पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो : पुटिन

नेपालभ्युज

पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो : पुटिन

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का गर्ने कार्यलाई ‘चोरी’ को संज्ञा दिँदै यसलाई ‘दण्डित’ गरिने चेतावनी दिएका छन् ।

जी ७ का नेताहरूले बिहीबार फ्रिज भएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलरको नयाँ ऋणमा सहमति व्यक्त गरेका छन् ।

सन् २०२२ मा मस्कोले युक्रेनमा सेना पठाएको केही दिनपछि जी ७ र युरोपेली सङ्घ (इयु) ले रुसी केन्द्रीय बैंकको करिब तीन खर्ब युरो (तीन खर्ब २५ अर्ब डलर) फ्रिज गरेका छन् ।

पुटिनले शुक्रबार पश्चिमी मुलुकहरूले ‘कुनै प्रकारको कानूनी आधार’ ल्याउन खोजिरहेको भन्दै ‘सबै छलका बाबजुद चोरी अझै पनि चोरी नै हो र यसलाई दण्डित नगरिरहन सकिँदैन’ भने ।

उनले मस्को र पश्चिमबीचको गतिरोध ‘अस्वीकार्यरूपमा फिर्ता नहुने विन्दुको नजिक पुगेको’ चेतावनी दिँदै मस्कोसँग ‘आणविक हतियारको सबैभन्दा ठूलो शस्त्रागार रहेको’ दावी गरे ।

पुटिनले युक्रेनसँगको द्वन्द्वमा बारम्बार आणविक बयानबाजीको प्रयोग गरेका छन् । यसलाई उनले रुस र नाटो सैन्य गठबन्धनबीच व्यापक ‘हाइब्रिड युद्ध’ मा मात्र एउटा मोर्चाका रूपमा प्रस्तुत गरेका छन् ।

राष्ट्रपति पुटिनले यसै साताको अन्त्यमा स्विट्जरल्यान्डमा हुने युक्रेन शान्ति मञ्चको आलोचना गर्दै यसलाई ‘सबैलाई विचलित गर्ने चाल’ भने ।

मस्कोलाई उक्त सम्मेलनमा आमन्त्रण गरिएको छैन । सम्मेलनमा करिब ९० मुलुकका राष्ट्राध्यक्ष र अन्तर्राष्ट्रिय सङ्गठनका वरिष्ठ अधिकारीहरूले सहभागिता जनाउनेछन् ।

युक्रेनले सेना फिर्ता गर्नुपर्छ र शान्तिवार्ताका लागि नाटोको प्रयास अन्त्य हुनुपर्छ । यसैबीच पुटिनले शुक्रबार युक्रेनले उसका चार वटा क्षेत्र र नाटो सदस्यताको प्रस्ताव त्यागेमा मस्कोले युद्ध बन्द गर्ने र शान्ति वार्ता सुरु गर्ने बताएका छन् ।

स्विट्जरल्यान्डमा युक्रेन र उसका सहयोगीहरूद्वारा आयोजित प्रमुख शान्ति शिखर सम्मेलनको पूर्व सन्ध्यामा उनले सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको पूर्णस्तरको सैन्य आक्रमण रोक्नका लागि आफ्ना ‘सर्तहरू’ को रूपरेखा प्रस्तुत गर्दै थिए ।

मस्कोमा रुसी राजनीतिज्ञहरूलाई टेलिभिजनमा सम्बोधन गर्दै उनले भने, “डोनेट्स्क जन गणतन्त्र, लुगान्स्क जन गणतन्त्र, खेरसान र जापोरिजिया क्षेत्रबाट युक्रेनी सैनिक पूर्णरूपमा फिर्ता हुनुपर्छ ।”

रुसले सन् २०२२ मा चारै क्षेत्रमा कब्जा गरेको दावी गरेको छ यद्यपि तीमध्ये कुनै पनि क्षेत्रमा उसको पूर्ण नियन्त्रण थिएन ।

“यस्तो गर्न तयार रहेको किएभले भन्छ र वास्तवमै सैनिकहरूलाई फिर्ता सुरु गर्न थाल्छ तथा आधिकारिकरूपमा नाटोमा संलग्न हुने योजना त्याग्छ भने हामी तुरुन्त युद्धविराम गर्नेछौँ र वार्ता सुरु गर्नेछौँ”, उनले भने ।

उनले ‘रुसको क्रिमियासँग बलियो भूमि सम्बन्ध रहेको सर्तमा’ खेरसान र जापोरिजिया क्षेत्रमा ‘युक्रेनी सार्वभौमसत्ता कायम राख्न अस्वीकार नगर्ने’ बताएका थिए। रुसको आक्रमणको प्रमुख लक्ष्य युक्रेनको दक्षिणी तटसँग रुस र क्रिमिया प्रायद्वीपबीच ‘भूमि पुल’ बनाउने हुनसक्ने सैन्य विश्लेषकहरूले लामो समयदेखि भन्दै आएका छन् ।

यद्यपि पुटिन र शीर्ष रुसी अधिकारीहरूले सामान्यतया किएभको ‘नव–नाजी’ शासनबाट युक्रेनको पूर्वमा जातीय रुसी र रुसी भाषीहरूलाई जोगाउन भन्दै आफ्नो आक्रमणलाई जायज ठहर गर्ने प्रयास गरिरहेका छन् ।

युक्रेन र पश्चिमले ती आरोपहरूलाई आधारहीन भन्दै अस्वीकार गरेका छन् र रुसको सैन्य कारवाहीलाई साम्राज्यवादी शैलीको आक्रामकताका रूपमा वर्णन गरेका छन् ।

रुसले सन् २०१४ मा एकपक्षीय रूपमा क्रिमिया प्रायद्वीपमाथि कब्जा गरेको छ । यसबाट अन्तर्राष्ट्रिय आक्रोश बढ्यो र मुलुकको पूर्वमा रुसी समर्थित पृथकतावादीहरू तथा किएभका सेनाबीच सशस्त्र द्वन्द्व सुरु गर्‍यो ।

युक्रेनले रुस क्रिमियासहित आफ्ना अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त क्षेत्रबाट सम्पूर्णरूपमा फिर्ता भएमा मात्र शान्ति कायम हुने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved