बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

नेपालभ्युज

बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक महिलाको मृत्यु भएको छ ।

स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो ।

मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराले बताए ।

इञ्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो ।

रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले जानकारी दिए ।

उनले भने, “बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो ।”

मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाई छ । यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताए ।

तर, दुर्भाग्यबस आमाको मृत्यु भयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ ।

देवकोटाले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन् । दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved