सफलता प्राप्त गर्ने विश्वको पहिलो टोली बन्नेछ ।
अष्ट्रेलियालाई च्याम्पियन बन्ने दावेदार बनाउने ४ कारण-
टी-२० विश्वकपका खेलमा ६३ प्रतिशत जित
अहिलेसम्म ८ वटा टी-२० विश्वकपहरू भएका छन् र ती सबैमा अष्ट्रेलियाले भाग लिएको छ। जसमा अस्ट्रेलियाले ४० खेल खेलेको छ, जसमा २५ जित र १५ हार व्यहोरेको छ । यसको मतलब जित प्रतिशत ६२.५ छ ।
अस्ट्रेलियाले विश्वकपमा ४० मध्ये ८ खेल नकआउट चरणमा खेलेको छ । जसमा उसले ४ जित र ४ हार व्यहोरेका छन् ।
वेस्ट इन्डिजमा फाइनल
अस्ट्रेलियाले वेस्ट इन्डिजको भूमिमा भएका टी-२० खेलमा ५३ प्रतिशत मात्रै जितेको छ । टोलीले यहाँ १५ खेल खेलेको छ, ८ जित र ७ खेलमा हारेको छ ।
सन् २०१० मा अष्ट्रेलियाको टोली त्यहाँ भएको टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । अस्ट्रेलियाले सन् २००७ मा एकदिवसीय विश्वकप पनि जितेको थियो ।
टोलीले यस विश्वकपमा समूह चरणका चार खेल वेस्ट इन्डिजको तीन मैदानमा खेल्नेछ ।
मिचेल मार्शको कप्तानीमा टी-२० मा ८८ प्रतिशत जित
मार्सको कप्तानीमा कंगारू टोलीले ८ खेल खेलेको छ र ७ खेलमा जित हासिल गरेको छ । अर्थात् ८७.५ प्रतिशत जित छ । मार्सको नेतृत्वमा टोलीले दक्षिण अफ्रिका, वेस्ट इन्डिज र न्युजिल्यान्डविरूद्ध ३ वटा सिरिज जितेको थियो ।
सन् २०२२ को टी–२० विश्वकपपछि पनि अस्ट्रेलियाको फर्म सकारात्मक छ । टोलीले १४ खेलहरूमा २०० प्लस रन ६ पटक बनायो र ६४ प्रतिशत खेलहरू जित्यो । टोलीको रन रेट पनि १० भन्दा बढी थियो, यद्यपि ९.३८ को इकोनोमीमा रन दिनु चिन्ताजनक साबित हुन सक्छ।
९ खेलाडीसँग १० भन्दा बढी विश्वकप खेलको अनुभव
अष्ट्रेलियाले आफ्नो टोलीमा अनुभवी खेलाडीलाई प्राथमिकता दिएको छ । टोलीका १५ मध्ये १३ खेलाडीले २० भन्दा बढी टी–२० खेल खेलेका छन् । तीमध्ये ९ खेलाडीसँग १० भन्दा बढी टी–२० विश्वकप खेलेको अनुभव पनि छ ।
विश्वकप नखेल्ने खेलाडीहरूमध्ये पनि क्यामरन ग्रीन र नाथन एलिसजस्ता खेलाडीहरू टी-२० मा तीव्र रूपमा आफ्नो छाप छोडिरहेका छन् ।
टोलीका लागि डेभिड वार्नर ३ हजार ९९ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी हुन् भने एडम जाम्पा ९२ विकेट लिएर सर्वाधिक सफल बलर बनेका छन् ।
अष्ट्रेलियन टोली-
मिचेल मार्स (कप्तान), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर, एडम जाम्पा । रिजर्भ खेलाडीहरू– जेक फ्रेजर-म्याकगुर्क, म्याट शर्ट ।
इङ्गल्याण्ड
सन् २०२२ मा अष्ट्रेलियामा भएको ८ औं टी-२० विश्वकपको च्याम्पियन टोली इंग्ल्याण्डलाई तेस्रो पटक विश्वकप जित्ने पहिलो देश बन्ने मौका छ । यसअघि इंग्ल्याण्डले सन् २०१० मा पनि उपाधि जितेको थियो ।
इंग्ल्याण्डबाहेक सह-आयोजक वेस्ट इन्डिज मात्र दुई पटक टी–२० विश्व च्याम्पियन बनेको छ । यसपटक इंग्ल्याण्डले जित्यो भने यो फर्म्याटमा तीन पटक विश्व उपाधि जित्ने पहिलो टोली बन्नेछ ।
इंग्ल्याण्डको टिमलाई टी–२० ढाँचामा विश्वकै सबैभन्दा सन्तुलित टोली मानिन्छ । टोलीको प्लेइङ-११ मा सधैं ७ वटा बलिङ विकल्प हुन्छन् र नम्बर १० सम्म ब्याटिङमा गहिराइ छ । फास्ट बलर जोफ्रा आर्चर फर्किएपछि टोलीको बलिङ पक्ष बलियो भएको छ ।
इङ्ल्यान्डलाई च्याम्पियन बन्न दावेदार बनाउने ४ कारण-
पछिल्लो ३ टी-२० विश्वकपमा नकआउट चरण खेलेको अनुभव
इङ्ल्यान्डले टी-२० विश्वकपमा ४४ खेल खेलेको छ र त्यसमध्ये २४ मा जित निकालेको छ। यसको मतलब ५५ प्रतिशत सफलता हात पारेको छ । १९ खेल पनि हारेको छ । एक खेल अनिर्णित रह्यो ।
इङ्ल्यान्ड सन् २००७ र २००९ मा सुपर–८ चरणबाट बाहिरिएपछि सन् २०१० मा टोली च्याम्पियन बनेको थियो । सन् २०१२ र २०१४ मा इंग्लिस टोली फेरि समूह चरणबाट बाहिरियो र सेमिफाइनलमा पुग्न सकेन।
सन् २०१६ मा टोलीले आक्रमणकारी दृष्टिकोण राख्यो र उपविजेता भयो । टोलीले फेरि सन् २०२१ मा नकआउट चरण खेलेको थियो तर, सेमिफाइनलमा हारेर बाहिरियो । सन् २०२२ मा इंग्ल्याण्डले उपाधि जितेको थियो ।
टोलीले वेस्ट इन्डिजमा जितेको विश्वकप
टोलीले सन् २०१० मा वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप जितेको थियो । समग्रमा इंग्ल्याण्डले वेस्ट इन्डिजमा २४ खेल खेलेको छ, जसमा १३ जित र १० हारेको छ । एक खेल पनि अनिर्णित रह्यो । अर्थात् ५४ प्रतिशत खेल जितेको छ ।
बटलरको कप्तानी
सन् २०२४ मा पनि इंग्ल्याण्डको कप्तानी जोस बटलर छन् । उनको नेतृत्वमा टोलीले सन् २०२२ को फाइनलमा पाकिस्तानलाई हराएर उपाधि जितेको थियो ।
बटलरले ३२ खेलमा इंग्ल्यान्डको कप्तानी गरेका छन्, टोलीले १७ खेल जितेको थियो भने १४ हारेको छ । यसको मतलब विजयी प्रतिशत ५४ छ । हालै मात्र घरेलु मैदानमा भएको शृंखलामा पाकिस्तानलाई २–० ले हराएको थियो ।
सन् २०२२ को विजेता टोलीका १० खेलाडी समेट्नु
इङ्लिस टोलीमा परेका १५ खेलाडीमध्ये १० जनाले सन् २०२२ को विश्वकप जित्दा खेलेका थिए । ६ जनाले १० भन्दा बढी टी-२० विश्वकप खेलहरू पनि खेलेका छन् । टोलीमा अहिलेसम्म विश्वकप नखेल्ने खेलाडीमा जोफ्रा आर्चर जस्ता अनुभवी खेलाडी र विल ज्याक र ह्यारी ब्रूकजस्ता उदाउँदो टी-२० का स्टारहरू हुन् ।
टोलीका ५ खेलाडीसँग ७० भन्दा बढी टी–२० खेल खेलेको अनुभव छ । जसमध्ये कप्तान जोस बटलर टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन्, उनले ३ हजार ११ रन बनाएका छन् । अदिल राशिद १०८ विकेटसहित टिमका सर्वाधिक विकेट लिने बलर हुन् ।
इंग्ल्यान्ड टोली
जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, ह्यारी ब्रूक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले, मार्क वुड ।
भारत
भारतले पछिल्लो टी-२० विश्वकपपछि यस ढाँचामा २८ मध्ये १८ खेल जितेको छ। ६४ प्रतिशत सफलताका साथ भारत हाल टी-२० मा वरियतामा विश्वको १ नम्बर टोली हो।
तर, यो पनि सत्य हो कि भारतीय टोलीले सन् २००७ यता टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन । साथै, सन् २०१३ देखि भारतले अन्य ढाँचामा पनि आईसीसी ट्रफी जित्न सकेको छैन।
भारतले यस पटक विश्वकप जित्ने कारणहरू-
विजयी प्रतिशत राम्रो
टी-२० विश्वकपमा भारतीय टोलीले हालसम्म ४४ खेल खेलेको छ, २७ जितेको छ भने १५ हारेको छ। यस अवधिमा एक खेल बराबरी र एक खेल अनिर्णित रह्यो । टोलीको विजयी प्रतिशत ६१ प्रतिशत रहेको छ।
वेस्ट इन्डिजमा ५० प्रतिशत र अमेरिकामा ६३ प्रतिशत टी-२० खेलमा जित
टिम इन्डियाले अमेरिका र वेस्ट इन्डिज दुवैमा टी २० खेलेको अनुभव छ। टोलीले अमेरिकामा ८ टी–२० खेलेको छ, ५ जित र २ हारेको छ भने एक खेल निष्कर्षविहीन छ । यसको मतलब विजयी प्रतिशत लगभग ६३ प्रतिशत छ ।
टोलीले समूह चरणका ४ खेल अमेरिकाका २ मैदानमा खेल्नेछ, जुन ९ मा पाकिस्तानसँगको महत्वपूर्ण खेल पनि न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुनेछ ।
यदि टिम इन्डिया सुपर-८ चरणमा पुग्यो भने त्यसपछिका सबै खेल वेस्ट इन्डिजमा खेलिनेछन् । त्यहाँ पनि टोलीसँग १४ टी–२० खेलेको अनुभव छ, भारतले ७ जित र ७ हारेको छ । यसको मतलब त्यहाँ ५० विजयी प्रतिशत छ ।
रोहितको कप्तानीमा ७८ प्रतिशत जित
एक पटक फेरि रोहित शर्माको कप्तानीमा टी-२० विश्वकप खेल्नेछ। पछिल्लो पटक टोली सेमिफाइनलमा पुगेको थियो ।
रोहितको कप्तानीमा भारतले ५४ खेल खेलेको छ भने ४१ खेल जितेको छ । टोलीले १२ खेल मात्र हारेको छ, जबकि एक खेल बराबरी भयो। बराबरी भएको खेल पनि भारतले सुपर ओभरमा जितेको थियो । यसको मतलब रोहितको कप्तानीमा भारतले समग्र टी-२० ७८ प्रतिशत खेल जितेको छ। रोहित भारतका लागि सबै टी-२० विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् ।
पछिल्लो टी-२० विश्वकपपछि पनि टिम इंडियाले ६४ प्रतिशत जितेको छ। टोलीले २८ खेल खेलेको र १८ मा जित, २ खेल बराबरी र एक निर्णायक रह्यो । यस अवधिमा भारतले ८ पटक २००ं स्कोर बनाएको थियो, टोलीको रन रेट ९.३३ थियो । जबकि बलरहरूले मात्र ८.०५ को इकोनोमीमा रन खर्चेका थिए ।
अनुभवी खेलाडी
भारतको टोलीमा रहेका १५ खेलाडीमध्ये ९ खेलाडीले २० भन्दा बढी टी-२० खेलेको अनुभव छ । बाँकी २ खेलाडीले पनि १० भन्दा बढी टी–२० खेल खेलेका छन् । टोलीका ९ खेलाडीले यसअघि टी–२० विश्वकप खेलिसकेका छन्, जसमध्ये ६ खेलाडीले १०भन्दा बढी खेल खेलेका छन् ।
कप्तान रोहित र पूर्व कप्तान विराट कोहलीसँग ११५ भन्दा बढी टी-२० खेल खेलेको अनुभव छ । दुवै टी-२० अन्तर्राष्ट्रियको शीर्ष ३ रन स्कोररको हिस्सा पनि हुन्।
विराटले सर्वाधिक ४ हजार ३७ रन बनाएका छन् भने रोहितले ३ हजार ९ सय ७४ रन बनाएका छन् । युजभेन्द्र चहल ९६ विकेट लिएर टोलीका शीर्ष बलर हुन् ।
भारतीय टोली-
रोहित शर्मा (कप्तान), ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज । सिराज । रिजर्भ खेलाडीहरू- शुभमन गिल, रिंकु सिंह, खलिल अहमद, आवेश खान ।
टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा
टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी
टी–२० विश्वकप : प्रतियोगितासँग सम्बन्धित ६ नयाँ कुरा
अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?
Facebook Comment
Comment