खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र हो : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले खेलकुदले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए ।

“यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” उनले भने, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।”

आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै उनले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।”

यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग गर्ने विश्वास दिलाए । “नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ,” उनले भने, “परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।”

उनले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताए । उनले चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे ।

पोखरा रङ्गशाला, बेलझुण्डी रङ्गशाला, च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले मूलपानी रङ्गशाला, भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको बताए ।

सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए ।

पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्ता उपलब्धी हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved