बेलायतको संसद् भङ्ग, जुलाईमा निर्वाचन घोषणा

नेपालभ्युज

बेलायतको संसद् भङ्ग, जुलाईमा निर्वाचन घोषणा

काठमाडौं । बेलायतको संसद विघटन गरिएको छ । प्रधानमन्त्री ऋषि सुनकले सिफारिश गरेको संसद भंगको प्रस्ताव राजा चाल्र्स तृतीयले स्वीकृत गरेसँगै संसद भंग भएको हो । संसद भंग भएसँगै बेलायतमा अर्ली इलेक्सन हुने भएको छ ।

प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् । सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि प्रधानमन्त्री सुनकले अर्ली इलेक्सनमा जाने निर्णय लिएका हुन् ।

आउँदो वर्षको जनवरीतिर आम निर्वाचन हुने अवस्थामा प्रधानमन्त्री सुनकले ७ महिना अगावै निर्वाचन मिति घोषणा गरेका हुन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार संसद शुक्रबार विघटन हुनेछ । संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ। यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो।

उनले निर्वाचनका कारण मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहने बताएका छन् । सुनक(Rishi Sunak) ले कन्जरभेटिभ सरकारले राष्ट्रिय स्वास्थ सेवामा खर्च वृद्धि र शिक्षामा प्रगति हासिल गरेकोमा गर्व गरेका छन् ।

विपक्षी दल लेबरका नेता केयर स्टारमरले प्रधानमन्त्रीको चुनावको घोषणाले देशमा झन् राम्रो परिवर्तनका लागि अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

बेलायतमा सदा झै बिहिबार हुदै आएको आम निर्वाचन यस पटक पनि बिहिबार नै हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved